coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भत्किए किल्ला, पछारिए हस्ती

सिन्धुपाल्चोक- स्थानीय तह निर्वाचनमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल पार्टीको आधार क्षेत्रमै पछारिएका छन्। उनी इन्द्रावती गाउँपालिका अध्यक्षको उम्मेदवार थिए। एमालेको गड ठानिएको क्षेत्रमै उनलाई हराउँदै कांग्रेस जिल्ला पूर्वसचिव वंशलाल श्रेष्ठ अध्यक्ष निर्वाचित भए।

आआफ्नो पकड क्षेत्र ठहर गरेका क्षेत्रमा अरुले नै झन्डा गाड्दा सिन्धुपाल्चोकका दलका नेता स्तब्ध छन्।

स्थानीय तह निर्वाचनमा पराजय भोग्ने नेपाल जिल्लाका वरिष्ठ नेता हुन्। गृहगाउँ इन्द्रावती–१० नै उनले रक्षा गर्न सकेनन्। उनको वडाबाट कांग्रेस उम्मेदवार जीवन थापा मगर निर्वाचित भए। आइतबार राति सम्पन्न मतगणनामा उनी २ सयभन्दा बढी मतान्तरले पराजित भए। तामाङले ५ हाजर ३ सय ६५ मत ल्याउँदा उनले ५ हजार एक सय ३१ मत मात्र पाए।

उपाध्यक्षमा कांग्रेसकै मिरा अधिकारी लामा ५ हजार एक सय ६५ मत ल्याएर निर्वाचित भइन्। निकतटम प्रतिद्वन्द्वी एमालेकै सरस्वती अधिकारीले ५ हजार ८९ मत ल्याएर पराजित भइन्। एमाले किल्ला मानिएको गाउँपालिकाका १२ वडामध्ये उसले तीन वडामात्र रक्षा गर्न सक्यो। कांग्रेसले सात र माओवादी केन्द्रले दुई वडाध्यक्ष जिते।

हाल यो गाउँपालिकामा समेटिएका सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाँडेगाउँ, सिपापोखरे र भोटसिपामध्ये पाँच गाविसमा २०४८ देखि एमालेको पकडमा थियो। नवलपुरमा मात्र कांग्रेसको बलियो उपस्थिति थियो। लामो समय अमेरिका पलायन भएका कांग्रेस नेता तामाङ कांग्रेसको पछिल्लो महाधिवेशनका बेला जिल्लामा फर्केर पुनः राजनीतिमा सक्रिय भएका हुन्।

आफ्नै वडाको मत रक्षा गर्न नसकेका एमाले जिल्ला पार्टी पूर्वअध्यक्ष हस्त पण्डित पनि हेलम्बु गाउँपालिका अध्यक्षमा पराजित हुन पुगे। उनलाई पनि एमालेकै किल्लामा कांग्रेस उम्मेदवार निमाग्याल्जेन शेर्पाले चार हजार नौ सय ४५ भोट ल्याएर हराए। १७ सयभन्दा बढी मतान्तरमा पण्डितलाई हराउँदै शेर्पा निर्वाचित भएका हुन्।

शेर्पा टिकट पक्का भएपछि मात्र चुनावअघि कांग्रेस प्रवेश गरेका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं. ३ मा कांग्रेसबाट उम्मेदवार बनेका उनले २०७० मा कांग्रेस परित्याग गर्दै सामाजिक लोकतान्त्रिक पार्टी गठन गरेका थिए। हेलम्बु, किउल, पाल्चोक, महांकाल र इचोक गाविस मिलेर बनेको हेलम्बु गाउँपालिकाको हेलम्बु र महांकालबाहेक अरुमा विगतमा एमालेको पकड थियो।

एमालेकै किल्लामा प्रभावशाली नेता शिव न्यौपाने पनि पराजित भए। उनको वडा पनि कांग्रेसले खोस्यो। उनी एमालेबाट सुनकोसी गाउँपालिका अध्यक्षमा उम्मेदवार थिए। उनलाई राजनीतिमा नितान्त नयाँ कांग्रेस उम्मेदवार श्रवणकुमार जिसीले ४ हजार ३ सय ६० मत ल्याएर हराए। ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, पाङ्ग्रेटार र थुम्पाखर मिलेर बनेको सुनकोसीमा न्यौपानेले ३ हजार ३ सय ४४ मतमात्र पाए। यमुनाडाँडा र थुम्पाखरबाहेक अरुमा एमालेको पकड थियो। न्यौपानेकोको वडा ठोकर्पामा कांग्रेस उम्मेदवारले वडाध्यक्ष जिते। लामो समय शिक्षण गरेका न्यौपाने एमालेका बौद्धिक नेतामा गनिन्छन्। एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल यसै गाउँपालिकाका हुन्। उम्मेदवारसँगै घरदैलो गरेका उनले एमाले गडमै पार्टीलाई जिताउन सकेनन्।

