८ वैशाख २०८१ शनिबार
राजनीति

भावी प्रधानमन्त्रीका चुनौती

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ। कांग्रेस र माओवादी केन्द्रबीच गत असार अन्तिमसाता भएको समझदारीअनुसार साउनमा प्रधानमन्त्री भएका दाहालले बुधबार पदबाट राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बनेर सिंहदरबार प्रवेशको चौथो अवसर जुर्न लागेको हो। देउवाका लागि यो अवसर चुनौतीपूर्ण हुनेछ।

कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई निरन्तरता दिँदै देउवा जेठ तेस्रो साता मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित हुनेछन्। संवैधानिक र संसदीय प्रक्रिया सहजरुपमा अघि बढे कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवा १२ वर्ष ४ महिनापछि फेरि कार्यकारी प्रमुखका रुपमा सिंहदरबार प्रवेश गर्ने छन्।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासनसत्ता आफ्नो हातमा लिँदै देउवालाई कार्यकारी प्रमुख (प्रधानमन्त्री) बाट अपदस्थ गरेका थिए।

०७२ फागुनमा पार्टीको कमान्ड समालेका देउवा माओवादी केन्द्र, मधेस केन्द्रित दलको गठबन्धनलाई कायमै राख्दै अघि बढ्ने तयारीमा छन्।

कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस–माओवादी केन्द्रसहित दलहरूको गठबन्धनले निरन्तरता पाउने दाबी गरे। 'अहिलेको गठबन्धनमा तलमाथि हुँदैन,' निधिले नागरिकसँग भने, 'यसकै निरन्तरताका रुपमा कांग्रेस सभापति प्रधानमन्त्री बन्नुहुनेछ।'

परम्परा, संवैधानिक व्यवस्था र प्रक्रिया पूरा गर्दा बढीमा जेठ २३ भित्र देउवा प्रधानमन्त्री बनिसक्ने दाबी उनले गरे। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गर्ने र त्यसअवधिमा सहमति जुट्न नसके बहुमतीय प्रक्रिया सुरु हुने बताउँदै निधिले भने, '१९ गते स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्यक्रम रहेकाले २० वा २१ गते प्रधानमन्त्रीको उम्मेदवारी दर्ता हुन्छ। २२/२३ मा उहाँ प्रधानमन्त्री निर्वाचित भइसक्नुहुन्छ।'

दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत निर्वाचन आयोगले जेठ १९ गते उम्मेदवारी मनोनयन समय तोकेको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि कम्तीमा सात दिनको समय दिने विगतको प्रचलन छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट दिएको राजीनामा बुधबार नै स्वीकृत गरेकी छन्। तर, उनले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्न बाँकी छ।

राष्ट्रपतिका जनसर्म्पक स्वकीय सचिव जीवछ साहले नयाँ सरकार गठनका लागि पत्र गइनसकेको जानकारी दिए। 'विगतको परम्परालाई हेरेर राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछ,' उनले भने, 'दाहाल नेतृत्व सरकारलाई धन्यवादसहित अर्को सरकार गठन नभएसम्म कार्यसम्पादन गर्न राष्ट्रपतिले आह्वान गरिसक्नु भएको छ।'

दाहालले बुधबार राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएको पत्र बुझाएका थिए। लगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट दिएको राजीनामा सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्लाई काम गर्न भनेकी छिन्।

सहकार्य निरन्तर : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र माओवादी केन्›बीच भविष्यमा पनि राजनीतिक सहमति र सहकार्य निरन्तर जारी रहने जनाएका छन्। दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएलगतै देउवाले प्रेस विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दलसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका हुन्।

सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तह दोस्रो चरणको निर्वाचन प्रभावित नहुने उल्लेख गर्दै देउवाले भनेका छन्, 'समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्छु।'

कांग्रेस र माओवादी केन्›बीचको सहमति अनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको देउवाले उल्लेख गरेका छन्।  उनले सहमति पालना गरेकोमा दाहाललाई धन्यवाद दिएका छन्।

