८ वैशाख २०८१ शनिबार
राजनीति

प्राथमिकता सडक व्यवस्थापन

काठमाडौं – पश्चिम भेगमा अवस्थित चन्द्रागिरि नगरपालिकाको  मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन् । उपमेयरमा एमालेबाट लिशा नकर्मी विजयी भइन् । दुवै शिक्षण पेसाबाट राजनीतिमा आएका हुन् । 

मेयरमा विजयी गिरी यसअघि स्थानीय चुनदेवी माविमा प्रधानाध्यापक थिए । २०१९ सालमा थानकोटमा जन्मिएका गिरी २०३४ सालमा विद्यार्थी संगठनमार्फत राजनीतिमा प्रवेश गरेका हुन्  । उनी २०३६ सालको जनमतसंग्रहमा बहुदलका पक्षमा लागेका थिए । जनमतसंग्रहमा बहुदलको पक्षमा भोट हाल्न प्रचार गरेको उनी बताउँछन् । उनले भने, ‘२०३६ सालमा जनमतसंग्रह हुँदा बहुदल पक्षबाट बुथ एजेन्ट भएर बसेको थिएँ ।’ 

जनमतसंग्रहमा बहुदल पक्षले हारेपछि बिपी कोइरालाले हार स्वीकार्नुपर्छ भनेको उनको मनमा ताजै छ । बिपीको त्यहीं भनाइबाट आफूले मन शान्त पारेको उनले बताए । 

विकास निर्माणमा सबै दललाई मिलाएर अगाडि बढ्नेछु । कसैलाई काखापाखा नगरी नगरको विकास गर्नु मेरो धर्म र कर्तव्य हो । हामी सबै मिलेर सागर तर्छौं । 

उनका अनुसार बहुदललाई हराइएपछि त्यसबेला राजनीतिक द्वन्द्व सुरु भएको थियो । दलहरूले आ–आफ्नो ठाउँमा स्कुल बनाउने अभियान समेत चलाएका थिए । त्यसैबेला २०३७ सालमा चुनदेवी प्राविको स्थापना भएको हो । सुरुमा खुला चौरमा स्कुलको पठनपाठन थालेको उनी बताउँछन् । ‘त्यसबेला स्कुलको भवन थिएन । अस्थायी टहरो थियो । बर्खामा पानी परेपछि चुहिन्थ्यो । दुःख गरेर स्थापना गरेका थियौं त्यो स्कुल ।’ पछ त्यही प्रावि मावि बन्यो । 

आफूसमेतको सक्रियतामा स्थापित सो विद्यालयमा  गिरीले ३६ वर्ष सेवा गरे । त्यस क्रमा उनले प्रधानाध्यापकको जिम्मेवारी पनि कुशलतापूर्वक समाले । चुनावअघि माविको प्रधानाध्यापकबाट राजीनामा दिएर गिरी कांग्रेसबाट मेयरमा उम्मेदवार बनेका हुन् । लामो समय शिक्षण पेसाका माध्यमबाट समाजको विकासमा गिरीले पु¥याएको योगदानको कदर गदै चुनावमा जनताले उनलाई जिताए । मंगलोदय मावि थानकोटबाट एसएलसी पास गरेका उनी मानविकी र शिक्षामा स्नातक हुन् । उनले अमेरिकन ल्यांग्वेज इन्स्च्यिुटबाट पनि स्नातक तहसरहको शिक्षा लिएका छन् । 

गिरीले राजनीति र शिक्षण पेसा सँगसँगै अघि बढाए पनि विद्यालयलभित्र आफूले कहिल्यै राजनीति नगरेको बताए । शिक्षकको रुपमा क्रियाशील हुँदा उनी नेपाल शिक्षक संघको क्षेत्रीय सदस्य, जिल्ला सदस्य र केन्द्रीय प्रतिनिधि भए । नेपाली कांग्रेसका क्रियाशील सदस्य उनी काठमाडौं कांग्रेसको क्षेत्रीय सचिव हुँदै पार्टीको एघारौं र बाह्रौं केन्द्रीय महाधिवेशनमा प्रतिनिधि पनि भए । पार्टीको तेह्रौं महाधिवेशनका क्रममा उनी चन्द्रागिरी नगरपालिकाको सभापतिमा छानिए  । कांग्रेस नगरसभापतिको हैसियतमा उनले चन्द्रागिरि नगरपालिका सर्वदलीय संयन्त्रमा बसेर विकास निर्माणमा योगदान पुर्याए । 

