६ वैशाख २०८१ बिहीबार
समाज

दिउँसै अँध्यारो चाबहिल सडक

काठमाडौं- बुधबार मध्याह्न चाबहिलको सडकमा साँझ परेको देखिन्थ्यो। सडकमा दिउँसै रातझैं अँध्यारोको अनुभव हुने। मध्याह्नमा मात्रै होइन, यस्तो अवस्था चाबहिलमा दिनभरि नै रहन्छ। मेलम्चीको पानी उपत्यकामा भित्र्याउन करिब तीन महिनाअघि चाबहिल खण्डमा सडक खनियो। त्यसयता गौशाला–चाबहिल–चुच्चेपाटी, चाबहिलचोक–गोपीकृष्णको सडकमा सवारी गुडाइसक्नु छैन। झन् घाम लागेको बेलामा त धुलोले ढपक्कै ढाकिन्छ सडक। दिउँसै अन्धकार देखिन्छ चाबहिल। यसका बाबजुद पनि सम्बन्धित निकायले सडक बनाउन ध्यान दिएको छैन।

आयोजना कार्यान्वयन निर्देशनालयले सडकमा खानेपानीको पाइप बिच्छ्याएको हो। निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार चाबहिल आसपासको क्षेत्रमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ। तर, सडक कालोपत्रे भएको छैन। उनले  भने, ‘हामीले पाइप बिच्छ्याएपछि कालोपत्रे गर्ने जिम्मा सडक विभागलाई दिएका छौं। यसका लागि लागतसमेत दिएका हौं। विभागले अहिले काम गरिरहेको छ।’ यहाँका सडक कालोपत्रे गर्ने जिम्मा सडक विभागअर्न्तगतको डिभिजन सडक कार्यालय १ को छ। यो कार्यालयले आधा भागजति सडक कालोपत्रेसमेत गरेको छ। केही भागमा भने कार्यालयले काम नै सुरु गरेको छैन। जसले गर्दा सवारीसाधन गुड्दा उड्ने बुङबुङती धुलोले अन्धकार बनाएको हो। ‘अगाडिको गाडी तीव्र गतिमा गुड्दा पुरै अन्धकार हुन्छ,’ साँखु–रत्नपार्क रुटमा गाडी गुडाउने चालक शम्भु अधिकारीले भने, ‘कि रोकेर बस्नुपर्छ, कि लाइट बालेर गुडाउनुपर्छ।’ महिनौंदेखि चाबहिलमा यस्तो समस्या भइरहेको उनले सुनाए। चाबहिलदेखि साँखुसम्म ठाउँठाउँमा यस्तो समस्या रहेको अधिकारीले बताए।

सडक कार्यालयका अनुसार चाबहिलमा कालोपत्रेको काम थालिसकेको छ। ‘पाइप बिच्छ्याउन खनेका चाबहिल आसपासका सडक कालोपत्रे गरिरहेका छौं,’ कार्यालय १ का प्रमुख मुकुन्द अधिकारीले भने, ‘तर, खानेपानीका पाइपको समस्याले गर्दा भने सबै ठाउँमा कालोपत्रे गर्न सकिएको छैन।’ उनका अनुसार सडकमा खानेपानीका पाइप असरल्ल छन्। कतिपय ठाउँमा पाइप फुटेकाले समस्या भएको छ। पुरानो पाइपमा लिकेजको समस्या रहेको कार्यालयले जनायो।

अहिले भइरहेका घरघरमा पुग्ने खानेपानीको पाइप व्यवस्थापन गर्ने निकाय उपत्यका खानेपानी लिमिटेड हो। यसले पाइपको व्यवस्थापन नगर्दा चाबहिल सडकमा कालोपत्रे गर्न नसकिएको आरोप सडक कार्यालयको छ। तर, लिमिटेडले भने त्यस्तो समस्या चाबहिलमा नरहेको दाबी गरेको छ। ‘चाबहिलमा खानेपानीसम्बन्धी त्यस्तो केही समस्या छ जस्तो लाग्दैन,’ लिमिटेडका प्रवक्ता सुरेश आर्चायले भने, ‘पाइप फुटेर समस्या छ भने पनि हामी चाँडै नै मर्मत गरिदिनेछौं।’ पाइपकै कारणले कालोपत्रे गर्ने काम नरोकिने उनले बताए।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App