coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

१४ वर्षपछि नगरपालिकामा जनप्रतिनिधी

सुर्खेत- १४ वर्ष १० महिना ६ दिनपछि वीरेन्द्रनगर नगरपालिकाले अभिभावकका रुपमा जनप्रतिनिधी पाएको छ। बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालले सोमबारदेखि पदभार ग्रहण गरेसँगै नगरपालिकाले वर्षौपछि अभिभावक पाएको हो।

नगर प्रमुख सुवेदीले नयाँ घरको नक्सापासको फाइल र उपमेयर ढकालले जग्गा विवादको फाइलमा हस्ताक्षर गरेर कार्यभार सम्हाले। ‘सबैका चुनावी एजेण्डालाई समेटेर वीरेन्द्रनगरलाई समृद्ध र नमूना नगर बनाउने अभियानमा लाग्नेछु’ कार्यभार सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिँदै सुवेदीले भने, ‘वीरेन्द्रनगरलाई प्रदेशको मात्रै होइन्, देशकै नमूना नगरपालिका बनाउने छौं ।’ उनले आफूले बाल्यकालदेखि देखेको सपना कार्यान्वयन गर्ने ठाउँमा पुगेको भन्दै ति सपनालाई पूरा गर्न अहोरात्र खट्ने दावी गरे।

उनले तत्कालका जनताका समस्या समाधान गर्दै दीर्घकालिन योजना निर्माणमा लाग्ने बताए। ‘वीरेन्द्रनगरमा धेरै गाविसहरु गाभिएका छन्, ति सबैलाई समेटेर पहिले गुरुयोजना निर्माण गर्नु आवश्यक छ’ उनले भने, ‘गुरुयोजना अनुसार नगरको समृद्धिको बाटोमा हामी अघि बढ्छौं।’ उनले चुनाव लाड्दा जुनसुकै पार्टीबाट लडेपनि विजयी भएपछि सबैको साझा व्यक्ति भएको भन्दै सोही अनुसार आफूले काम गर्ने बताए ।

उपप्रमुख ढकालले निर्वाचनमा गरेका बाचार पूरा गर्दै लक्षित वर्गको उत्थानमा आफू क्रियाशिल रहने बताइन् । ‘पाँच वर्षभित्र समृद्ध शहर बनाउने योजनाका साथ हामी अघि बढ्छौं’ उनले भनिन्, ‘यसका साथै तत्काल देखिएका समस्याहरुलाई पनि समाधान गछौं ।’ उनले खानेपानीको समस्या समाधान गर्दै महिला, दलितलगायतका लक्षित वर्गको उत्थानमा आफू क्रियाशिल रहने बताइन्।

नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल नगरपालिकाले लामो समयपछि अभिभावक पाउँदा आफूहरु खुशी भएको बताए । ‘१४ बर्ष १० महिना ६ दिनपछि हामीले अभिभावक पाएका छौं’ उनले भने, ‘नगर प्रमुख र उपप्रमुखको निर्देशन अनुसार हामी अघि बढ्छौं ।’

पदभार ग्रहणअघि जिल्ला समन्वय समितिमा पदभार ग्रहण गरिएको थियो । मूख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले नगरप्रमुख सुवेदी, उपप्रमुख ढकाल र वीरेन्द्रनगरका १६ वटा वडाका वडा अध्यक्षलाई सपथ खुवाएका थिए भने सदस्यहरुलाई नगरप्रमुख सुवेदीले सपथ खुवाएका थिए।

कार्यक्रममा मूख्य निर्वाचन अधिकृत सुवेदीले निर्वाचितहरुलाई मदिरादेखि टाढा रहन सुझाव दिए । ‘यसो गर्न सक्नु भयोभने आधा समस्याको त्यसै समाधान हुन्छ’ उनले भने, ‘यो अहिलेको जल्दोबल्दो समस्या पनि हो ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नेपाली कांग्रेसका सभापति कमलराज रेग्मी, नेकपा एमालेका उपाध्यक्ष अमृत विसी, माओवादी केन्द्रका दानसिंह सुनार, राप्रपाका अध्यक्ष मानबहादुर खड्का, नयाँ शक्ति नेपालका प्रचण्ड पोखरेललगायले बोलेका थिए ।

यसैबीच, सुर्खेतका पाँच नगरपालिका र चार गाउँपालिकाका निर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहण गरेका छन् । ३१ गते भएको निर्वाचनमा चार नगरपालिका र दुई गाउँपालिकामा नेपाली कांग्रेस र एक नगरपालिकासहित दुई गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो ।

 

 

प्रकाशित: ८ जेष्ठ २०७४ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App