coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं- नेपाली कांग्रेससँग सत्ता गठबन्धनका लागि भएको 'भद्र सहमति' अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पदबाट राजीनामा दिएका छन्। आलोपालो सरकार चलाउने सहमतिमा गत साउन १९ मा संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले १० महिना शासनसत्ता चलाएर राजीनामा दिएका हुन्। दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरे ।

सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धतासहित म प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्छु।

'सत्ता साझेदारीको हकमा त अहिलेसम्म कहिल्यै कुनै सहमति पालना भएको छैन, कसैको कसैप्रति भरोसा नहुने र हरेकले हरेकलाई उपयोग मात्रै गर्ने आजसम्मको प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत हुन दिने छैन। वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन,' दाहालले भने। लगत्तै उनले थपे, 'तर, मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको छु। अतः नेपाली कांग्रेससँग भएको समझदारीअनुसार अघि बढ्दैछु। सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञ, सांसद र नागरिकका रूपमा मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्छु।'

दोस्रो चरणको निर्वाचन पनि आफ्नै सरकारले गराओस् भन्ने प्रतिपक्ष र अन्यको माग र सदिच्छाप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरेका छन्। उनले लिखित सम्बोधनका क्रममा आफूलाई 'सफल प्रधानमन्त्री' का रूपमा चित्रित गरेका छन्।

दाहालले सम्बोधन संसद्मार्फत गर्न चाहेको तर संसद् बैठक चल्न नसकेका कारण प्रधानमन्त्री कार्यालयबाट गर्नुपरेको जनाएका छन्।

उनले आफ्नो १० महिने कार्यकालमा भएका उपलब्धिको फेहरिस्त पनि सम्बोधनमा सुनाए। नौ पृष्ठ लामो २१ बुँदे सम्बोधनमा स्थानीय तह चुनाव गराउन सकेको, मुलुकलाई लोडसेडिङमुक्त गराएको, आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुर्‍याएको, छिमेकी मुलुकसँग सन्तुलित नीति बनाउन सफल भएकोलगायत उपलब्धि उल्लेख गरेका छन्।

उज्यालो युग प्रारम्भ

दाहालले मुलुकलाई लोडसेडिङ मुक्त गराएको विषयलाई सम्बोधनमा प्राथमिकताका साथ उल्लेख गरे।  'यो सरकार गठन हुँदा १८–२० घन्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो। प्रधानमन्त्री भएलगत्तै मैले लोडसेडिङ अन्त्य गर्ने ठोस संकल्प लिएर अत्यन्तै महŒवाकांक्षी उज्यालो नेपाल अभियान सुरु गरें,'  दाहालले भने, 'लोडसेडिङ अब लगभग इतिहास भएको छ र मैले यसलाई उज्यालो युगको प्रारम्भ भनेको छु।' प्राधिकरणको नेतृत्व परिवर्तन, विद्युत् आयात व्यवस्थापन, खिम्ती–ढल्केबर प्रसारण आयोजना फास्ट ट्र्याकमा निर्माण, विद्युत् आयोजनामा तीन सिफ्ट काम गराएका कारण लोडसेडिङ सम्भव भएको दाहालको भनाइ छ।

दृढ इच्छाशक्ति र संकल्पले चुनाव

आशंका र संशयबीच स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको भन्दै प्रधानमन्त्री दाहालले यसबाट आफूलाई गौरव महसुस भएको बताए। 'स्थानीय तह प्रतिनिधिविहीन भएको झन्डै २० वर्ष भएको थियो। तर कसैसँग यो रिक्तता मेटने दह्रो प्रतिबद्धता देखिएको थिएन,' दाहालले भने, 'दृढ इच्छाशक्ति र संकल्प नभएको भए आंशका र अविश्वास चिर्दै यो निर्वाचन सम्पन्न गर्न सजिलो पनि थिएन।'

निर्वाचनपछि सार्वभौमसत्ता, स्वतन्त्रता, भौगलिक अखण्डता र स्वाभिमान थप सुनिश्चित भएको भन्दै दाहालले समग्र राष्ट्रले जितेको बताए। स्थानीय तहले प्रतीकात्मक रूपमा सिंहदरबार चुनेको दाबी प्रधानमन्त्री दाहालको छ।

छिमेकीसँग सन्तुलित सम्बन्ध

आफू प्रधानमन्त्री निर्वाचित हुँदा दुई छिमेकी मुलुकसँगको सम्बन्ध असहज रहेको उल्लेख गर्दै दाहालले त्यसमा सुधार ल्याएको दाबी गरेका छन्। 'म प्रधानमन्त्री हुनुभन्दा अघिको सरकारको विदेश नीति विवेकभन्दा आवेगले निर्देशित थियो। छिमेकीसँग सम्बन्ध सहज थिएन, सरकारले सुरुदेखि नै कूटनीतिक अग्रसरता लियो,' दाहालले भने, 'यो सरकारले छिमेकीसँग आपसी सम्बन्धलाई  राजनीतिक, कूटनीतिक जनस्तरसम्म सहज र सन्तुलित बनाएको छ।' दुई मन्त्रीलाई भारत र चीनतर्फ पठाएर सहजीकरण गर्न लगाउनु, ब्रिक्स सम्मेलनमा सहभागिता जनाउनु, भारत र चीनका प्रधानमन्त्रीको भ्रमण हुनु, भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलगायत घटनाले दुई देशबीचको सम्बन्ध सुदृढ भएको उनको दाबी छ।

