१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरमा माओवादीको खाता खुल्यो, वडाध्यक्षसहित प्यानल नै विजयी

चितवन – माओवादीको गढको रुपमा हेरिएको भरतपुर महानगरपालिकाको वडा नं. १३ मा सो पार्टीले सहज विजयी हात पारेको छ । वडाध्यक्ष पदमा माओवादीका प्रकाश दवाडीसहितको प्यानल नै विजयी भएको छ । 

वडा नं. १३ को मतले मेयर पदमा रहेको मतान्तर घटाउन सहयोग पुगेको छ । अघिल्लो वडासम्मको गणनामा तीन हजार ८३६ मतको अन्तर रहेकोमा १३ को गणनापछि यो अन्तर तीन हजार ३११ मतमा झरेको छ ।

वडाध्यक्ष पदका माओवादी उम्मेद्वार दवाडी १ हजार ४३८ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार रामजि सापकोटाले १ हजार ५३ मत प्राप्त गरे भने ४२५ मत ल्याएर काँग्रेसका उम्मेद्वार तेस्रो भए । वडा नं. १३ सम्मको मत गणनामा मेयर पदमा एमालेका उम्मेद्वार देवि ज्ञवालीलाई कूल २७ हजार १७५ मत आएको छ ।

सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी रेणु दाहालको मत २३ हजार ८६४ पुगेको छ । उपमेयरमा सत्तारुढ गठबन्धबाट उम्मेद्वार रहेकी काँग्रेसकी पार्वती शाहको मत २७ हजार ५३ पुगेको छ । एमालेकी दिब्य शर्मा आचार्यले २४ हजार ४९३ मत ल्याएकी छन् । वडा नं. १३ मा मात्रै मेयरमा एमाले उम्मेद्वार ज्ञवालीको एक हजार ११९ र माओवादी उम्मेद्वार दाहालले एक हजार ६४४ मत ल्याइन् ।

सो वडामा मेयरमा ज्ञवालीले आफ्नो पार्टीको वडाध्यक्षले पाएको भन्दा थप ६६ मत ल्याएका छन् । त्यस्तै रेणु दाहालले पनि आफ्नो वडाध्यक्षको भन्दा बढी नै मत ल्याए पनि काँग्रेस र माओवादीका वडाध्यक्षका उम्मेद्वारले पाएको भन्दा २१९ मत कम ल्याएकी छन् । भरतपुरमा २९ वटा वडाहरु रहेका छन् । अहिलेसम्म १६ वटा वडाको मत गणना सकियो । जसमा १० वडामा एमाले, पाँच वडामा काँग्रेस र एउटामा माओवादीका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका छन् ।

भरतपुरमा अब वडा नं. २६ को मत गणना हुने छ । सो वडा पुरानो दिब्यनगर गाविसको क्षेत्र हो । जहाँ वडाध्यक्षमा एमालेको उम्मेद्वार छैनन् । एमालेले वडाध्यक्षमा माओवादीका उम्मेद्वारलाई समर्थन गरेको छ । तर पार्टी नीति विपरित स्थानीय तहमा तालमेल गरेको भन्दै माओवादीले वडाध्यक्ष पदका उम्मेद्वारलाई कारवाही गरेको छ र काँग्रेसलाई समर्थन गर्ने बताएको छ । त्यसैले यो वडाको भिडन्त रोचक बनेको छ ।

वडा नं. २६ पछि वडा नं. १४ को गणना हुने छ । सो वडामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुरानो गाउँ शिवनरसमेत पर्दछ । भरतपुरमा एमालेले राम्रो मत ल्याएर फराकिलो मतान्तर कायम गर्ने सम्भावना भएका वडाहरुको मत गणना सकिएको छ । वडा नम्बर २७ को गणना सकिदासम्म मेयरमा एमाले उम्मेद्वार देवि ज्ञवालीले बनाएको फराकिलो मत अन्तर अब क्रमशः कम हुँदै जाने अवस्था छ । 

प्रकाशित: १० जेष्ठ २०७४ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App