coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशबाट तोकिए एमाले उम्मेदवार

इलाम- लामो समयको बहस, छलफल र कसरतपछि नेकपा एमालेले जिल्लाका सबै स्थानीय तहका प्रमुख पदका उम्मेदवार टुंगो लगाएको छ। एमाले प्रदेश कमिटीको मंगलबारको बैठकले जिल्लाका नगरपालिका र गाउँपालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

                जिल्ला तहमा एउटै पदका लागि एकभन्दा बढी व्यक्तिले इच्छा देखाएपछि २ नगरपालिकाका प्रमुख–उपप्रमुख, इलाम नगरपालिकाको उपप्रमुखसहित ४ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार चुनिन सकेका थिएनन् । यहाँ टुंगिन नसकेको नाम प्रदेश कमिटीमा पठाइएपछि सोमबार र मंगलबार बसेको प्रदेशस्तरीय बैठकले उम्मेदवारको नाम छानेको हो । तर, एमालेले मंगलबार छानिएका उम्मेदवारको नाम औपचारिक रूपमा भने बाहिर ल्याइसकेको छैन।

                एमाले स्रोतका अनुसार इलाम नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा एमालेले सुशीला नेम्बाङलाई उम्मेदवार बनाउने भएको छ । प्रमुख पदमा इलाम नगरकै पूर्वप्रमुख महेश बस्नेतको नाम सर्वसम्मत भइसकेपनि उपप्रमुखको टुंगो लाग्न सकेको थिएन ।

                जिल्लाभर धेरै चासोसाथ हेरिएको सूर्योदय नगरपालिकाको प्रमुखको उम्मेदवारमा आरबी राई छानिएका छन् ।  उपप्रमुखको नाम मंगलबार साँझसम्म टुंगिएको छैन । माई नगरपालिका प्रमुखमा दीपक थेवे तथा उपप्रमुखमा विष्णु आचार्य उम्मेदवार चुनिएका छन् । गाउँपालिकामध्ये माईजोगमाईको अध्यक्षमा जेबी राई, उपाध्यक्षमा सावित्रा भट्टराई, रोङको अध्यक्षमा वृहस्पति खतिवडा र उपाध्यक्षको उम्मेदवारमा विष्णुमाया खवासको नामलाई अन्तिम रूप दिइएको एमाले स्रोतले जनाएको छ । फाकफोकथुम गाउँपालिका अध्यक्षमा दीपेन्द्र खनाल, उपाध्यक्षमा सरु राई र चुलाचुली गाउँपालिका अध्यक्षमा प्रदीपचन्द्र राईले उम्मेदवारी दिने तय भएको छ । चुलाचुलीको उपाध्यक्ष चयन गर्न अझै बाँकी छ ।

                जिल्लाका इलाम, सूर्योदय, देउमाई र माई गरी ४ नगरपालिकामध्ये देउमाईको प्रमुखमा सूर्य पोख्रेल र उपप्रमुखमा पविमाया राई एमालेका तर्फबाट उम्मेदवार हुने सहमति यसअघि नै भइसकेको छ । माङ्सेबुङ र सन्दकपुर गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्ति सर्वसम्मत रूपमा जिल्लामै छनौट गरिएका थिए । सन्दकपुरको अध्यक्षमा उदय राई, उपाध्यक्षमा शोभा पराजुली तथा माङ्सेबुङको अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता योङहाङले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ ।

                एमालेले जिल्लाका सबै (८१) वडाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको नाम पनि टुंग्याइसकेको छ । जिल्लास्थित नेकपा माओवादी केन्द्रले पनि सबै उम्मेदवारको नाम टुंग्याएको जनाएको छ । नेपाली कांग्रेसले भने बुधबार उम्मेदवारको नामलाई अन्तिम रूप दिने कांग्रेस जिल्ला सचिव खगेन्द्र देवानले जानकारी दिए। 

प्रकाशित: ९ जेष्ठ २०७४ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App