८ वैशाख २०८१ शनिबार
खेल

नेपाल मलेसिया मैत्रीपूर्ण खेल : नतिजा सुधार्ने लक्ष्य

काठमाडौं- राष्ट्रिय महिला फुटबल टोलीले सोमबार मलेसियासँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दै छ। पाँच महिनाअघि नेपाल र मलेसियाबीच सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पछिल्लो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई १–० को नतिजामा हराएको थियो।

सावित्रा भण्डारीले गरेको गोलबाट पाहुना टोलीमाथि नेपालले जित हासिल गरेको थियो। नेपाल यस पटक मलेसियाको घरेलु मैदानमा खेल्दै छ। खेल मलेसियाको कोटा किनाबालुस्थित सबाव रंगशालमा हुनेछ। दोस्रो खेल पनि बुधबार सोही रंगशालामा खेलिनेछ।

नेपालले गत वर्ष साफ च्याम्पियनसिपको तयारीको क्रममा मलेसियालाई मैत्रीपूर्ण खेल खेल्न बोलाएको थियो। यस पटक मलेसियाले पनि नेपाललाई घरेलु मैदानमा हुन लागेको एसइए खेलकुदको तयारी बलियो बनाउने उद्देश्यले बोलाएको हो। एसइए खेलकुद अगस्ट १५ देखि ३० सम्म हुनेछ।

सुरुमा मलेसियाले नेपालसँग एउटा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो। तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियासँग दुई खेल खेल्ने प्रस्ताव राख्यो। नेपालको प्रस्तावलाई मलेसियाले स्वीकार गरेपछि दुई खेल खेल्ने निर्णय भएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए।

मैत्रीपूर्ण खेललाई नेपाल र मलेसिया दुवैले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका रूपमा लिएका छन्।

मलेसिया घरेलु मैदानमा गतिलो नतिजा हासिल गर्ने लक्ष्यमा छ। तयारीमा उर्जा थप्न सुखद नतिजा निकाल्ने उदेश्यका साथ मलेसियाले सुरुआतमा दक्षिण एसियाको बलियो टोली नेपाललाई मैत्रीपूर्ण खेलका लागि रोजेको हो। नेपालपछि सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको मलेसियन फुटबल टोलीका प्रशिक्षक मोहदासिराफ फोग अब्दुल्लाहले बताए। 

नेपालको साफ च्याम्पियन्स बन्ने लक्ष्य अन्तिम बिन्दुमा गएर रोकिने गरेको छ। साफ च्याम्पियनसिपको सुरुआती तीन संस्करणमा नेपाल फाइनलमा पुगेेर भारतसँग पराजित भएको थियो। साफ च्याम्पियनसिपको तयारी बलियो बनाउन मैत्रीपूर्ण खेलले सहयोग गर्ने नेपाली टोलीका प्रशिक्षक थापाले बताए।

आइतबार पत्रकार सम्मेलनमा थापाले नेपाल पुरानो नतिजामा सुधार गर्ने प्रयासमा रहेको बताए। उनले थपे, 'मलेसियाविरुद्ध खेलमा हामी दबाबमा छैनौं। यसअघि मलेसियालाई हराइसकेका छौं। तर हामी राम्रो खेल खेल्ने कोसिस गछर्ौं। मैत्रीपूर्ण खेललाई हामीले साफ च्याम्पियनसिपको तयारीको रूपमा लिएका छांै।'

गत वर्ष साफ च्याम्पियनसिप खेलेकामध्ये एक खेलाडीबाहेक अन्य सबैले मलेसिया जाने टोलीमा निरन्तरता पाएका छन्। मैत्रीपूर्ण खेल खेल्न दुई दिनअघि मलेसिया पुगेको नेपालले शनिबार र आइतबार करिब एक घण्टा अभ्यास गरेको थियो। यसै गरी मलेसियाले पनि नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि आफू पूर्ण रूपमा तयार भएको बताएको छ। मलेसियाका प्रशिक्षक अबदुल्लाहले यसअघि नेपालविरुद्ध खेलेको टोलीका ९ खेलाडीलाई निरन्तरता दिएका छन्।  अबदुल्लाहलेे भने, 'नेपाल बलियो टोली हो। हामीलाई थाहा छ नेपालको बलियो पक्ष। नेपालविरुद्धको खेलबाट हामीलाई फाइदा हुनेछ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोली बलियो बनाउन मैत्रीपूर्ण खेलले सहयोग गर्नेछ। नेपाललाई हराउन सके हाम्रो टोलीको मनोबल उच्च हुनेछ।'

फिफाको वरीयतालाई आधार मान्ने हो भने मलेसिया नेपालभन्दा बलियो टोली हो। नेपाल ९५औं स्थानमा रहँदा मलेसिया ७९औं स्थानमा छ्। नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि तीन साता अघिदेखि तयारी गरेको प्रशिक्षक अबदुल्लाहले बताए।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App