७ वैशाख २०८१ शुक्रबार
कला

कान्समा 'पाहुना'को टिजर सार्वजनिक

पेरिस- बलिउडकी नायिका तथा निर्माता प्रियंका चोपडाको होम प्रोडक्सन पर्पल पेबल पिक्चर्सले निर्माण गरेको फिल्म 'पाहुना' को टिजर 'कान्स फिल्म फेस्टिबल' मा सार्वजनिक गरिएको छ। प्रियंका अनुपस्थित भएको ट्रेलर सार्वजनिक कार्यक्रममा उनकी आमा मधु र भाइ सिद्धार्थ सहभागी थिए।

मधुले कान्सजस्तो महत्वपूर्ण फेस्टिभलमा सहभागिता जनाउँदै फिल्मको फस्टलुक र ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन पाउनु फिल्म युनिटका लागि खुसीको कुरा भएको बताइन्।

पाखी ए ताइरीवालाको निर्देशन रहेको फिल्मले परिवारबाट छुट्टिएका तीन नेपाली बालकको माया र संघर्षलाई प्रस्तुत गरेको छ। माओवादी द्वन्द्वका कारण नेपालबाट विस्थापित भई सिक्किममा पुगेको कथा समेटिएको फिल्ममा सिक्किमकै कलाकार र प्राविधिक आबद्ध छन्।

फिल्मको फस्टलुकमा सिक्किमका स्थानीय दुई बालबालिकाको अनुहार देखाइएको छ।

निर्देशक ताइरवालाले दार्जिलिङ र गान्तोक जाँदा त्यहाँका स्थानीयले गरेको मायाका कारण आफू प्रभावित भएको बताए। 'तेह्र वर्षअघि म दार्जिलिङ र गान्तोक घुम्न गएको थिएँ। त्यो बेला स्थानीयले मलाई परिवारकै सदस्यका रूपमा व्यवहार गरे,' उनले भने, 'मैले, म पाहुना हुँ भन्ने कुरा नै बिर्सिए। मैले मेरो घर नै मानेर झ्यालबाट हिमाल हेर्न थालेँ, त्यहाँ बस्दासम्म यो क्रम रोकिएन।'

उनले फिल्ममार्फत सिक्किमको मात्र नभई त्यहाँका जनताको पनि सुन्दरता देखाउन खोजेको बताए। 'मेरो सोच सिक्किमलाई बलिउडमा होइन, बलिउडलाई चाहिँ सिक्किममा लैजानुपर्छ भन्ने हो,' ताइरवालाले भने। फिल्मको सार्वजनिक प्रदर्शन मिति भने तय भइसकेको छैन।

प्रकाशित: ९ जेष्ठ २०७४ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App