७ वैशाख २०८१ शुक्रबार
खेल

प्रधानमन्त्री कप आजबाट

काठमाडौं- तीन वर्षको अन्तरालपछि मंगलबारबाट हुने एकदिवसीय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चलले प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर(केसिटिसी)को व्यवस्थापनका हुन लागेको प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयेजकले सोमबार पत्रकार सम्मेलन गरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जेठ १५ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनकारी दिएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले एकदिवसीय स्वरूपमा लामो समयपछि प्रतियोगिता हुन लागेकाले खेलाडीलगायत क्रिकेटजगत् उत्साही भएको बताए। उनले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध हुने खेलका लागि यसै प्रतियोगितालाई खेलाडी छनोटको आधार मानिने भएकाले पनि प्रतियोगिताको महŒव अझ बढेको बताए।

लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा सशस्त्र प्रहरी बल (एपिएफ), मध्याञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल रहेका छन्। समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चल रहेका छन्।  दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

एपिएफको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् भने पुलिस क्लबको कप्तानी मञ्जित श्रेष्ठले गर्नेछन्। मध्यपश्चिमाञ्चलको नेतृत्व सुवेन्दु पाण्डेले गर्नेछन् भने त्रिभुवन आर्मीको विनोद भण्डारी, मध्याञ्चलको शरद् भेषावकर र सुदूरपश्चिमको कप्तानी सुरेन्द्र चन्दले   गर्नेछन्। पश्चिमाञ्चलको कप्तान भने अझै टुंगो नलागेको मुख्य प्रशिक्षक टमाटाले जानकारी दिए।

एपिएफका कप्तान ज्ञानेन्द्रले एकदिवसीय क्रिकेटले नेपाली क्रिकेट विकासमा सहयोग पुग्ने भन्दै यस प्रतियोगिताबाट नेपालमा क्रिकेट व्यवसायिकतातर्फ लम्किरहेको सन्देश प्रवाह हुने बताए। त्यस्तै यसले क्षेत्रीय खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्नमा मद्दत पुग्ने बताए।

त्यस्तै मध्यमाञ्चलका कप्तान शरदले ठूलो धनराशिको प्रतियोगिताले नेपाल क्रिकेट मोह बढ्दै गएको पुष्टि भएको र बिस्तारै परिवर्तन भइरहेको बताए। सुदूरपश्चिमका सुरेन्द्रले अगामी दिनमा यस्तो प्रतियोगिता धेरै भन्दा धेरै हुनुपर्नेमा जोड दिए। आर्मीका कप्तान विनोदले हङकङविरुद्धको खेलका लागि छनोट प्रतियोगिताका रूपमा रहेकाले यसको छुट्टै महŒव भएको बताए। पुलिसका कप्तान मञ्जित र मध्यमाञ्चलका कप्तान सुवेन्दुले नयाँ खेलाडीले प्रतिभा देखाउने मौका यस प्रतियोगिताले दिने बताए।

प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले १० लाख तथा सेमिफाइनलमा पराजित हुने बाँकी दुई टोलीले ५० हजार रुपैयाँका दरले पाउनेछन्। त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०/५० हजार तथा उदीयमान खेलाडीले २५ हजार रुपैयाँ नगद जित्नेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याच ५ हजार रुपैयाँको भागीदार बन्नेछन्।

मंगलबारको खेल

त्रिभुवन आर्मी क्लबविरुद्ध पूर्वाञ्चल

प्रकाशित: ९ जेष्ठ २०७४ ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App