coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'प्रादेशिक राजधानी' को सपना

दाङ- 'एमालेलाई चुनाव जिताउनुस्, अनि मात्रै दाङ प्रादेशिक राजधानी बन्छ,' केही दिनअघि घोराहीमा भएको एमालेको चुनावी सभामा नेता माधवकुमार नेपालले दंगालीको चाहनालाई 'क्यास' गरे। प्रादेशिक राजधानीको अपेक्षाकृत् दंगालीको मनोभावना बुझेका उनले स्थानीय तह निर्वाचनमा जित सुनिश्चितताका लागि राजधानीको 'पासा' फ्याँके। दाङमा पछिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसबाट नमज्जाले खुम्चिनुपरेको तितो इतिहास मेटेर नयाँ 'उल्लास' मनाउन 'राजधानी पासा' फ्याँकिनु दाङका मतदाता प्रभावित पार्न सक्ने 'अचुक उपाय' सरह हो उनका लागि।

त्यसो त, केही समयअघि दाङमा भएको कांग्रेसको प्रदेशस्तरीय चुनावी सभामा कांग्रेस शीर्षस्थ नेताहरूले पनि दाङलाई राजधानीको 'अति सम्भावित' जिल्लाका रूपमा चित्रित गरेका थिए। राजधानीका लागि दाङ हरेक दृष्टिले 'उत्तम' भन्दै चर्चा गरेका उनीहरूको उद्घोष पनि उस्तै थियो 'दाङलाई राजधानी बनाउन कांग्रेसको जित अपरिहार्य छ।'

तेस्रो शक्ति माओवादी केन्द्र त झन् दाङलाई प्रादेशिक राजधानी बनाउन भइरहेका पहलको नेतृत्वकर्ताकै रूपमा लिन्छ। मनैदेखि आफूले मात्रै दाङलाई प्रादेशिक राजधानी दाङमा बनाउन चाहेको दाबी गर्ने माओवादीले अहिले यही 'प्रस्टीकरण' मतदातासमक्ष प्रस्तुत गरिरहेको छ। राजधानीको मुद्दालाई आफूले सुरुमा उठाएको दाबी गर्ने माओवादीले यसको श्रेय अहिले चुनावमा मतदातासँग खोजिरहेको छ। 'दाङलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भनेर भित्री मन देखि चाहेको माओवादी केन्द्रले मात्रै हो,' माओवादी केन्द्रका नेता निर्मल आचार्य भन्छन्, 'यसर्थ यो मुद्दा माओवादीले उठान गरेको हो।'

चुनावी अभियानमा रहेका दलहरूका लागि स्थानीय तह निर्वाचनमा दाङको अभिमत आफ्नो पक्षमा पार्न सक्ने गतिलो सूत्र राजधानीको मुद्दा बनेको देखिन्छ। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा वर्चस्व कायम राख्न दाङबासीको हितका निम्ति राजधानीको अजेन्डा एकमात्रै साझा चुनावी सूत्र बनेको छ।

प्रादेशिक राजधानीको मुद्दा अघि सारेर दलहरूले चुनाव प्रचार गरिरहेका छन्। आफ्नो विजयबाट मात्रै राजधानी बन्न सक्ने दाबी गर्दै दलहरूले स्थानीय निर्वाचनमा जिल्लाको झन्डै तीन लाख मत सुरक्षित पार्ने कसरत थालेका छन्। जिल्लामा कुल मतदाता संख्या दुई लाख ९३ हजार एक सय ७३ छ। 'प्रादेशिक राजधानी नै हामीहरूको मुख्य अजेन्डा हो,' एमाले जिल्ला अध्यक्ष टीकाराम खड्काले भने 'त्यसका लागि स्थानीय तहमा एमालेको जित अपरिहार्य छ।' दाङलाई प्रादेशिक राजधानीको परिकल्पनासहित एमालेले विभिन्न विकासे योजनालाई चुनावी अजेन्डाका रूपमा मतदातासमक्ष प्रस्तुत गरेको छ। प्रत्येक वडामा पाँचदेखि १५ शऒ्ढयाको अस्पताल निर्माण गर्ने एमालेको चुनावी अजेन्डालाई उसले राजधानीकै मुद्दासँग जोडेर हेरेको छ।

'दाङ प्रादेशिक राजधानी बनाउन हरेक सेवासुविधा सर्वसुलभ बन्नुपर्छ,' एमाले अध्यक्ष खड्का भन्छन्, 'तीमध्ये स्वास्थ्य सेवा पनि महŒवपूर्ण हो र हामीले प्रत्येक वडामा पाँचदेखि पन्ध्र शऒ्ढयाको अस्पताल निर्माणको योजनालाई प्राथमिकतासाथ उठाएका छौं।' जिल्लामा खानीपानी अभाव चुलिँदै गएको छ। यस्तै मेट्रोसिटी निर्माणलगायतका विकासे योजना एमालेले अघि सारेको छ। 'हामीले जति पनि विकासे योजनालाई अजेन्डाका रूपमा प्रस्तुत गरेका छौं, ती सबै राजधानीका लागि महत्वपूर्ण आधारभूत आवश्यकताका कुरा हुन्,' खड्काले भने।

प्रदेश विभाजनसँगै जिल्लामा राजधानीको बहस तात्न सुरु भयो। राजधानीको माग गर्दै जिल्ला तहमा भएका दबाबमूलक गतिविधिसँगै केन्द्र तहमा भएका डेलिगेसनले दाङ राजधानी बन्ने विश्वास धेरै हदसम्म चुलियो। यिनै गतिविधीले राजधानीबासी बन्ने दंगालीको मनस्थिति चुलिँदै गयो। फलस्वरूप दंगाली मतदाताको त्यो मनस्थिति 'क्यास' गरेपछि आममतदाताको सहयोग पाउने विश्वासमा दलहरू छन्। यो अजेन्डाले मतदातामा दलप्रतिको आकर्षण बढ्ने नेताहरूको विश्वास छ। 'राजधानीको चर्चा बाक्लिएपछि यहाँका नागरिकहरुको मनस्थिति राजधानीबासीका रूपमा बदलियो,' माओवादी केन्द्रका नेता निर्मल आचार्यले भने, 'आममतदाताको मनोभाव 'क्यास' गर्न प्रादेशिक राजधानीको अजेन्डाले पक्कै बल पुर्‍याउँछ।' 

माओवादीले पनि राजधानीको स्वरूपमा दाङलाई चित्रित गर्दै स्मार्ट सिटीको योजना ल्याएको छ। माओवादी नेता आचार्यले भने, 'योसँगै राजधानीका लागि आवश्यक पूवार्धार खानेपानी, स्वास्थ्य, शिक्षालगायतका विकासे योजनालाई प्राथमिकताका साथ अघि सारेका छौं।'

दलहरुले प्रादेशिक राजधानीको अजेन्डालाई प्राथमिकता दिए पनि संविधानतः राजधानी घोषणा प्रादेशिक सभाले गर्नेछ। तथापि स्थानीय तह निर्वाचनको मत परिणामले प्रादेशिक राजधानी घोषणाका लागि दबाब पुग्ने नेताहरूको भनाइ छ। 'संविधानतः प्रादेशिक राजधानी प्रदेश सभाले तय गर्ने हो,' कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले भने, 'तर स्थानीय तहको विजयका आधारमा प्रदेश सभासम्म बल पुर्‍याउन सकिने कुरा रहन्छ, यसर्थ दाङका स्थानीय तहमा कांग्रेसको जित अपरिहार्य छ।'

प्रकाशित: ११ जेष्ठ २०७४ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App