७ वैशाख २०८१ शुक्रबार
विचार

कांग्रेसलाई पाठ : तालमेल कि बेमेल ?

पहिलो चरणको निर्वाचन सकिँदा÷नसकिँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले तत्काल दोस्रो चरणको मूल विषय तय गरेको छ । एमालेका महासचिव ईश्वर पोख्रेलले सार्वजनिकरूपमा बताएअनुसार चुनावमा एमालेलाई जित्नैपर्ने छ र प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै छ । यी दुई प्रमुख आधारमा जोसँग जहाँ अनुकूल हुनेछ त्यहाँ चुनावी तालमेल गरी एमाले आफ्नो लक्ष्यमा पुग्नेछ । अर्थात् एमालेका निम्ति पहिलो प्रतिस्पर्धी र जसरी पनि हराउनैपर्ने मुख्य शक्ति भनेको नेपाली कांग्रेस नै हो । जनताको बहुदलीय जनवादको व्याख्या गर्दा पहिलो वर्गदुश्मन भनी एमालेले पनि एकताका नेपाली कांग्रेसलाई नै राखेको थियो भने सशस्त्र हिंसाकालमा माओवादी पार्टीले पनि नेपाली कांग्रेसलाई नै वर्गदुश्मन घोषणा गरेको थियो । अहिले शान्तिकाल छ, लोकतन्त्र छ तर एमालेले भाषान्तर गरी नेपाली कांग्रेसलाई कमजोर पार्न निर्वाचनमा एक्ल्याउनैपर्ने पहिलो वर्गदुश्मन भनी अथ्र्याएको छ । स्थानीय तहको शक्ति सन्तुलनका आधारमा जोकसैसँग तालमेल गर्न सकिने भनिएको भए नेपाली कांग्रेसलाई लक्ष्यित गरिएको मानिने थिएन । स्थानीय शक्ति सन्तुलनका आधारमा अवस्था हेरी तालमेल गर्नु नौलो हँुदैन । पहिलो चरणको निर्वाचनमा समेत स्थानीय तालमेल पर्याप्त भएको छ । कतै राष्ट्रिय प्रजातन्त्र पार्टी र एमाले, कतै राष्ट्रिय जनमोर्चा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी, कतै माओवादी र एमाले अनि केही स्थानमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुन पुग्यो । 

गठबन्धन कुनै फलदायी भयो भने कतिपय स्थानमा प्रत्युत्पादक हुन पुग्यो । तर दोस्रो चरणको निर्वाचनमा समग्रमा कांग्रेसविरुद्ध मात्र मोर्चाबन्दी गर्ने योजना र रणनीतिले एमालेको नियत उदांग पारेको छ । स्वस्थ प्रतिस्पर्धा कि शत्रुतापूर्ण प्रतिस्पर्धा भन्ने प्रश्न पुनः राजनीतिमा जीवन्त भएर उठ्न लागेको छ । स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । दलबीच प्रतिस्पर्धा भएर जनतालो आफ्नो अभिमतका साथ जय÷पराजय निर्णय गर्नु लोकतान्त्रिक प्रणाली हो । निर्वाचनलाई यसैकारण उत्सवका रूपमा वरण गरिन्छ लोकतन्त्रमा । अमैत्रीपूर्ण वा शत्रुतापूर्ण हुँदैन लोकतन्त्रको निर्वाचन । तर जसरी पनि नेपाली कांग्रेसलाई हराउनैपर्ने र त्यसका लागि जोसँग, जुनसुकैरूपमा र जुन स्थानमा भए पनि तालमेल गर्ने रणनीति मैत्रीपूर्ण हुन सक्दैन । राजनीतिक संस्कारले अमैत्रीलाई अस्वीकार गर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मिर्मिरेमा हाम्रो अभ्यास मैत्रीपूर्ण र हार्दिक हुनु जरुरी छ । जसका कारण राजनीतिक संस्कारले पालुवा विकास गर्ने अवसर जुटोस् ।

२०५१ सालमा सुरु गरेको वृद्ध भत्ता र आफ्नो गाउँ आफैँ बनाऔं जस्ता कार्यक्रम एमालेका निम्ति लामो समयसम्म चुनावी नारा लगाउन पर्याप्त हुन्छन् । अहिले वृद्ध भत्ता पाँच हजार पुर्याइदिने घोषणाले वृद्धवृद्धाको मनमस्तिष्क सहजै आकर्षित गर्न पुग्यो ।

