८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ३ मा ५६ प्रमुख आदिवासी जनजाति

काठमाडौं- स्थानीय तह निर्वाचनबाट प्रदेश नं. ३ अन्तर्गत १४ नगरपालिका र ४२ गाउँपालिकाका मेयर/प्रमुखमा आदिवासी जनजाति उम्मेदवार निर्वाचित भएका छन्। सो प्रदेशमा पर्ने १३ जिल्लाका कुल ४१ नगरपालिकामध्ये १४ वटामा विजयी मेयर आदिवासी जनजाति समुदायका छन्। विजयी सबै मेयर पुरुष छन्। उपमेयरमा सात महिला  र एक पुरुष गरी आठ जना निर्वाचित भएका छन्।

मेयरमा एमालेबाट १०, कांग्रेसबाट दुई, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीबाट एक/एक जना निर्वाचित भएका हुन्। उपमेयरमा एमालेबाट चार, कांग्रेस तीन र नेमकिपा एक जना निर्वाचित भएका छन्।

जातिगत आधारमा निर्वाचित भएका मेयरमध्ये सबैभन्दा बढी नेवार नौजना छन्। तामाङ दुई जना, मगर, जिरेल र चौधरी एक/एक जनाले मेयर जितेका छन्। त्यस्तै, उपमेयरमा नेवार चार जना, तामाङ दुई जना तथा राई र दनुवार एक/एक जना निर्वाचित भएका छन्।

प्रदेश ३ मा पर्ने कुल ७४ गाउँपालिकामध्ये ४२ गाउँपालिका प्रमुख र ४२ उपप्रमुखमा आदिवासी जनजाति उम्मेदवार निर्वाचित भएका छन्। प्रमुखमा निर्वाचित अधिकांश पुरुष छन् भने उपप्रमुख महिला छन्। प्रमुख तीन जना मात्र महिला निर्वाचित भएका छन्। उपप्रमुखमा निर्वाचित ४२ जनामध्ये ३९ जना महिला छन्।

प्रमुखमा एमालेबाट १५, कांग्रेस १६, माओवादी केन्द्र नौ तथा नयाँ शक्ति र राप्रपाबाट एकएक जना छन्। उपप्रमुखतर्फ एमालेबाट २५, कांग्रेसबाट आठ, माओवादी केन्द्रबाट आठ र राप्रपाबाट एक जना छन्।

गाउँपालिका प्रमुख र उपप्रमुखमा निर्वाचित आदिवासी जनजाति उम्मेदवारमध्ये तामाङ जातिबाट सबैभन्दा धेरै २९ प्रमुख र २२ उपप्रमुख छन्। तामाङपछि नेवार छ जना प्रमुख र नौ जना उपप्रमुख निर्वाचित भएका छन्।

शेर्पा जातिका दुई प्रमुख र एक उपप्रमुख, सुनुवार प्रमुख र उपप्रमुख दुईदुई जना, गुरुङ एक प्रमुख र दुई उपप्रमुख, थामी प्रमुख र उपप्रमुख एकएक जना, मगर प्रमुख र उपप्रमुख एकएक जना निर्वाचित भएका छन्। राई र माझी जातिका दुईदुई जना उपप्रमुख विजयी भएका छन्।

प्रकाशित: १२ जेष्ठ २०७४ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App