७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनावमा दल परिवर्तन : कसैलाई फलिफाप, कसैलाई घर न घाट

सिन्धुपाल्चोक – एमाले पारिवारिक पृष्ठभूमिका व्यवसायी राजकुमार पौडेल चुनावको मुखमा सबैलाई चकित पार्दै माओवादी केन्द्र प्रवेश गरे । केन्द्रले तत्कालै उनलाई भोटेकोसी गाउँपालिका अध्यक्ष उम्मेदवारका रुपमा प्रस्तुत गर्याे । हार्ने पार्टीबाट उम्मेदवार बनेर राजकुमारले छवि बिगार्ने भए भनी उनको आलोचना पनि भयो । कांग्रेस किल्ला मानिएको यो क्षेत्रबाट उसले तत्कालीन लिस्ति गाविसका अध्यक्ष साङ्बु शेर्पालाई अघि सारेपछि पौडेल सहजै पराजित हुने बहुसंख्यकको अनुमान थियो । 

तर, धेरैको अनुमानलाई गलत साबित गर्दै पौडेलले आफ्ना पक्षमा परिणाम निकाले । बलिया मानिएका शेर्पालाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । साढे तीन दशकदेखिको कांग्रेस किल्लामा माओवादी  झन्डा गाडेर उनले सबैलाई चकित पारे । तातोपानी, लिस्ती, घुम्थाङलगायत पाँच गाविस मिलेर बनेको भोटेकोसीमा २०४९ को स्थानीय चुनावपछि कांग्रेसबाहेक कसैले चिताउन सकेको थिएन । २०६४ को संविधानसभा चुनावपछि कांग्रेस केही धर्मराउन थाले पनि मजबुतै थियो । यसपटकको चुनावमा तातोपानीमै बसेर व्यापार गर्दा बनेको छवि र टिकट वितरणमा कांग्रेसभित्रको असन्तुष्टिको फाइदा पौडेलले लिए ।

पुरानो घर छोडेर नयाँ घरबाट समेत विश्वास जित्न नसकेका ‘अभागी’ ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ को अवस्थामा छन्

हेलम्बुका निमाग्याल्जेन शेर्पा पनि यो मामिलामा माहिर देखिए । २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई क्षेत्र नं. ३ बाट उम्मेदवार बनायो तर चौथो स्थानमा रहेर लज्जास्पद हार बेहोरे । कांग्रेसले ‘जनजातिलाई उपेक्षा गर्दै आएको’ आरोप लगाउँदै उनले २०७० को संविधानसभा निर्वाचनको मुखैमा पार्टी छाडे । सामाजिक लोकतान्त्रि पार्टी गठन गर्दै उनी अध्यक्ष मण्डलको अध्यक्ष बने । यो पार्टीले दोस्रो संविधानसभा बहिष्कार गरेको थियो । कांग्रेसी नेताहरुका अनुसार पार्टी नछोडेको भए उनी उक्त चुनावमा पनि उम्मेदवार बन्न सक्थे, समानुपातिकमा सभासद् बन्ने अवसर पनि छँदै थियो । त्यसपछिका चार वर्षसम्म निमाग्याल्जेनको कांग्रेससँग कुनै साइनो रहेन । हेलम्बु कांग्रेसमा अध्यक्ष उम्मेदवार खोजी भइरहँदा सबैलाई चकित पार्दै उनी टिकट लिएर गाउँ फर्के ।

सम्बन्ध विच्छेद गरेको पार्टीसँग साइनो नवीकरण गरेका निमाग्याल्जेनले बाजी मारेरै छोडे । एमालेका हस्ती जिल्ला पार्टी पूर्वअध्यक्ष हस्त पण्डितलाई पराजित गर्दै उनी हेलम्बु गाउँपालिका अध्यक्ष निर्वाचित भए । उनले पण्डितलाई १७ सयभन्दा बढी मतान्तरले हराए ।

