coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दुई बुँदे सहमतिपछि पोखरा–लेखनाथको गणना दुई बजेदेखि

पोखरा – फरक आकारको स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि रोकिएको पोखरा–लेखनाथ महानगरपालिकाको गणना दिउँसो दुर्इ बजेदेखि सुरु हुँदैछ । महानगरको १७ नम्बर वडामा ठूलो आकारको स्वस्तीक छापसहित भेटिएका मत फर्जी रहेको भन्दै कांग्रेस र माओवादी केन्द्र लगायतका दलले विरोध गरेपछि शनिबार दिउँसो चारबजेदेखि गणना रोकिएको थियो ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकले विवादित १७ नम्बर वडाको गणना रोकेर बाँकी वडाको मत गन्न सहमति गरेका हुन् । १७ नम्बर वडाको मतका लागि निर्वाचन हुँदा ताकाको मुचुल्का हेर्ने गरी सहमति भएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । 

‘दिउँसो दुई बजेदेखि गणना सुरु गर्न दलहरु सहमत भएका छन्,’ उनले भने । उनका अनुसार विवाद सल्टाउन दलहरुबीच दुईबुँदे सहमति भएको छ । दुई बजेदेखि गणना सुरु गर्ने र १७ नम्बर वडाका लागि पुरानो मुचुल्का हेर्न दलले सहमति गरेको उनले बताए । 

शनिबार बेलुकीदेखि रोकिएको गणना सुचारु गराउन आइतबार दिनभर पहल भएपनि सफल हुन सकेको थिएन । सर्वदलीय बैठक बसेर पनि टुंगो लगाउन सकेको थिएन । रोकिएको गणना सुचारु गराउन शनिबार बेलुकी र आइतबार बिहान सर्वदलीय बैठक बसेपनि सहमति भएर गणना सुरु हुन नसकेपछि आवश्यक निर्देशनका लागि निर्वाचन आयोगमा पठाईएको थियो । 

आयोगले जवाफमा निर्वाचनका लागि प्रयोगमा ल्याएको मपतत्र र मतदान अधिकृतको हस्ताक्षर मिलेको खण्डमा गणना नरोक्नु भन्ने निर्देशन दिएपनि विरोधमा रहेका दलहरुले मानेका थिएनन् । त्यसपछि सोमबार पुन सर्वदलीय बैठक बसेको थियो । त्यही बैठकले नयाँ सहमति गर्दै गणना गर्ने तयारी थालिएको हो । 

 

प्रकाशित: ८ जेष्ठ २०७४ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App