 स्थानीय सरकारको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणमा नेपाल कम्युनिस्ट पार्टी एमाले बहुसंख्यक स्थानमा विजयी भएको छ । मतका हिसावले पनि सबैभन्दा बढी मत एमालेकै खातामा जम्मा भएको छ । ३४ जिल्लाका २ सय ८३ स्थानको परिणाम अन्तिम भएको छ । अब अनुमानभन्दा बाहिर परिणाम छैन । एमालेको चुनावी वर्चस्व कायम भएको छ । यद्यपि २०५४ सालको जस्तो सत्ताको कुपित खेल भएको भए निर्वाचन परिणाम यस्तो आउने थिएन । वामदेव गौतम गृहमन्त्री भएर गराएको त्यो निर्वाचन अराजकता, स्वेच्छाचारिता र निरंकुशताको चरम प्रयोग मानिएको थियो । माओवादी हिंसाले पनि निर्वाचनलाई बिथोलिरहेको थियो । तर यो पटकको निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण भयो । सरकार तटस्थ रह्यो भने निर्वाचन आयोगले सम्भावित धाँधली रोक्न मतदाता परिचयपत्रको व्यवस्था गरी पूर्ण कार्यान्वयनसमेत गरेको पाइयो । 

निर्वाचनलाई यसरी शान्तिपूर्ण र धाँधलीरहित बनाइ प्रधानमन्त्री पुष्पकमल दाहालले एउटा असल काम गरेकामा इतिहासले उनलाई स्मरण गर्ने बनाएको छ । यसमा गृहमन्त्री बिमलेन्द्र निधी पनि भागीदार छन् । नेपालमा निष्पक्ष निर्वाचनको अभ्यास २०४८ मा किसुनजीबाट सुरु भए पनि २०७० मा खिलराज रेग्मी नेतृत्वको सरकारले गराएको संविधानसभाको निर्वाचनलाई विशेष उदाहरण मान्नुपर्ने हुन्छ । धाँधलीरहित त्यस चुनावबाट आएको संविधानसभाले २०७२ मा नेपालको संविधान जारी ग¥यो र त्यसको कार्यान्वयनको अर्को खुड्किलो स्थानीय सरकारको पहिलो चरणको निर्वाचनसमेत हुन पुग्यो । हुन त निष्पक्ष, शान्तिपूर्ण, धाँधलीरहित निर्वाचनका लागि सरकार र निर्वाचन आयोगको प्रयास मात्र पर्याप्त हँुदैन । समाज पनि विवेकी र स्वतन्त्र हुनुपर्छ । समाजमा चेतना भएन भने, विवेकशीलता रहेन भने, अराजक चिन्तनले घर गरिरह्यो भने निर्वाचन भनेजस्तो स्वच्छ हुन सक्दैन । नेपाली समाज पनि निकै विवेकी हुन लागेको यो पटकको निर्वाचनले देखाएको छ ।

निर्वाचन परिणाम हेर्दा एमालेप्रति जनताको अभिरुचि स्पष्ट देखियो । अहिले निर्वाचन भएको ३४ जिल्ला हिमाली र पहाडी क्षेत्रमा पर्छन् । गत संविधानसभा निर्वाचनमा सरदर मतका साथ विजय हासिल केही क्षेत्रमा गरेको एमालेका लागि यो जनआकर्षण अनपेक्षित भएको हुनुपर्छ । तर एमालेका अध्यक्ष केपी ओली यसमा सन्तुष्ट छैनन् । उनले आफ्ना मतको प्रशंसा गर्दै सार्वजनिकरूपमा नै नेपाली कांग्रेसलाई होच्याउने गरी कांग्रेसले पाएको मतको अपमान गरेका छन् । कांग्रेसलाई मिलेको जनसमर्थन र प्राप्त विजयप्रति उनको आश्चर्यचेतले कांग्रेसप्रति आक्रोश र आफ्नाप्रति असन्तोष व्यक्त गरेको छ । २०७२ असोजदेखि २०७३ असारसम्म शासनमा बसेका एमाले अध्यक्ष केपी ओलीको समय नेपाली जनताका लागि निकै कष्टकर थियो । नेपालका मधेसकेन्द्रित दलहरूमार्फत भारतले लगाएको नाकाबन्दीका कारण नेपाली आहत भए । भूकम्पले लगाएको घाउमा त्यो नाकाबन्दीले नूनचूकको काम ग¥यो । त्यस समयमा ओलीले लिएको अडानलाई नेपालीले प्रशंसा गरे । तर भित्रभित्रै भारतीय नेतृत्वलाई खुसी पार्न र असन्तुष्ट मधेसकेन्द्रित दलहरूलाई मनाउने उपाय खोज्न परराष्ट्रमन्त्रीमार्फत उनले भारतीय नेतृत्वलाई बुझाएको चारबुँदे पत्र राष्ट्रवादी अडानको छायाँमा प¥यो । आमनागरिकलाई यो थाहा हुने कुरै भएन । सतहमा आएको विषयले नै नागरिक प्रभावित भइरहे । 

