coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवा र दाहाललाई बालुवाटारमा प्रधानमन्त्रीको निमन्त्रणा

काठमाडौं–अविश्वास प्रस्तावको सामना गर्ने  अडानमा रहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आइतबार कानुन व्यवसायीसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका छन्।  दुवै नेतालाई प्रधानमन्त्री ओलीले ५ बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

कांग्रेस–माओवादीले प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव गर्दा गराएपछि प्रधानमन्त्री ओलीले दुवै दलका अध्यक्षलाई औपचारिक रुपमा पहिलो पटक छलफलमा बोलाएका हुन्। ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम र संवैधानिक अड्चनका विषयमा छलफल गर्न कांग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्रीले बोलाउनु भएको हो,’ प्रेस संयोजक अधिकारीले भने।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइ कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव गर्दा गरेको छ। तर प्रधानमन्त्री ओलीले राजीनामा नदिने बरु अविश्वास प्रस्तावको सामना गर्ने बताउँदै आएका छन्। प्रधानमन्त्रीले संविधानकाे धारा २९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने बताउँदै अाएका छन्।

संविधानमा गरिएको संक्रमणकालीन व्यवस्था सम्बन्धी धारा २९८ को उपधारा (२) मा यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको छ भने धारा २ सय ९६ को उपधारा ृ(६) बमोजिम आह्वान गरिएको व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।

उपधारा २ अनुसार सहमतिको सरकार गठन हुन नसकेमात्र धारा २९८ कै उपधारा ३ बमोजिम बहुमतको सरकार गठन हुने व्यवस्था संविधानमा छ। ओली सरकार यही व्यवस्था अनुसार निर्वाचित भएको हो। संविधानमा सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित भए प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था गरिए पनि संविधानकै संक्रमणकालीन व्यवस्थामा भने पदमुक्त भएको अवस्थामा नयाा सरकार कसरी गठन हुने भन्ने प्रष्ट व्यवस्था छैन।  ओलीले यही व्यवस्थालाई टेकेर संक्रमणकालीन अवधि (२०७४ माघ ७) सम्म आफ्नो नेतृत्वको सरकारको विकल्प नरहेको सन्देश दिएका हुन्। यही व्यवस्थाका कारण आफूले राजीनामा दिएपनि  कामचलाउ सरकारका रुपमा रहने उनको आशय हो।

 

प्रकाशित: ३ श्रावण २०७३ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App