८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

काठमाडौँ – नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको समीक्षा गरेको हो । 

पार्टी एकता भए पनि सङ्गठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो । 

बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५०० भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरु आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ । 

बैठकले सङ्ख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट सङ्ख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ । 

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताए । 

बैठकले पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ । 

बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट प्रभावकारी रुपमा कार्ययोजना बनाउने र छिटै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिए । रासस 

प्रकाशित: ८ जेष्ठ २०७४ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App