coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

थपिएका तहमा ७ दिनमै चुनावी तयारी: प्रमुख निर्वाचन आयुक्त

विराटनगर- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले थपिएको स्थानीय तहमा ७ दिनभित्रमै चुनावी बन्दोबस्त मिलाइने भन्दै तोकिएकै समयमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने बताएका छन्।   उनले संख्या थपिएको स्थानीय तहको चुनावी बन्दोबस्त मिलाउन आयोग रातदिन खटिरहेको समेत बताए।

                ‘थपिएको स्थानीय तहको संख्याले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन समस्या छैन,’ विराटनगरमा मंगलवार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘सबै प्रकृया मिलाउन एक साता लाग्छ, हामी त्यो अवधिमा सबै काम सक्छौं।’

                सरकारले सोमवार स्थानीय तह फेरि थपेपछि जेठ ३१ गते मै दोस्रो चरणको निर्वाचन गराउन कठिन हुने आयोगकै आयुक्त नरेन्द्र दाहालको भनाईप्रति भने यादवले अनभिज्ञता जनाए। ‘आयोगमा सचिवालय र आयुक्तहरुको बैठक बसेर थपिएको तहमा चुनावी तयारी थालिनेछ,’ प्रमुख आयुक्त यादवले भने, ‘चुनावको तयारी अन्तिम चरणमा पुगेको बेला स्थानीय तहको संख्या थप्नु ठूलै चुनौती हो, तर, आयोगले यो चुनौतीलाई जिम्मेवारी बुझ्दै अगाडि बढ्छ।’

                निर्वाचन आयोगका आयुक्त यादवले सरकारले राजनीति समस्या समाधान गर्न स्थानीय तहको संख्या हेरफेर गर्न सकिने जानकारी आयोगलाई यसअघि नै गराएको समेत खुलासा गरे । ‘सरकारले स्थानीय तहको संख्या थपघट र हेरफेर हुँदा पनि निर्वाचन गराएर सहयोग गर्नुहोला भनेर आयोगलाई भनेको थियो,’ प्रमुख आयुक्त यादवले भने, ‘स्थानीय तह थप्नु राजनीति विषय हो, हाम्रो काम समयमा चुनाव सम्पन्न गराउनु हो ।’

                प्रमुख आयुक्त यादवले स्थानीयतह थपिएको क्षेत्रमा नयाँ मतदाता नामावली तयार, कर्मचारीको खटनपटन र बुथ–मतदान स्थलको व्यवस्था गर्न एक साताको समय पर्याप्त रहेको समेत बताए। चुनावकै मुखमा स्थानीय तह थप्नु आचार संहित उल्लघन होइन ? संवाददाताहरुको प्रश्नमा यादवले भने, ‘आचारसंहिता चुनावको लागि हो, चुनाव देश र लोकतन्त्रको लागि, स्थानीय तह संघीयताका लागि थप्नु हो, त्यसैले यसमा आचारसंहिता प्रभावित हुँदैन ।’ निर्वाचन आयोगका प्रमुख आयुक्त चुनाव सम्बन्धी तालिममा सहभागि हुन् विराटनगर आएका हुन्।

 

प्रकाशित: ९ जेष्ठ २०७४ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App