५ वैशाख २०८१ बुधबार
राजनीति

निर्वाचित–प्रतिद्वन्द्वीबीच राजनीतिक सद्‍भाव

नवनिर्वाचित नगर प्रमुख, उपप्रमुखलाई बधाई दिँदै प्रमुखका निकटतम प्रतिद्वन्द्वी एमाले नेता सोम सापकोटा। तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक- चौतारा–साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिसहित प्रमुख अमानसिंह तामाङ र उपप्रमुख जानुका पराजुली पदभार सम्हाल्न बुधबार नगर कार्यालय जाँदै थिए। टुँडिखेलचोक पुगेपछि भेटिए तामाङका निकटतम प्रतिद्वन्द्वी एमाले नेता सोम सापकोटा । आमुन्ने सामुन्ने भएका सापकोटाले लमक्क लम्केर नवनिर्वाचित प्रमुख तामाङलाई गल्र्याम्म अंगाले हाले । अंगालो कसिलो बनाउँदै सापकोटाले बधाइ दिँदै भने, ‘सफल कार्यकालको शुभकामना छ दाइ ।’

                धन्यवाद दिँदै तामाङले आफूलाई सहयोग गर्न आग्रह गरे । ‘मिलेरै नगर बनाउने हो,’ सापकोटाले संक्षितप्त प्रतिक्रियाद्धारा अनुरोध स्वीकार गरे । उनले उसैगरी उप्रमुख पराजुलीसँग अंकमाल गर्दै बधाइ दिन भ्याए । छोरी उमेरकी ३० वर्षीया पराजुलीले नमस्कारको आदर गर्दै धन्यवाद फर्काइन् । दुई प्रतिस्पर्धीबीचको राजनीतिक सद्भाव आश्चार्य मान्दै हेरिरहेका अन्य जनप्रतिनिधिलाई समेत प्रमुखका प्रतिद्वन्द्वी सापकोटाले नमस्कारका साथ हात हल्लाएर अभिवादन गर्दै हौस्याए ।

                ‘आस्था जे भए पनि नेताहरु बीच यस्तै राजनीतिक सद्भाव र हार्दिकता हुनुपर्छ,’ चोकमा बजारबासी खासखुस गर्न थाले । १९ सयभन्दा बढी मतले सापकोटालाई हराउँदै माओवादी केन्द्रका उम्मेदवार तामाङ निर्वाचित भएका हुन् । मतगणना अन्तिम चरणमा पुग्दा पराजय देखिसकेका सापकोटाले मतगणनास्थलमा तामाङ यस्तै कसिलो अंगालोद्धारा बधाइ र शुभकामना दिए । उम्मेदवारी मनोनयन दर्ता गर्दा पनि नेताद्धयले यस्तै राजनीतिक सद्भाव प्रकट गरेका थिए । त्यतिबेला दुबै नेताले जितका लागि अग्रिम शुभकामना ब्यक्त गरेका थिए ।

                प्रमुख, उपप्रमुखको पद्भार ग्रहणअघि नगरपालिकाले सबै जनप्रतिनिधिलाई अबिर र खादाद्धारा स्वागत गरेको थियो । चुनावपछि पहिलो पटक एकै थलोमा भेट भएका विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित भएका उनीहरुले यस्तै सद्भाव देखाए । आपसमा हात मिलाउँदै र अंकमाल गर्दै निर्वाचित भएकोमा बधाइ र सफल कार्यकालका लागि शुभकामना दिए । हाँसो, ठट्ठा गर्दै रमाइलो गरे।

                १४ वटा वडा रहेको यो नगरमा माओवादी केन्द्रले सात, एमालेले पाँच र कांग्रेस र राप्रपाले एक/एक वडा जितेका छन् । पदभार ग्रहणपछि प्रमुख तामाङले राजनीतिक सद्भावपूर्ण निर्देशन दिए । ‘अब हामी एउटा विशेष पार्टीका रहेनौँ,’ निर्देशनका क्रममा उनले भने, ‘सबैको साझा जनप्रतिनिधि हौँ भन्ने धारणा विकास गरेर नगर विकासमा हातेमालो गरौँ ।’ जिम्मेवारीमा पुगेर पनि पार्टी–पार्टी भन्न थाले कोही सफल नहुनेसमेत उनले सुझाए । पदभार ग्रहणपछि आफू कुन पार्टीको हो भन्ने बिर्सिएको उनले सुनाए।

                पदभार ग्रहण गर्दै नगरप्रमुख तामाङ र उपप्रमुख पराजुलीले नगरपालिकाबाट बिद्युतीय काठेपोल बिस्थापन गर्ने अभियानको घोषणा गरे । काठेपोल स्टील र सिमेन्टपोलले प्रतिस्थापन गर्ने संकल्प गर्दै उनीहरुले घोषणापत्रमा हस्ताक्षर समेत गरे ।

 

 

प्रकाशित: १० जेष्ठ २०७४ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App