७ वैशाख २०८१ शुक्रबार
कला

मह जोडीले युरोपमा जे देखे

काठमाडौं— कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य करिब दुई महिनाको युरोप भ्रमण सिध्याएर नेपाल फर्किएका छन् । सांस्कृतिक कार्यक्रम लिएर दुई महिनाअघि युरोप पुगेका मह जोडीले १७ वटा देश घुम्न भ्याए।

माण्डवी त्रिपाठी, यमन श्रेष्ठ, मोहित आचार्य, रमिला आचार्य र नरेन्द्र कंसाकार समेत सम्मिलित टोली फिनल्यान्ड, जर्मनी, इटाली, फ्रान्स, स्लोभाकिया, स्वीजरल्यान्ड, नेदरल्यान्ड, डेनमार्क, पोल्यान्ड, स्विडेन, स्पेन, अस्ट्रिया, चेक गणतन्त्र, पोर्चुगल र बेल्जियम लगायत देश पुगेका थिए।

गैरआवासीय नेपाली संघ महिला फोरमले दुर्गम जिल्लामा सञ्चालन गरिरहेको पाठेघर खस्ने महिलाहरुको उपचारको सहयोगार्थ मह जोडीले युरोप यात्रा गरेका हुन् । झन्डै १२ वर्षपछि प्रहसन लिएर युरोप यात्रामा निस्किएका मह जोडीले विभिन्न सहरका नेपाली समुदायसँग अन्तत्र्रिmयाहरु चलाए । देशविकासमा जुट्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न उनीहरुले आग्रह गरेका थिए ।
‘१२ वर्षपछि खोला फर्किन्छ भनेझैं हामीले युरोपका १७ देशका २० भन्दा बढी सहरमा कार्यक्रम गरेका थियौं । हरेक देशमा नेपालीहरुको संख्या र स्तर बढेको देख्दा सुखी लाग्यो,’ मदनकृष्ण श्रेष्ठले भने, ‘तर विडम्बना विदेश पुगेका नेपालीहरु नेपालमा भन्दा बढी राजनीति गर्ने भएर गुट र उपगुट स्थापना गर्ने होडबाजी चलेको रहेछ ।’

‘अहिले नेपाललाई राजनीतिक नभएर आर्थिक विकासको आवश्यकता छ । युरोप भ्रमणमा भेटिएका ९० प्रतिशत नेपाली नेपाल फर्किएर देश विकासमा जुट्न चाहन्छन्,’ हरिवंश आचार्यले भने, ‘सन् २००२ मा जाँदा नेपाली विभिन्न होटलमा कामदारका रुपमा काम गरिरहेका थिए । अहिले होटल व्यवसायीका रुपमा स्थापित भएर युरोपको प्रतिष्ठित अवार्ड पाएर हजारौंको संख्यामा विदेशीलाई समेत रोजगारी दिइरहेका छन् ।’

जतिसुकै सहर पुगे पनि उनलाई एउटाबाट अर्को सहर खासै भिन्न लागेन । स्वीजरल्यान्डमा सहभागी सय नेपालीदेखि पोर्चुगल र बेल्जियममा आयोजित कार्यक्रममा सहभागी हजार हाराहारीका नेपाली दर्शकलाई मह टोलीले मनोरञ्जन दिलाए । कार्यक्रमको टिकट १० युरोदेखि २५ युरोसम्मको थियो ।
मह टोलीले पाठेघर खस्ने महिलाहरुको उपचारका लागि झन्डै पाँच लाख रुपैयाँ संकलन गरेका छन् । अध्ययन र रोजगारका लागि युरोप पुगेका नेपालीहरुले नेपालमा अवसरको अभाव भएको गुनासो मह जोडीसँग गरेका थिए ।
कागजात मिलाउन सजिलो भएकोले संख्यात्मक रुपमा पोर्चुगलमा भेटिएका नेपालीहरु व्यावसायिक रुपमा समेत सफल भएको उनीहरुले पाए । उनका अनुसार द्वन्द्वकालपछि युरोपमा पुगेका नेपालीहरुले होटल व्यवसायीको परिचय पाइसकेका छन् । त्यसबाहेक अन्तर्राष्ट्रियस्तरको आइटीसम्बन्धी कम्पनीको उच्च पदमा बसेर समेत नेपालीहरु काम गरिरहेका छन् ।
‘युरोपमा पनि समस्या छ । त्यहाँ राजनीतिका कुरा कम र आर्थिक विकास कुरा धेरै हुन्छ । हामीहरुले यो कुरा चाहिँ युरोपियन देशबाट सिक्नु आवश्यक छ,’ मदनकृष्णले भने । त्यसो त दुई महिना युरोप यात्रामा रहँदा उनी पत्नीको स्वास्थ्यलाई लिएर चिन्तित थिए । उनी क्यान्सरको केमो गराइरहेकी पत्नीलाई नेपालमा छाडेर छोरा यमनसहित युरोप भ्रमणमा निस्केका थिए ।
‘पार्टी हलदेखि भव्य थिएटरसम्ममा कार्यक्रमहरु ग¥यौं । विभिन्न पेशाका नेपालीहरु नेपाली भएर हाम्रो कार्यक्रममा आए । नेपालमा ससाना कुरामा झगडा गरेर बसे पनि विदेशमा देश प्यारो हुन्छ भन्ने कुरा युरोप यात्राको बेला महसुस गर्न पाएको थिए,ँ’ भावुक हुँदै हरिवंशले भने ।
विगत २५ वर्षदेखि बेल्जियममा व्यवसाय गरेर बसेका रजनी प्रधान र रविन्द्रमान श्रेष्ठले मह जोडीको युरोप यात्राको संयोजन गरेका थिए । यसअघि सन् २००२ को मह जोडीको युरोप भम्रण पनि उनीहरुले जुटाएका थिए ।
‘पाठेघर खस्ने महिलाहरुको उपचारको सहयोगार्थ गैरआवासीय नेपाली संघ महिला फोरमले झन्डै २० भन्दा बढी कार्यक्रमको आयोजना गरेको थियो,’ कार्यक्रम संयोजक रजनी प्रधानले भनिन्, ‘उठेको रकमको हिसाबकिताब आएपछि नेपालमा स्वास्थ्य शिविर सुरु गरिहाल्नेछौं ।’

प्रकाशित: ४ असार २०७३ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App