स्थानीय सरकारको चुनावलाई आकर्षक ढंगले एमालेले प्रचार गरिरह्यो । उसको अडान जसरी पनि स्थानीय सरकारको निर्वाचनका पक्षमा थियो । तर तराई मधेसकेन्द्रित दलहरूसँगको सहमति खोज्न गरिने संविधान संशोधनमा उसले खुट्टा अड्काउने काम गरिरहेको छ । मधेस विरोधी चिन्तन भएकाहरू र नश्लवादी सोच भएकाहरूले एमालेको यो अडान मन पराए । किनकि नाकाबन्दीको पीडा निरन्तर चहराइरहेको छ पहाडतिरका मनमस्तिष्कमा । एमाले सामाजिक सुरक्षामा अरु दलभन्दा जहिले पनि अगाडि देखिएको छ । काम नभए पनि नारा दिने कला उसमा राम्रो छ । कतिपय कामसमेत भएका छन् । २०५१ सालमा सुरु गरेको वृद्ध भत्ता र आफ्नो गाउँ आफैँ बनाऔं जस्ता कार्यक्रम एमालेका निम्ति लामो समयसम्म चुनावी नारा लगाउन पर्याप्त हुन्छन् । अहिले वृद्ध भत्तालाई पाँच हजार पुर्याइदिने घोषणाले वृद्धवृद्धाको मनमस्तिष्कलाई सहजै आकर्षित गर्न पुग्यो । एमालेसँग यसरी अडान, अजेन्डा र रणनीतिसमेत सवल देखियो । योभन्दा पनि एमालेको संगठन अरु कसैसँग भन्दा चुस्त छ, अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल साथमा छ, पेशा र व्यवसायमा संलग्न एमाले समर्थकहरू संगठनका स्तम्भ हुन सकेका छन् । यसैकारण एमालेले जनमत आफ्ना पक्षमा बढी देखाउन सफल भयो पहिलो चरणको निर्वाचनमा ।

नेपाली कांग्रेस पछि पर्नुमा केही महत्वपूर्ण कारण छन् । यतिखेर कांग्रेसको नेतृत्व सर्वाधिक चरम गुटवादका कारण कमजोर छ, संगठनमा अनुशासन कम छ, निर्वाचनमा असन्तोष र अन्तर्घात सकेसम्म हुनु अराजकताकै कारण हो । चुनावी रणनीति हावादारी भयो । गठबन्धनका लागि निश्चित आधार केही भएनन्, ठीक समयमा गठबन्धन हुनसकेन, उम्मेदवारी चयन बेलामा भएन , मनोनयन गर्ने दिनसम्म पनि उमेदवार तय गरिएका थिएनन् । कतिपय स्थानमा उम्मेदवारीमा सन्तुलन थिएन । तैपनि नेपाली कांग्रेसलाई आमजनताले पर्याप्त समर्थन दिए । कांग्रेसविरुद्ध पर्याप्त मुद्दा थिए । खासगरी राजदूत नियुक्तिलाई लिएर बुद्धिजीवीहरु क्रूद्ध थिए, प्रहरी महानिरीक्षक प्रकरणले समेत नेपाली कांग्रेसलाई अनावश्यक विवादमा मुछेको थियो । पछिल्लो घटना प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग प्रस्तावले त आमनागरिकमा कांग्रेसप्रति विकर्षण थपिदिएको थियो । यी काण्डहरूको सजिलो उत्तर नेपाली कांग्रेससँग भएन । तैपनि दोस्रो स्थानमा कांग्रेस जम्न पुग्यो । 

वास्तवमा कांग्रेस भनेको दुवो जस्तो छ जहाँ अडिने अवसर पाउँछ त्यहीँ जरा गाड्छ । तर कांग्रेससँग रहेको परम्परागत पुस्ताका सन्ततिहरूले विकल्प खोज्न लागेका छन् । काठमाण्डौं महानगरको निर्वाचनमा रञ्जु दर्शनाको सम्मानजनक उपस्थिति र किशोर थापाको बौद्धिक विकल्प कांग्रेसका लागि चुनौती र चेतावनी हुँदैछन् । विवेकशील पार्टीकी दर्शना र साझा पार्टीका थापाले काठमाण्डौंमा पाएको मत उनीहरू र उनीहरू सम्बद्ध दलहरूप्रतिको समर्थनमात्र होइन । नेपाली कांग्रेस र केही हदसम्म नेकपा एमाले जस्ता परम्परागत पार्टीहरूप्रतिको अस्वीकार पनि हो । आन्दोलन, संघर्ष र इतिहासका आडमा विवेकविहीन, अराजक, निरंकुश, स्वेच्छाचारी मनोगत शैलीले चल्ने दलहरूका लागि विकल्पको सन्देश र संकेत दर्शना र किशोर थापा हुन पुगेका छन् । लोकतन्त्रको मियो नेपाली कांग्रेस र लोकतन्त्रको मार्गमा अविचल यात्रामा लागेको एमाले दुवैका लागि किशोर थापाले प्रतिनिधित्व गर्ने वर्ग र दर्शनाले नेतृत्व गर्ने पुस्ता पाठ भएर देखापरेका छन् ।

प्रकाशित: १० जेष्ठ २०७४ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App