दस महिनाअघि दाहाल नेतृत्वमा सरकार गठन भएपछि संविधान संशोधन प्रक्रिया अघि बढेको, २० वर्षदेखि हुन नसकेको स्थानीय तह निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष सम्पन्न भएको उल्लेख गर्दै देउवाले सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गरेको जनाएका छन्। 'यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुरु भएका हुँदा आर्थिक दर उल्लेख्य रुपमा वृद्धि भई महŒवपूर्ण उपलब्धि प्राप्त भएका छन्,' देउवाको विज्ञप्तिमा भनिएको छ, 'यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाई दिन चाहन्छु।'

उपलब्धिहरू हात पार्न सहयोग गर्ने सबै राजनीतिक दल र आमनेपालीप्रति आभार प्रकट गर्दै देउवाले संविधानको स्वीकार्यता विस्तार गर्न, स्थानीय तह, प्रदेश र संघीय संसद् निर्वाचन गरी संविधान कार्यान्वयन गर्न तथा मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ राजनीतिक सहमति भई वर्तमान सरकार गठन भएको पनि स्मरण गरेका छन्। 

चुनौतीका चाङ

१२ वर्षपछि पुनः सिंहदबार प्रवेश गर्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी दिन चुनौतीपूर्ण छन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई निरन्तरता दिँदै स्थानीय तहको बाँकी निर्वाचन तथा प्रदेश र केन्द्रको चुनावसम्पन्न गर्नुपर्नेछ।

संविधानलाई सर्वस्वीकार्य बनाउन असन्तुष्ट दलहरूलाई मूल प्रवाहमा ल्याउने काम अझै सम्पन्न भएको छैन। उनीहरूलाई समेत विश्वासमा लिएर बाँकी निर्वाचन सम्पन्न गर्नु र संसद्मा विचाराधीन संविधान संशोधन प्रस्ताव पारित गराउनु आगामी सरकारका लागि सबैभन्दा चुनौतीको विषय बन्नेछ।

प्रदेश सीमांकन विवाद र क्षेत्र निर्धारण हुन नसकेका बेला माघ ७ भित्र प्रदेश र केन्द्रको निर्वाचन गराउन नयाँ सरकारका लागि सहज छैन। दाहाल नेतृत्व सरकारले अघि बढाएका विकास निर्माण साथै लोडसेडिङ अन्त्यलाई निरन्तरता दिनु, मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नु पनि नयाँ सरकारका लागि कठिन विषय हुनेछ।

त्यस्तै, पहिलो चरणको स्थानीय तह निर्वाचन परिणामबाट दोस्रो स्थानमा धकेलिएको पार्टीलाई पहिलो स्थानमा पुर्‍याउने र पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै पार्टी र सरकारबीचको असन्तुलन कायम गरेर अघि बढ्नु देउवाका लागि झन् चुनौतीपूर्ण हुनेछ।

निर्वाचन मुखमा पार्टीभित्र मात्र नभएर गठबन्धनमा पनि सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्नु देउवाका लागि चुनौतिपूर्ण छ। आफ्ना सहयोगीहरू बीचमै बढ्दै गएको बेमेल र नेता रामचन्द्र पौडेल पक्षलाई समेटर अघि बढ्नुपर्ने बाध्यतामा रहेका देउवाका लागि आगामी सत्ता आरोहण कम चुनौतीपूर्ण छैन।

देउवाले बोलाए बैठक

कांग्रेस सभापति देउवाले बिहीबार बिहान पार्टी पदाधिकारी र पूर्वपदाधिकरीको बैठक बोलाएक्ा छन्। पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि उत्पन्न परिस्थिति र दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवार छनोटका लागि छलफल गर्न बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्।

विकसित राजनीतिक घटनाक्रम र चुनावबारे छलफल गर्न बुधबार नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्यो। प्रधानमन्त्रीको राजीनामा र उम्मेदवार छनोट विषयमा सो बैठकमा  छलफल भएको एक नेताले बताए।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App