विकाससँगै आर्थिक वृद्धिदर बढ्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका चर्का कुरा गर्नेलाई काम गरेर जबाफ दिएको बताएका छन्। आफूअघिका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति घुमाउरो भाषामा आलोचना गर्दै दाहालले भने, 'विकासका चर्का भाषण त भएका थिए तर आर्थिक वृद्धिदर एक प्रतिशत पनि थिएन। यो सरकार बन्नुअघि सपनाहरूको वर्षा त भइरहेको थियो तर आर्थिक वृद्धिदर ०.८ प्रतिशत थियो। अहिले हामी एकातिर २४ वर्षयताकै उच्च ७.५ प्रतिशत आर्थिक वृद्धिद्धर हासिल गर्ने दिशामा छौं भने अर्कोतिर १२ वर्षयताकै  सबैभन्दा कम मूल्य वृद्धि छ।' देशको विकास भाषणमा होइन, तथ्यांक र परिणाममा देखिने भन्दै दाहालले पूर्वप्रधानमन्त्री ओलीप्रति व्यंग्य गरे।

ओलीको प्रश्नमा जबाफ

प्रधानमन्त्री निर्वाचन हुँदा तत्कालीन प्रधानमन्त्री ओलीले उठाएका प्रश्नको जबाफ काम गरेर दिएको दाहालले बताए। 'जब म प्रधानमन्त्रीको उम्मेदवार थिएँ, एकथरी साथीहरूले संसद्मा मलाई उत्तेजनात्मक प्रश्न सोध्नुभएको थियो, फास्ट ट्र्याक के हुन्छ? ओबिओर के हुन्छ? हुलाकी मार्ग के हुन्छ? ती प्रश्न गलत थिएनन् तर सोध्नेहरूको नियत सही थिएन, त्यो प्रश्नमा अविश्वास थियो, चुनौती थियो,' दाहालले भने, 'आफैंमाथि विश्वास नभएपछि मान्छेलाई अरूमाथि पनि विश्वास नहुँदो रहेछ, आज यो सम्बोधनबाट जबाफ दिँदैछु।' फास्ट ट्र्याक निर्माण जिम्मा सेनालाई दिएपछि त्यसको ग्यारेन्टी भएको, हुलाकी राजमार्ग निर्माण तीव्र रूपमा बढेको र ओबिओरमा हस्ताक्षर हुनु आफैंमा त्यसको जबाफ भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

दाहालले आफ्नो कार्यकालमा काठमाडौंलाई हर्नमुक्त बनाएको, भूकम्पपीडितलाई आवास अनुदान रकमको पहिलो किस्ता पूर्ण रूपमा दिलाएको, लगानी सम्मेलनमार्फत १३ अर्ब ५१ करोड डलरको प्रतिबद्धता गराएको, वैदेशिक रोजगारीमा जानेलाई ७ लाख मात्र बिमा दिने व्यवस्था परिमार्जन गरी २७ लाख पुर्‍याएको, घरवारविहीनलाई खानेपानी र बिजुली उपलब्धि गराउन नागरिकताको प्रमाणपत्रले काम लिन सक्ने व्यवस्था मिलाएको बताए।

दाहालले १२ सय मेघावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु गरिएको, एसइई परीक्षामा ए प्लस ल्याउने छात्रालाई प्रोत्साहन गरिएको, भूकम्पपीडितलाई आठ लाखसम्मको प्याकेज उपलब्ध गराएको, नेपाल औषधि लिमिटेडलाई सञ्चालनमा ल्याइएको र २० वर्ष पुराना गाडीलाई उपत्यकाबाट हटाइएको पनि बताए।

उपत्यकामा मेलम्चीको खानेपानी दसैंअघि नै आउने, नागढुंगा सुरुङमार्ग निर्माण हुने, कृषकलाई पेन्सन दिने, 'एक सहर एक पहिचान' कार्यक्रम गरी १३ वटा सहरलाई 'मेगासिटी' बनाउनेसम्मका योजना तयार पारिएको प्रधानमन्त्रीले बताए।

दाहालले बुधबार नै राष्ट्रपति विद्या भण्डारीसमक्ष राजीनामा पेस गरेका छन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहालको राजीनामा स्वीकृत गरेकी छन्।

प्रकाशित: ११ जेष्ठ २०७४ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App