७ वैशाख २०८१ शुक्रबार
राजनीति

२३ वर्षकी उपप्रमुख :  ‘आशा र विश्वास जगाउनेछु’

सिन्धुपाल्चोक – गाउँमा बिजुली पुगेको छैन । फोनमा कुराकानीसम्म गर्न पाइँदैन । सञ्चारका कुनै साधनले काम गर्दैनन् । वारि गाउँको खबर पारि पुर्याउन सहज छैन । कुनै गाउँमा केन्द्रसम्म धुले सडक पुगेका छन् तर गाडी चल्दैनन् । एक गाउँबाट अर्कोमा पुग्न एक दिन हिँड्नु पर्छ । बाटा गतिला छैनन् । हिउँदमा हालेको काठे पुल बर्खामा खहरेले बगाउँछ । पुल बगेपछि धेरै बस्ती नाकाबन्दीमा पर्छन् । गाउँले आफ्नै गाउँमा थुनिन्छन् । यस्तै छ, जुगल गाउँपालिकाको हाल ।

जिल्लाकै दुर्गम भनेर चिनिने जुगल गाउँमा विकासको मूल फुटाउने अभिभारा २३ वर्षीया सिर्जना तामाङले पाएकी छिन् । दुःखमा हुर्केकी सिर्जना जुगल गाउँपालिका उपप्रमुखमा निर्वाचित भएकी छिन् । उनलाई गाउँलेले भरोसाको गह्रुंगो भारी बोकाएका छन् । ‘समाजको आशा र विश्वासको विरुवा हुँ,’ पदभार ग्रहणपछि भावुक हुँदै सिर्जनाले भनिन्, ‘जिम्मेवारीको ठूलो भारी गन्तव्यमा पुर्याउनु छ ।’

१० वर्षे जनयुद्धमा होमिएर राजनीतिमा खारिएकी माओवादी केन्द्रकी अम्बिका नेपाललाई पराजित गर्दै राजनीतिको कखरा सिक्दै गरेकी सिर्जना उपप्रमुख निर्वाचित भएकी हुन् । झन्डै ४ सय मतान्तरमा जतेकी सिर्जनाले २७८६ भोट पाएकी हुन् । ‘गाउँपालिकामा सबैभन्दा पहिला सञ्चार सेवा पुर्याउँछु,’ उनको दृढता छ ।

गाउँ पूर्वाधार विकासमा निकै पछि रहेको उनको बुझाइ छ । सबैखाले विपन्नतालाई चिर्न शिक्षाको विकासमा जोड दिने उनको योजना छ । ‘विकासको आधार शिक्षित जनशक्ति हुन्,’ उनले बताइन् ।

कृषिलाई आधुनिकीकरण गर्ने र पर्यटन प्रबद्र्धनमा लाग्ने उनको सोच छ । गुम्बा, गोल्चे आलु उत्पादनका लागि प्रख्यात छन् । आलुको बजारीकरण गर्दै पर्यटन प्रबद्र्धन गर्ने उनको योजना छ ।

गाउँपालिका अध्यक्षमा एमालेकै होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ स्थानीय निकाय सञ्चालनका अनुभवी हुन् । २०५४ मा स्थानीय निर्वाचनमा विजयी हुँदा २२ वर्षीय होमनारायणय मुलुककै दोस्रो कान्छा जनप्रतिनिधि थिए । 

सामाजिक परिचालक : ‘टर्निङ प्वाइन्ट’

गुम्बाको पाङ्गार्पु गाउँको बिपन्न परिवारमा २०५० असार ७ गते जन्मेकी ससर्जना दुःखमा हुर्किन् । गाउँकै सेतीदेवी माविबाट उनले प्राथमिक तह पूरा गरी ६ कक्षा पढ्न उनी एक दिन टाढाको पाङताङ पुगिन् । पाङताङबाटै एसएलसी गरिन् । त्यही विद्यालयका शिक्षक होमनारायणबाट अखिलको राजनीति सिकिन् ।

अवसरको खोजीमा उनी सदरमुकाम चौतारा आइपुगिन् । संघसंस्थामा काम थालिन् । कमाइ गर्दै स्नातक तह पनि पूरा गरिन् । चुनावको मिति निर्धारण हुँदासम्म स्थानीय संस्थामा सामाजिक परिचालक थिइन् । कार्यक्षेत्र जुगल गाउँपालिका नै थियो । कामको सिलसिलामा उनी सबैजसो गाउँलेका घर–घर पुगेकी छिन् । सामाजिक परिचालकको त्यही भूमिका नै उनको लागि प्रभावकारी बन्यो । ‘सामाजिक परिचालकको कामले समाज बुझ्न सघायो, मैले पनि समाजको विश्वास जितें,’ उनी सुनाउँछिन् । अखिल नेपाल महिला संघ र युवा संघको सदस्य भइसकेकी सिर्जना ‘काम गर्दै सिक्दै, सिक्दै गर्दै’ अघि बढ्ने बताउँछिन् ।

प्रकाशित: १० जेष्ठ २०७४ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App