coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मुम्बईलाई आइपिएल उपाधि

हैदराबाद- तीव्र गतिका भेट्रान बलर मिचेल जोन्सनले अन्तिम ओभरमा दुई विकेट लिएपछि मुम्बई इन्डियन्सले आइतबार पुने सुपर जायन्टमाथि १ रनको रोमाञ्चक जित हात पार्दै भारतीय प्रिमियर लिग (आइपिएल) २०१७ को उपाधिमा कब्जा जमाएको छ।

३५ वर्षे अस्ट्रेलियन बलरले अन्तिम ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि मुम्बईले १ सय २९ रनको सानो योगफल पनि रक्षा गरेको थियो। १ सय ३० रनको लक्ष्य पछ्याएको पुनेलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो। तर जोन्सनले लगातार मनोज तिवारी र स्टिभ स्मिथको विकेट लिएपछि पुने निर्धारित २० ओभरमा १ सय २८ रनमा सीमित भएको थियो।

उनले अन्तिम ओभरको दोस्रो बलमा तिवारी (७) लाई किरन पोलार्ड तथा लगत्तै अर्काे बलमा ५१ रन बनाएका स्थिमलाई अम्बाती रायडुबाट क्याच गराएका थिए। ५० बल खेलका स्मिथले २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर अजिन्क्या रहानेले ४४ रनको योगदान दिए। ३८ बल खेलका रहानेले जोन्सनको बलमा पोलार्डबाट क्याच हुनुअघि ५ चोैका प्रहार गरे।

पुनेलाई लक्ष्यनजिक पुगिसकेपछि असफल बनाउने क्रममा मुम्बईका जोन्सनले २६ रन खर्चदै ३ विकेट लिए भने जसप्रीत बुमराहले २६ रन खर्चदै २ विकेट लिए।

सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका जोन्सन मुम्बईको पहिलो रोजाइमा पर्न सकेका थिएनन्। तर मिचेल म्याकलिनेघन घाइते भएपछि उनले अन्तिम दुई खेलमा अवसर पाएका थिए।

‘हाम्रो टोलीमा केही यस्ता खेलाडी छन् जो खेल जिताउन सक्षम छन् र उनीहरूले यसलाई प्रमाणित गर्दै आएका छन्। टोलीलाई आवश्यक परेको समयमा हुने यस्तो प्रदर्शन अझ महत्वपूर्ण हुन्छ,’ मुम्बईका कप्तान रोहित शर्माले भने, ‘म्याकलिनेघनले राम्रो प्रदर्शन गरिरहेका थिए तर दुर्भाग्यवश उनी घाइते भए र फाइनल खेलमा स्थान सुरक्षित गर्न सकेनन् तर हामीलाई उनको विकल्पमा जोन्सन हुन्छन् भन्ने थाहा थियो र उनले यसलाई फेरि एक पटक प्रमाणित गरिदिएका छन्।’

सन् २०१३ मा पनि मुम्बईले आइपिएल जित्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।  उनले जारी सिजन मुम्बईबाट पाँच खेल मात्र खेलेका थिए। २० विकेट लिएका बुमराह र १९ विकेट लिएका म्याकलिनेघनले तीव्र गतिको बलिङको जिम्मेवारी पाएका थिए।

यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको मुम्बईले उल्लेख्य प्रदर्शन गर्न सकेन। मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय २८ रन मात्र बनाउन सक्यो।

मुम्बईका कुनाल पाण्डेले ४७ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ३८ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। २२ बल खेलेका शर्माले ४ चोैका मद्दतमा २४ रन जोडे।

पुनेका लुकी फर्गुसनले ४ तथा एडम जाम्पा र ड्यानी क्रिस्टियनले २ विकेट लिए।

१ सय ३० रनको लक्ष्य पछ्याएको पुनेलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो। तर मिचेल जोन्सनले लगातार मनोज तिवारी र स्टिभ स्मिथको विकेट लिएपछि पुने निर्धारित २० ओभरमा १ सय २८ मा सीमित भएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७४ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App