७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वग्रिनकार्डधारी, जसले एमाले अध्यक्ष हराए

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनपछि इन्द्रावती गाउँपालिकाको सर्वत्र चर्चा छ। एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल वंशलाल तामाङसँग पराजित भएपछि यहाँको चर्चा चुलिएको हो। त्यसमाथि विजयी तामाङ दसवर्षे अमेरिकी बसाइपछि गाउँ फर्किएका हुन्। चुनावअघि ग्रिनकार्ड त्याग्दै उनी कांग्रेसबाट अध्यक्षको प्रतिस्पर्धामा होमिएका थिए। एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि उनी चर्चामा आएका हुन्।

५३६५ भोट ल्याएका तामाङ दुई सय मतान्तरले विजयी भएका हुन्। नेपालले ५१६५ मत ल्याएका थिए। उनी दुई वर्षअघि २०७२ फागुनमा सम्पन्न कांग्रेस १३ औं महाधिवेशनका बेला स्वदेश फर्किएका थिए। जिल्ला अधिवशेनबाट महिाधिवेशन प्रतिनिधिमा विजयी भएर उनी फेरि अमेरिकातिरै लागेका थिए।

२०३६ मा नेविसंघको एकाइ सभापति बनेर राजनीति थालेका उनी २०४२ को सत्याग्रह आन्दोलनमा जेलसमेत परेका थिए। नेविसंघ अध्यक्ष हुँदै २०५७ मा कांग्रेस जिल्ला सचिव बनेका तामाङ २०५४ को स्थानीय चुनावमा इलाका नं. ६ बाट जिविस सदस्य निर्वाचित भएका थिए।

'माओवादीको जनयुद्ध कारण अमेरिका गएको हँु,' तामाङले भने, 'माओवादीले ज्यान मार्ने धम्की दिए। त्यसपछि लुक्न राजधानी पुगें। तर त्यहाँ पनि माओवादीले सताएपछि देशै छोड्न बाध्य भएँ।’ २०५९ पुसमा गाउँबाट विस्थापित भएका तामाङ पछि अमेरिका पुगे।

झन्डै १२ वर्ष अमेरिका बसाइपछि स्वदेश फर्किएका तामाङ पछिल्लोपटक आउँदा स्थानीय तह निर्वाचनको मिति घोषणा भएको थियो।

'गाउँपालिकाको नेतृत्व गर्न जनताले अनुरोध गरे। टिकट दिन पार्टी पनि सकारात्मक देखियो,’ उनी भन्छन्, 'तत्कालै ग्रिनकार्ड त्याग गर्दै चुनावमा होमिएँ।’

स्थानीय तह निर्वाचन ऐन २०७३ ले विदेशी मुलुकको ग्रिनकार्ड, डिभी, पिआरधारीलाई उम्मेदवारी बन्न निषेध गरेको छ।

सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाँडेगाउँ, सिपापोखरे, भीमटार र भोटसिपा गाविस मिलेर बनेको इन्द्रावती गाउँपालिका एमालेको प्रभाव थियो। नवलपुर, आधा सिम्पालकाभ्रे, भीमटार र भोटसिपामा भने कांग्रेसको प्रभाव थियो। पछिल्लो समय माओवादी केन्द्रले पनि संगठन सुधार्दै लगेको छ।

२०५४ को स्थानीय चुनावमा तत्कालीन भोटसिपा गाविस अध्यक्ष जितेका एमाले अध्यक्ष झम्क नेपालको सहज विजयको आमअनुमान थियो तर परिणाम अर्कै आयो।

'विगतमा यस क्षेत्रको विकासमा बगाएको पसिना जनताले भुलेका रहेनछन्,’ तामाङले भने, 'पुनर्निर्माणलाई गति दिने, घरघरमा धारा पुर्‍याउने, रिङरोड बनाउनेलगायत मतदातासँग गरेका बाचा पूरा गर्नेछु,’ उनले भने। विदेशको सुखभन्दा गाउँलेकै सेवा गर्नुमा बढी सन्तुष्टि मिल्ने आशा उनको छ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App