वैशाख १७ गते उम्मेदवारी मनोनयनको केही दिनअघिसम्म बाँडेगाउँका दुर्गाबहादुर लामा राप्रपाका कट्टर कार्यकर्ता थिए । उनी इन्द्रावती गाउँपालिका–५ बाट वडाध्यक्ष उम्मेदवार बन्न चाहन्थे तर जित्न पुग्ने राप्रपाको मत नहुँदा आँट गर्न सकेका थिएनन् । गाउँपालिका अध्यक्ष जित्न कांग्रेसलाई योवडा जित्नै पर्ने बाध्यता थियो । यहाँ एमाले र माओवादी केन्द्रको पकड थियो । 

लामाको अध्यक्ष र कांग्रेसको वडा जित्ने स्वार्थ मिल्यो । उनले एकाएक कांग्रेस प्रवेश गरेर उम्मेदवारी दिए । उनले र कांग्रेसले चाहेजस्तै भयो, एमाले र माओवादीका उम्मेदवार पछारिए । आइतबार सार्वजनिक मतपरिणामअनुसार एमाले उम्मेदवारलाई आठ मतले हराउँदै उनले वडाध्यक्ष जिते । कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेका राप्रपाका तत्कालीन सीपापोखरे गाविस एकाइ अध्यक्ष बखानसिंह तामाङ पनि इन्द्रावती–८ को सदस्यमा निर्वाचित भएका छन् । चुनावको मुखमा दल परिवर्तन दुवैलाई फाप्यो । 

जिल्लामा चुनावका मुखमा दल फेरेर हार्ने ‘अभागी’ पनि छन् । बाह्रबिसेका बुद्धराज बस्नेत यस्तो सूचीमा एक नम्बरमा पर्छन् । कांग्रेस जिल्ला सदस्य उनी मनोनयन दर्ता गर्नु २४ घन्टापूर्व माओवादी केन्द्र प्रवेश गरेर बाह्रबिसे नगरपालिका मेयरको उम्मेदवार बने । कांग्रेसले टिकट नदिएपछि उनी माओवादीमा छिरेका थिए । राप्रपासँग गठबन्धन गरेको माओवादीको भोटमा कांग्रेस मत चोर्दै जित्ने उनको सपना थियो । तेस्रो स्थानमा रहेर पराजित उनी कांग्रेस हराउन भने पर्याप्त भए । दोस्रो स्थानमा रहेर एमालेसँग केही सय मतले पराजित कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेत उनका भाइ हुन् । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रहेका दाइ मोहनबहादुर बस्नेतको पेलान खप्न नसकेपछि बुद्धराज माओवादीमा गएका थिए । चुनाव नजिते पनि दाइ बस्नेतसँग राम्रै बदला लिएको उनले निकटस्थसँग बताउँदै आएका छन् । 

एमालेमा लामो समय राजनीति गरेकी दुर्गा नेपाल चुनावको मुखैमा माओवादी केन्द्र छिरिन् । बलेफी गाउँपालिकाका उपाध्यक्ष हुँदै झरेर वडाध्यक्ष दाबी गर्दासमेत पार्टीले नसुनेपछि उनको विकल्प माओवादी बन्यो । माओवादीले उपाध्यक्षको उम्मेदवार त बनायो तर उनी उपविजेतामा सीमित रहिन् । एमालेकै उम्मेदवार कमला कायस्थले चार सय मतान्तरले उनलाई हराइन् । कमलालाई आच्छुआच्छु भने उनले बनाइन् । 

लिसंखुपाखर गाउँपालिकामा कांग्रेसी क्रियाशील नेत्री थिइन् उर्मिला लामा । पार्टीले उम्मेदवार नबनाएको झोकमा चुनावअघि राप्रपा छिरेर उनी उपाध्यक्षको उम्मेदवार बनिन् । बलियो मानिएको कांग्रेस नै तस्रो भएको यो गाउँपालिकामा उनको लज्जास्पद हार भयो ।

जिल्लाको स्थानीय तह चुनावमा २ हजार १ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रँदा धेरैले परिचय फेरे । पार्टीबाट टिकट नपाएर, अर्को दलमा छिर्दा जितको सपना देखेर, सीमित नेताको सेखी झार्न रातरात पहिचान बदलेका केहीले चुनावबाट फाइदै लिए पनि धेरैलाई फापेन । पुरानो घर छोडेर नयाँ घरबाट समेत विश्वास जित्न नसकेका ‘अभागी’ ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ को अवस्थामा छन् ।

प्रकाशित: १० जेष्ठ २०७४ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App