यस्तै अरनिको राजमार्गसँगै जोडिएको भोटेकोसी नदी किनारको तातोपानीदेखि बाह्रबीसेसम्मको क्षेत्र कांग्रेस किल्लाका रुपमा चिनिन्थ्यो। अहिले यो इलाकामा कम्युनिस्ट झन्डा गाडिएको छ। कांग्रेस केन्द्रीय सदस्य रहेका सांसद मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसेमा एमालेले झन्डा गाडेको छ। कांग्रेस गढ ठानिएको भोटेकोसीमा अर्को कम्युनिस्ट शक्ति माओवादी केन्द्रले झन्डा फहराएको छ। तातोपानी, फुल्पिङकट्टी, लिस्ती र मार्मिङ गाविस समेटिएर बनेको भोटेकोसीमा २०४८ यताका कुनै पनि निर्वाचनमा कांग्रेसबाहेक अरु छिर्न सकेका थिएनन्। २०४९ को स्थानीय चुनावमा धेरै वडा जितेको कांग्रेसले २०५४ को चुनावमा त कब्जै जमायो। तातोपानी र लिस्तीमा कांग्रेस पकड थियो। २०६४ अघिसम्म यी गाविसमा गाउँ समिति बनाउन पुग्ने संख्या अरु पार्टीसँग हुँदैनथ्यो।

कांग्रेस जग भताभुंग बनाउँदै माओवादी केन्द्रका राजकुमार पौडेल भोटेकोसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। २ हजार पाँच सय ७३ मत ल्याएका उनले कांग्रेसका अनुभवी उम्मेदवार साङ्बु शेर्पालाई पराजित गरे। तल्कालीन लिस्ती गाविस अध्यक्ष साङ्बुले २ हजार ५ सय १० मत पाए। वडा नं. १ रहेको 'कांग्रेस गड' तातोपानीको वडाध्यक्षमा माओवादीका दीपेन्द्र श्रेष्ठ निर्वाचित भए। उनी २०७० को संविधानसभा चुनावको मुखमा कांग्रेस छोडेर माओवादी छिरेका थिए। नवनिर्वाचित अध्यक्ष पौडेल चुनावअघि मात्र माओवादी प्रवेश गरेका हुन्।

घोर्थली, कर्थली, गाती, मानेश्वाँरा, राम्चे, बाह्रबीसे, घुम्थाङ मिलेर बनेको बाह्रबीसे नगरपालिकामा सबैलाई चकित पार्दै एमालेका निमफुन्जो शेर्पा विजयी भए। उनले ४ हजार ९ सय २९ मत ल्याई ४ हजार ७ सय ११ मत ल्याएका कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेतलाई पराजित गरे। उम्मेदवार चयन भएपछि कांग्रेस कार्यकर्तामा उत्पन्न असन्तुष्टि नै यी दुवै गाउँपालिकामा पार्टीको हार बनेको विश्लेषण स्थानीय नेताको छ।

त्यस्तै जेठल, लिसंखु, ठूलोपाखर, ठूलोधादिङ, पेड्कु र अत्तरपुर गाविस मिलेर बनेको लिसंखुपाखर गाउँपालिकालाई पनि कांग्रेसको पकड क्षेत्र मानिन्थ्यो। तर, कांग्रेसबाट अध्यक्ष उम्मेदवार बनेका नोर्बुवाङ्गेल तेस्रो स्थानमा सीमित भए। यहाँ एमालेका कमल नेपाल अध्यक्ष निर्वाचित भए। उनले माओवादी केन्द्रका उम्मेदवार राजु लामालाई ३० मतले पराजित पराजित गरे।

राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबराको प्रभाव रहेको क्षेत्र पाँचपोखरी–थाङपाल गाउँपालिकामा पनि एमालेले पहिलो पटक झन्डा पहराएको छ। भोताङ, बरुवा, गुन्सा, थाङपालधाप, कोट र लाँगार्चे मिलेर बनेको पाँचपोखरी क्षेत्र पञ्चायतकालदेखि नै पशुपतिको किल्ला मानिन्थ्यो। यहींको भोट आधारमा पशुपतिले २०४८, २०५१ र २०५६ को चुनाव लगातार जितेका थिए। २०६४ र २०७० को संविधानसभा चुनावमा पराजय भोगे पनि उनले यहाँको भोट रक्षा गर्न सकेका थिए। यस गाउँपालिकामा राप्रपा उम्मेदवारलाई १४ सय मतले पपराजित गर्दै एमालेका तासी लामा ४ हजार ४ सय ८५ भोटसहित विजयी भए।

तीन निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा २०७० को निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रले एकएक सिट जितेका थिए। यस हिसाबले सबैभन्दा बढी सात स्थानीय तह जितेको एमालेलाई स्थानीय तह चुनाव फलीफाप भयो। उसले बाह्रबिसे, मेलम्ची नगररहित पाँचपोखरी, जुगल, लिसंखुपाखर, त्रिपुरासुन्दरी र बलेफी गाउँपालिकामा विजय हासिल गरेको छ। यीमध्ये मेलम्ची, जुगल, त्रिपुरासुन्दरी र बलेफीमा एमालेको पहिलेदेखि नै पकड थियो।

माओवादी केन्द्रले आफ्नो पकड रहेको चौतारा नगरपालिका रक्षा गर्दै थप उपलब्धिमा भोटेकोसी गाउँपालिका जित्यो। सुनकोसी र इन्द्रावती गाउँपालिका एमालेबाट खोसेको कांग्रेसले हेलम्बु गाउँपालिका मात्र रक्षा गर्न सक्यो।

प्रकाशित: ११ जेष्ठ २०७४ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App