आफू शिक्षक भएका बेला सबैसँग घुलमिल गरेका कारण पनि चुनावमा स्थानीय मतदाताले माया गरेको उनको बुझाइ छ । ‘मैले पढाएको विद्यालयबाट हजारभन्दा बढी विद्यार्थीले एसएलसी पास गरिसके । सबै अभिभावकसँग प्रत्यक्ष सम्पर्क भयो । त्यसैले यो चुनावमा सबैको माया पाएँ ।’

२०४५ सालमा स्थापना भएको मंगलोदय बहुमुखी क्याम्पसका संस्थापक सदस्य गिरी क्याम्पस सञ्चालक समिति अध्यक्ष पनि छन् । विभिन्न सार्वजनिक क्लब, सहकारीमा समेत आबद्ध भएकै कारण पनि चुनावमा जित हात पार्न सहयोग पुगेको उनको भनाइ छ । 

नगरभित्र बाटोघाटो, सार्वजनिक भवन निर्माण र अन्य विकासका काममा सक्रिय रहँदै आएका गिरी मेयर बनेपछि सबैभन्दा पहिला नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने बाटो व्यवस्थित बनाउने योजनामा छन् । ‘नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने सडक (नागढुंगा–कलंकी खण्ड) मा ट्राफिक जाम अन्त्य र बाटोको दूरवस्था सुधार्न पहल गर्नेछु’, गिरीले भने, ‘स्थानीय जनताका समस्या हल गर्दै बिग्रिएको बाटो छिटो पिच गर्न दबाब दिनेछौं । ट्राफिक जाम हटाउन प्रहरी सहयोगमा व्यवस्थित कदम चाल्नु छ । ’ 

चन्द्रागिरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने योजना पनि उनको छ । ‘सडक सञ्जाल विकास गरेर नगरभित्रका पर्यटकीय स्थल जोड्ने लक्ष्य छ,’ गिरीले भने । खानेपानी समस्या समाधान, सामुदायिक महŒवका भवन निर्माण, स्वास्थ्य र शिक्षामा नगरवासीको पहँुच विस्तार जस्ता कार्यक्रम पनि उनको प्राथमिकतामा छन् ।
सबै दल, आफूसँग चुनावमा प्रतिस्पर्धा गरेका उम्मेदवार र जनताको साथ लिएर चन्द्रागिरिलाई स्वच्छ, पारदर्शी, व्यवस्थित र नमुना नगर बनाउने प्रतिबद्धता उनले सुनाए । ‘विकास निर्माणमा सबै दललाई मिलाएर अगाडि बढ्नेछु । हामी एउटै जहाजमा चढेका छौं । हामी सबै मिलेर सागर तर्छौं । मलाई सबै पक्षका मतदाताले भोट दिएका छन्, कसैलाई काखापाखा नगरी नगरको विकास गर्नु मेरो धर्म र कर्तव्य हुनेछ’, उनले भने ।  ३६ वर्षको शिक्षण पेसाबाट आर्जन गरेको अनुभव र ज्ञान नगरको विकासमा लगाउने उनले बताए । 

१३ हजार ३ सय ९० मतसहित मेयरमा विजयी गिरीका प्रतिद्वन्द्वी एमालेका प्रह्लाद कार्कीले १० हजार ४ सय २१ मत पाए ।

चन्द्रागिरिका नवनिर्वाचित पदाधिकारीले बुधबार पदभार समाल्ने कार्यक्रम छ । 

प्रकाशित: १० जेष्ठ २०७४ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App