८ वैशाख २०८१ शनिबार
खेल

आर्सनल बीस वर्षपछि असफल

लन्डन- जोन टेरीले इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीको जर्सीमा अन्तिम खेल खेलेको दिन आर्सनल लगातार २०औं पटक च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने लक्ष्यमा असफल भएको छ।

प्रिमियर लिग सिजनको अन्तिम दिन सबै खेल एकै समयमा खेलाइँदा आइतबार घरेलु मैदानमा एभर्टनमाथि ३–१ को जित हासिल गरे पनि दबाबमा रहेका प्रशिक्षक आर्सेन वेंगरको टोलीलाई आगामी सिजनको च्याम्पियन्स लिगको टिकट काट्न पर्याप्त भएन। निकट प्रतिद्वन्द्वी लिभरपुलले एन्पि्कल्डमा मिडिल्सब्रोमाथि ३–० को नतिजा निकालेपछि शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगलाई स्थान पक्का गर्ने आर्सनलको लक्ष्य असफल भएको थियो।

प्रिमियर लिगबाट शीर्ष तीन टोलीले सोझै आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पाउँछन्। प्रिमियर लिगमा चौथो हुने टोलीले युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा स्थान बनाउनका लागि प्लेअफको सहारा लिनुपर्छ। मिडिल्सब्रोमाथिको जितपछि आर्सनललाई १अंकले पछि पार्दै लिभरपुलले प्लेअफमा स्थान सुरक्षित गर्‍यो। चेल्सीले विजेता तथा टोटेनह्यामले उपविजेताका रूपमा यसअघि नै च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका थिए भने म्यानचेस्टर सिटीले आइतबारै वाट्फोर्डलाई ५–० को नतिजामा निराश पारेर तेस्रो स्थान हासिल गरेको थियो।

आइतबारका खेलसँगै जारी सिजनको प्रिमियर लिग सकिँदा चेल्सीले ९३ अंक जोड्यो भने टोटेनह्यामको खातामा ८६ अंक पुगेको छ। यसै गरी सिटीले ७८ अंक जोड्दा लिभरपुलले ७६ अंक बटुलेको छ। आर्सनल ७५ अंकमा सीमित हुँदा अर्को महारथी म्यानचेस्टर युनाइटेड ६९ अंकका साथ छैटौं स्थानमा छ। आर्सनल र युनाइटेडले आगामी सिजन सोझै युरोपा लिग खेल्नेछन् भने ६१ अंकका साथ सातौं स्थानमा रहेको एभर्टनले युरोपा लिगको प्लेअफ खेल्नेछ। युनाइटेडले भने जारी सिजनको युरोपा लिग फाइनलमा सेल्टा भिगोमाथि जित हासिल गरे आगामी सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछ। हल सिटी, मिडिल्सब्रो र सन्डरल्यान्ड पुछारका तीन स्थानमा सीमित हुँदै रेलिगेसनमा पर्ने आइतबारका खेलअघि नै निर्णय भइसकेको थियो।

घरेलु स्टामफोर्ड ब्रिजमा कप्तान टेरीले चेल्सीका लागि अन्तिम खेल खेलेको दिन उनको टोली सन्डरल्यान्डमाथि ५–१ को जित हासिल गर्न सफल भयो। २६ नम्बरको जर्सी लगाउने टेरीको सम्मानमा उनलाई २६औं मिनेटमै बाहिर निकाल्दा घरेलु समर्थकले उठेर अभिवादन गरेका थिए। उनलाई ग्यारी काहिलले स्थानान्तरण गरेका थिए।

च्याम्पियन टोलीको सिजन जितका साथ अन्त्य गराउने क्रममा आइतबार मिची बात्सुईले दुई गोल गरे भने विलियन, इडेन हाजार्ड र पेड्रो रोडरिग्वेजले एक/एक गोल गरेका थिए।

उता इमिरेट्स रंगशालामा १० खेलाडीमा सीमित हुनाका बावजुद वेंगरको आर्सनलले एभर्टनमाथि ३–१ को विजयी नतिजा निकाल्दै च्याम्पियन्स लिगलाई छानिने आशा जीवित राखेको थियो। आठौं मिनेटमा हेक्टर बेलेरिनको गोलमा अघि बढेको आर्सनल त्यसको ६ मिनेटपछि ठूलो धक्का बेहोर्न बाध्य भएको थियो। लाउरेन्ट कोस्सिल्नीले सोझै रातो कार्ड सामना गरेपछि टोली ७६ मिनेट १० खेलाडीमा सीमित भएर खेलेको थियो। तर एलेक्सिस सान्चेजले २७औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारे। एभर्टनका रोमेलु लुकाकुले ५८औं मिनेटमा एक गोल फर्काए पनि आरोन रामसेले अन्तिम मिनेटमा गोल गरेर आर्सनलको जित फराकिलो पारे।

आर्सनललाई निराश पार्ने क्रममा लिभरपुलले घरेलु मैदानमा मिडिल्सब्रोलाई हराउँदा जर्जियो विज्नाल्डम, फिलिप कौटिन्हो र एडम लालानाले गोल गरे।

आइतबारै जोस हारोप र पाउल पोग्बाको गोलमा युनाइटेडले क्रिस्टल प्यालेसमाथि २–० को जित दर्ता गरायो भने सिटीको फराकिलो जितमा सर्जियो अग्वेरोले दुई तथा भिन्सेन्ट कोम्पनी, फर्नान्डिन्हो र ग्याब्रिअल जिससले एक/एक गोल गरे। दोस्रो स्थान पक्का गरिसकेको टोटेनह्यामले हल सिटीविरुद्धको अवे खेलमा ७–१ को रबाफ जमायो। ह्यारी केनको ह्याटि्रकमा प्राप्त सफलतामा डेले अली, भिक्टोर वान्यामा, बेन डेभिस र टोबी एल्डरविरडका एक/एक गोल पनि समावेश थिए।

प्रिमियर लिग सिजनको अन्तिम दिन सम्पन्न अन्य खेलमा वेस्ट ह्यामले बर्नलीमाथि २–१ को नतिजा निकाल्दा साबिक विजेता लेस्टर सिटीले बर्नमाउथसँग १–१ को बराबरीमा चित्त बुझायो। यसै गरी स्टोकले साउथह्याम्पटनलाई १–० तथा स्वान्सीले वेस्ट ब्रोममाथि २–१ को जित हासिल गरे।

अघिल्लो सिजन आश्चर्यजनक रूपमा प्रिमियर लिगको उपाधि जितेको लेस्टर यसपालि उपाधि रक्षा अभियानमा खरो उत्रिन नसक्दा ४४ अंकका साथ १२औं स्थानमा सीमित भएर सिजन अन्त्य गर्नमा चित्त बुझायो।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App