६ वैशाख २०८१ बिहीबार
राजनीति

आकांक्षी धेरै हुँदा उम्मेदवारी टुंगो लागेन

सिरहा- पहिलो चरणको निर्वाचन सकिँदै गर्दा २ नम्बर प्रदेशमा चुनावी सरगर्मी तातेको छ। राजनीतिक दलले निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिएका छन्। टोलटोलमा भेला, सभा र बैठक हुन थालेका छन्। नेताहरू विकासे चुनावी नारा दिएर मतदाता आकर्षित गरिरहेका छन्।

निर्वाचन नजिकिँदै गर्दा घरघरमा पार्टीका झण्डा, चुनाव चिन्ह अंकित झण्डा फहराउन थालेका छन्। सबै पार्टीका चुनावी अभियान तीव्र भएको छ।

लहान, सिरहा, धनगढीमाई, मिर्चैया, सुखिपुर, कल्याणपुर नगरपालिका र ११ वटा गाउँपालिकाका लागि उम्मेदवारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगे पनि टुङ्गो लागि नसकेको पार्टी नेतृत्वले जनाएको छ।

'दुई तीन दिन भित्रै उम्मेदवारी टुंगो लाग्छ,' कांगे्रस सिरहा सभापति रामचन्द्र यादवले भने, ‘आकांक्षीको संख्या धेरै छ।’

प्रचारप्रसारमा नाम प्रस्ताव भएका उम्मेदवारहरू सामूहिकरूपमै घरदैलो गरिरहेका छन्।

लहान नगरपालिकाको प्रमुखमा कांग्रेसका ६ जनाले दाबी गरेपछि सिरहा कांग्रेसलाई उम्मेदवार टुंगो लगाउन सकस परेको छ। उम्मेदवारी दाबी गर्ने आधार, पार्टीमा गरेको लगानी र क्रियाशिलता सहितको अभिलेख वडा समितिबाट सिफारिसका आधारमा उम्मेदवार टुंगो लगाउने सिरहा कांग्रेसले जनाएको छ। 'दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले धेरै साथीहरू इच्छुक हुनु स्वाभाविक हो,' सभापती यादवले भने, 'उम्मेदवारीको टुङ्गो केही दिनमा लाग्छ।'

प्रचारप्रसारका लागि दलहरूले वडामा चुनावी समिति भने गठन गरेका छन्। शक्ति प्रदर्शनका लागि राजनीतिक दलले पार्टी प्रवेशका कार्यक्रमलाई प्राथमिकतामा पारेका छन्। अन्य पार्टी छोडेर आउने नेता तथा कार्यकर्तालाई दलहरूले उच्च सम्मानसाथ प्रवेश गराई रहेका छन्। कांग्रेस, एमाले, माओवादीबीच कार्यकर्ता प्रवेशको प्रतिस्पर्धा चलेको छ। 'हामी चुनावी प्रतिस्पर्धाका लागि तीव्र गतिमा प्रचारमै छौं,' एमाले सिरहाका अध्यक्ष प्रमोद यादव भन्छन्, 'टोलटोलमा प्रचार समिति गठन भइसकेको छ। घरदैलो कार्यक्रम भइरहेका छन्।'

माओवादी केन्द्रको जिल्ला कमिटी नभएको सिरहामा पोलिटब्यूरोले जिल्लाको कार्य सञ्चालन गर्दै आएको छ। पोलिटब्यूरो सदस्य जगतप्रसाद यादव भन्छन्, ‘अहिलेसम्म उम्मेदवार टुंगो लागिसकेको छैन।’ गाउँटोलमा प्रचार समिति गठन गरी चुनावी भेला, घरदैलो कार्यक्रम भइरहेको उनले बताए।

 जिल्ला निर्वाचन कार्यालय सिरहाका नायव सुब्बा दिलिप कुमार यादवका अनुसार जिल्लामा ३ लाख ३१ हजार ५ सय ५७ मतदाताले घोषित जेठ ३१ गत्तेको दोस्रो चरण निर्वाचनका लागि मतदान गर्दैछन्। निर्वाचन शिक्षाका लागि गाउँ गाउँमा निर्वाचन शिक्षा कार्यकर्ता खटाइसकिएको उनले जानकारी दिए। यहाँ ४ सय २६ मतदान केन्द्र र २ सय १९ मतदान स्थल तोकिएको यादवले बताए।

प्रकाशित: ९ जेष्ठ २०७४ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App