coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आन्दोलनमा जान ठाकुरको प्रस्ताव दुवै फोरमद्वारा अस्वीकार

काठमाडौं- राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तहको दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्।

संयोजक ठाकुरले बिहीबार यादव र गच्छदारसँग भएको बैठकमा यस्तो प्रस्ताव गरेका हुन्। बैठकमा ठाकुरले तीनवटा पार्टी मिलेर आन्दोलनमा गए आन्दोलन सशक्त हुने र सरकारले बाध्य भएर मधेसको मुद्दा सम्बोधन गर्ने बताएका थिए। गच्छदार र यादवले भने आफूहरूले दोस्रो चरणको चुनावको तयारी अघि बढाइसकेको भन्दै बहिष्कार गर्न नसकिने धारणा राखेका थिए। प्राप्त उपलब्धि संस्थागत गर्दै चुनावकै माध्यमबाट थप उपलब्धिका लागि संघर्ष गर्नुपर्ने भनाइ यादवको थियो।

दुवै नेताले आन्दोलनमा साथ नदिने बताएपछि राजपाका नेताहरू आन्दोलनका कार्यक्रम घोषणा गर्न तयार भएनन्। राजपाभित्र पनि शरदसिंह भण्डारी र महेन्द्र यादवले चुनावमा जानुपर्ने दबाब दिइरहेका छन्। राजेन्द्र महतो र राजकिशोर यादव भने आन्दोलनका पक्षमा छन्। अध्यक्ष मण्डलको बुधवार बसेको बैठकमा राजकिशोर यादवले आन्दोलनको रूपरेखा प्रस्तुत गरेका थिए।

आफ्नो प्रस्तावलाई यादव र गच्छदारले नमानेको राजपाका अध्यक्ष मण्डलका संयोजक ठाकुरले बताए। ठाकुरले नागरिकसँग भने, 'उहाँ (यादव र गच्छदार) हरू चुनावमा जानुभएको छ। हामी आन्दोलनको तयारीमा छौं,' ठाकुुरले भने, हामीले उहाँहरूलाई आन्दोलनमा मिलेर जाऔं भन्यौं।'

त्यसअघि बिहीबार बिहान पुरानो तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा राजपा अध्यक्ष मण्डलका सदस्यहरूको बैठकमा नेताहरूले आन्दोलनमा जाने भए फोरम नेपाल र फोरम लोकतान्त्रिकसँग सहकार्य गर्नुपर्ने धारणा राखेका थिए।  एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नहुने भएकाले सहकार्य गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको थियो। सो निर्णयअनुसार दिउँसो राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले नयाँ ठिमीस्थित निवासमा फोरम नेपालका अध्यक्ष यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग भेट गरेका थिए।

त्यसपछि बिजुलीबजारमा राजपाका अध्यक्ष मण्डलका सदस्यहरूको बैठक बस्ने कार्यक्रम थियो। यादव र गच्छदारसँगको बैठक सफल हुन नसकेपछि ठाकुर बिजुलीबजार गएनन्।  ठिमीमै अध्यक्ष मण्डलका सदस्यहरूको बैठक बस्यो। बैठकमा चुनावमा जानुपर्ने अडानमा रहेका शरदसिंह भण्डारी र महेन्द्र यादव बैठकमा सहभागी भएनन्। बैठकपछि नेता अनिल झाले भने, 'आज केही निर्णय भएन। छलफल मात्र भयो। भोलि (शुक्रवार) मात्र निर्णय गर्छौं।' राजपाका अध्यक्ष मण्डलका संयोजक ठाकुरले चुनावमा जाने वातावरण नबेको बताए। उनले भने, 'हामीले उठाएको सीमांकन, भाषा, नागरिकतालगायतका विषय सम्बोधन भएका छैनन्। कसरी चुनावमा जान सकिन्छ?'

राजपाका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले आफ्नो पार्टी चुनावविरोधी नभएको बताए। उनले भने, 'सकारले चुनावको वातावरण बनाउँछ भने हामी चुनावमा जान्छौं।' भण्डारीले आफूहरूलाई निर्वाचन आयोगले चुनाव चिह्नसमेत नदिएको गुनासो गरे। 'हामीलाई चुनाव लड्न निर्वाचन आयोगले चुनाव चिह्नसमेत दिन मान्दैन। कसरी चुनावमा जाने?'

राजपाका अध्यक्ष मण्डलका सदस्यहरूको बैठक शुक्रबार बिहान बस्ने भएको छ। यस्तै बिहान राजपासहितको संघीय गठबन्धनको बैठक बस्ने कार्यक्रम छ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App