coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुर २४ मा एमालेलाई राहत, देवी र रेणुको मतान्तर १३ सय ९९ मात्र

चितवन- भरतपुर महानगरपालिकामा सबैभन्दा कम मतदाता रहेको वडा नं. २४ ले एमालेका लागि थोरै भए पनि राहत दिएको छ। सो वडाको अन्तिम मत परिणाम घोषणा हुँदा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयीमात्रै भएनन् बुधबारदेखि निरन्तर जारी रहेको मेयर उम्मेद्वारहरु एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको मतान्तर ओरालो लाग्ने क्रमलार्ई पनि रोकेको छ।

एक हजार ७ सय ५९ मत रहेको सो वडाको गएराति अन्तिम मत परिणाम घोषणा हुँदा वडाध्यक्षसहित सबै पदमा एमाले उम्मेद्वारहरु विजयी भए। सो वडापछि मेयर पदमा एमालेका उम्मेद्वार देवी ज्ञवालीको मत ३३ हजार १ सय ६४ पुगेको छ। कांग्रेस-माओवादी गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहालको ३१ हजार ७ सय ६५ मत आएको छ।

मेयर पदमा ज्ञवाली र दाहालबीचको मतान्तर एक हजार ३ सय ९९ भएको छ। यसअघि वडा नम्बर १५ को मत गणना सकिँदा मतान्तर एक हजार २ सय ३५ मा झरेको थियो। मंगलबारसम्म देवी ज्ञवाली रेणु दाहालभन्दा तीन हजार ८ सय ३६ मतले अगाडि थिए। तर बुधबारबाट मतान्तर लगातार घटेको घट्यै गर्‍यो। एमालेको राम्रो मत आउने वडाका मतगणना सकिएका कारण एमालेले मतान्तरमा अब उल्लेख्य सुधार गर्ने सम्भावना कम छ।

कूल २९ वटा वडाहरु रहेको भरतपुरमा अब आठ वटा वडाहरुको मात्रै मतगणना बाँकी हुँदैछ। कूल एक लाख १२ हजार मत खसेको भरतपुरमा अब लगभग २५ हजार मतमात्रै गन्न बाँकी छ। गन्न बाँकीमध्ये सबैभन्दा धेरै मत वडा नं. १६ मा छ। सो वडामा पाँच हजार ७ सय २३ मत खसेको छ। पालोअनुसार अब गणना हुने वडा पनि त्यही नै हो।

वडा नं. १६ को मतगणना सकिँदा वडाको मतमा जो अगाडि रहन्छ उसैको पक्षमा निर्वाचनको नतिजा आउने अड्कल गरिएको छ। यो वडा पनि कांग्रेसको राम्रो आधार भएको ठाउँ हो। तर एमालेकी युवा नेता पार्वती रावलको वडा पनि यही भएका कारण यो वडाबाट देवी ज्ञावलीले पनि मत आउने आशा राखेका छन्। माओवादी पनि यो वडामा कमजोर मानिँदैन।

अहिलेसम्मको परिणामलाई आधार मान्दा मत प्रतिशतमा देवी ज्ञवाली र रेणु दाहालबीच खासै अन्तर छैन। अहिलेसम्म देवीले समग्रमा ३७ प्रतिशतभन्दा केही बढी र रेणुले ३६ प्रतिशतभन्दा केही बढी मत पाएको अवस्था छ। पछिल्ला केही वडामा रेणुले ४२ प्रतिशतसम्म मत ल्याएका कारण वडा नं. १६ को मतमा अग्रता लिनु एमालेका लागि निकै आवश्यक देखिएको छ।

वडाहरुमा अहिलेसम्म आएको मत परिणामको अनुपातलाई हेर्दा भरतपुरमा मेयरमा जित्ने उम्मेद्वारले ४२ हजारको आसपासमा मत ल्याउने सम्भावना छ। भरतपुरमा अब १६, १७, १८, १९, २०, २१, २२ र २३ नम्बर वडाको मत गन्न बाँकी छ।

अहिलेसम्म परिणाम घोषणा भएका वडाहरुमध्ये नेकपा (एमाले)ले वडा नं. २, ४, ५, ७, ९, १०, ११, १२, २४, २८ र २९ नम्बर गरी कुल ११ वटा वडाहरुमा वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेसले वडा नं. १, ३, ६, ८, १४, १५ र २७ कंल सातवटा वडाहरुमा वडाध्यक्ष जितेको छ। नेकपा (माओवादी केन्द्र)ले १३, २५ र २६ गरी कुल तीनवटा वडाहरुमा वडाध्यक्ष जितेको छ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App