८ वैशाख २०८१ शनिबार
राजनीति

'अस्थिर सहर' मा अलमल

नेपालगन्ज- २०६४ को संविधानसभा निर्वाचनमा अत्यधिक मतसहित सभासद् विजयी सर्वदेव ओझाले २०७० को निर्वाचनमा ७७ मतमात्र ल्याए। निर्वाचन क्षेत्र उही थियो तर मतदाताको मन बदलिँदा उनी पराजित भए।

ओझाले दुई विपरीत अनुभूति संगालेको क्षेत्र हो– नेपालगन्ज, जहाँ अहिले स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। तर, कुनै दलप्रति प्रतिबद्ध नरहेका (नन–पोलिटिकल) र अस्थिर मतदाता बाहुल्य नेपालगन्जमा दलहरूलाई उम्मेदवार छान्न सकस भइरहेको छ। प्रमुख दल अस्थिर मतलाई आकर्षित गर्ने उम्मेदवार छनोटमा छन्।

नेपालगन्जका पूर्वमेयर विजय गुप्ता यहाँका जनतामा सबै दललाई मौका दिनुपर्छ भन्ने भावना रहेको बताउँछन्। यसले गर्दा स्थानीय निर्वाचन होस् वा आमनिर्वाचन, फरक दल र फरक व्यक्तिले जित्ने गरेका उनको भनाइ छ।

'नेपालगन्ज कुनै दलको अखडा होइन, जनताले चुनावको एक–दुई दिनअघि जसलाई रुचाउँछन्, उसैले जित्छ,' उनले भने, 'त्यसैले नेपालगन्जमा कुन दलले जित्छ भन्दा पनि कुन व्यक्तिले जनताको मन जित्छ उसैले परिणाम हात पार्छ।'

पछिल्ला संविधानसभा निर्वाचनको परिणामले पनि नेपालगन्ज सहर रहेको बाँके क्षेत्र नं. ३ का मतदाताले एउटै दललाई जिताएको देखिँदैन। २०६४ मा मधेसी जनअधिकार फोरमले जितेको नेपालगन्ज क्षेत्रमा २०७० मा कांग्रेसले जित्यो। स्थानीय निर्वाचनमा समेत २०४९ मा कांग्रेसले जित्यो भने २०५४ मा एमालेले।

नेपालगन्ज नगरपालिकामा साबिकका १० गाविस गाभिएर बनेको नेपालगन्ज उपमहानगरपालिकामा ६८ हजार मतदाता छन्। २०६६ देखि सात वर्ष एमालेको नगर अध्यक्ष रहेका (हाल उपमहानगर सचिव) दत्तप्रसाद आचार्यका अनुसार यहाँको करिब ४० प्रतिशत मत 'तटस्थ' छ। यही मत जता ढल्किन्छ, उतै पल्लाभारी हुन्छ।

मधेसी 'फ्याक्टर'

नेपालगन्जमा उम्मेदवार छनोटका क्रममा सबै दलले उत्तिकै चासोका साथ हेरेको विषय हो– मधेसी फ्याक्टर। पहिल्यैदेखि मधेसी समुदाय बाहुल्य नेपालगन्मा जयसपुर, पिप्रहवा, भवानीयापुर, उदयपुर, हिरमिनिया, परस्पुरजस्ता गाविस गाभिएपछि मधेसी मत अझ प्रभावशाली बनेको छ। तुलनात्मक रुपमा मधेसी मत 'ननपोलिटिकल' बढी हुने भएकाले यो मतलाई अहिले पनि निर्णायक रूपमा हेरिएको छ। यसअघिका चुनावमा पनि त्रिभुवनचोक (वडा नंं ८), एकलैनी (वडा नं. ३) जस्ता मधेसी बहुल क्षेत्र निर्णायक थिए।

पूर्वमेयर गुप्ता नेपालगन्जका अधिकांश मतदाता 'फलानो पार्टीलाई नै भोट दिन्छु' भनेर नबस्ने गरेका बताउँछन्। उनका अनुसार यस्ता मतदातालाई राजनीतिप्रति खासै चासो पनि छैन। यसो भन्दैमा मधेसी समुदायको मत मधेसी उम्मेदवारले नै ल्याउँछ भनेर आँकलन गर्नु गलत हुनेछ। 'चुनावको संघारमा माहोल कसको पक्षमा ढल्केको छ वा को लोकप्रिय छ भन्ने कुरा बढी महŒवपूर्ण हुन्छ,' उनी भन्छन्, 'त्यसैले मधेसी उम्मेदवार भन्दैमा मधेसी मत ल्याइहाल्छ भन्नु गलत हो।'

एमाले उपमहानगर सचिव आचार्य भने धेरै मतदाता रहेका वडामा मधेसी मतदाता कम हुँदा यसले परिणामलाई खासै फरक नपार्ने बताउँछन्। उनका अनुसार सबैभन्दा बढी मतदाता रहेको मनिकापुर क्षेत्र (वडा नं. २०), जो पछिल्लो संरचनामा उपमहानगरमा गाभिएको छ, त्यहाँ पहाडी समुदायको बाहुल्य छ। धम्बोझी (वडा नं. १), गणेशपुर (वडा नं. ५), कोरियनपुर (वडा नं. १२) जस्ता धेरै मतदाता रहेका वडामा पनि पहाडी समुदायको बढी बसोबास छ। 'यद्यपि यी मत कुनै न कुनै दलप्रति प्रतिबद्ध हुने भएकाले परिणामलाई खासै असर पार्दैनन्,' उनको भनाइ छ, 'परिणाम प्रभावित पार्ने भनेको त राजनीतिप्रति चासो नराख्ने तटस्थ मत नै हुन्।'

उम्मेदवार छान्न सकस

मतदाताको मनस्थिति बुझ्न नसक्दा नै अहिले प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। राप्रपाले मात्र पूर्वमेयर (२०५४ मा एमालेबाट निर्वाचित) धवलशमशेर राणालाई घोषणा गरेको छ। एमाले जिल्ला कमिटीले पूर्वउपमेयर समसुद्धिन सिद्धिकी २०७० को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका विजय गुप्ता र उपमहानगर सचिव दत्तप्रसाद आचार्यको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ। 'कामको मूल्यांकन, विगतमा भएको अवसरको वितरण र क्षमताका आधारमा प्रदेशले छिट्टै टुंगो लगाउने अपेक्षा गरेका छौं,' सचिव आचार्यले भने, 'यो अलमल अब धेरै लम्बिँदैन होला।' वडाका उम्मेदवारको भने एकदुई दिनमै टुंगो लाग्ने तयारी भइरहेको उनले बताए।

कांग्रेस अझ बढी अलमलमा छ। कांग्रेसबाट महाधिवेशन प्रतिनिधिसमेत रहेका नेपालगन्ज मेडिकल कलेजका सञ्चालक सुरेशकुमार कनोडिया, नेपालगन्जका पूर्वउपमेयरद्वय सुरेन्द्र हमाल, निजामुद्धिन सिद्धिकीलगायतको नाम चर्चामा छ। पार्टी जिल्ला सभापति किरण कोइरालाले आकांक्षी सबैको नाम केन्द्रमा पठाएको जानकारी दिइन्। 'धेरैले इच्छा देखाएका छन्, कसको नाम काट्ने, कसको नाम राख्ने?' उनले भनिन्, 'त्यही भएर हामीले सबैको नाम माथि पठाइदिएका हौं।' वडा र गाउँपालिकाको भने जिल्लाबाट नाम टुंग्याउने प्रयास भइरहेको उनले बताइन्।

प्रकाशित: ९ जेष्ठ २०७४ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App