coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वडामा कान्छी क्रान्तीको उम्मेदवारी

रुपाकोट मझुवागढी नगरपालिका–८को वडा सदस्य उम्मेदवार क्रान्ती श्रेष्ठ । तस्बिर : दमन राई

खोटाङ – अढाई वर्षको छँदै सशस्त्र द्वन्द्वकालमा बुवा गुमाएकी खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाकी २२ वर्षीय क्रान्ती श्रेष्ठले वडा सदस्यमा उम्मेदवारी दिएकी छिन् । 

माओबादी आन्दोलनको क्रममा ज्यान गुमाएका ठूलकुमार श्रेष्ठकी कान्छी छोरी क्रान्तीले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा सदस्यमा उम्मेदवारी दिएकी हुन् । क्रान्तीलाई शहीद परिवारको रुपमा माओवादी केन्द्रले खुला महिला वडा सदस्यमा टिकट दिएको हो । 

२०५५ साल पुस २७ गते मारिएका ठूलकुमार जिल्लामा माओवादी जनयुद्ध सुरुवात गर्ने र जनयुद्धका क्रममा ज्यान गुमाउने पहिलो खोटाङ्गे हुन् । पार्टीको कार्यक्रमको सिलसिलामा खोटाङबाट उदयपुरको कटारी जानेक्रममा ठूलकुमारको उदयपुरको तावाश्रीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । दुधे बच्चा रहेकै अवस्थामा बाबु गुमाएकी क्रान्तीलाई बाबुको अनुहारको याद छैन् । घरमा भएको फोटोको आधारमा मात्र उनी आफ्नो बाबुको अनुहार अनुमान गर्छिन् । बाबुको मृत्युपछि क्रान्ती सहित उनका दुई दिदीलाई आमा शान्ती श्रेष्ठले लालनपालन गरेर हुर्काएकी हुन् । 

हाल दिक्तेल बहुमुखी क्याम्पसमा बिए दोश्रो वर्षमा अध्ययनरत क्रान्ती सम्भवतः वडा सदस्यमा टिकट पाउने कान्छो उम्मेदवार हुन् । मुलुक परिवर्तनको सपना बोकेर जनयुद्धमा होमिँदा ज्यान बलिदान गरेका शहीदको सपना पूरा गर्न र द्वन्द्वकाक्रममा सिन्दुर पुछिएका महिला, बाबुआमा गुमाएका बालबच्चा लगायतको पक्षमा काम गर्नका लागि स्थानीय तहमा उम्मेदवारी दिएको उनले बताइन् । ‘द्वन्द्व कालमा हजारौं आमाको सिन्दुर पुछिएको छ, हजारौं छोराछोरी टुहुरा टुहुरी भएका छन्,’ क्रान्तीले भनिन्, ‘शहीदको सपना पूरा गर्न बाँकी नै छ, महिला सशक्तीकरणको पक्षमा पनि काम गर्नु छ । यही उद्देश्य पुरा गर्न उम्मेदवारी दिएकी हुँ ।’ 

रुपाकोट मझुवागढी नगरपालिका–८ मा माओवादी, कांग्रेस र संघीय समाजवादीको चुनावी तालमेल छ । वडा अध्यक्षमा कांग्रेसका गोपालसिंह राई उठेका छन् । संयुक्त प्यानलमा माओवादीकातर्फबाट क्रान्ती र रेजिना परिवार, संघीय समाजबादीकातर्फबाट गजेन्द्र राई सदस्यका उम्मेदवार छन् । यस्तै, कांग्रेसकातर्फबाट कृष्णकुमारी कठायत वडा सदस्यका उम्मेदवार छिन् । 

 

प्रकाशित: ८ जेष्ठ २०७४ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App