coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युभेन्ट्सलाई कीर्तिमानी उपाधि

रोम- रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको क्रोटोनीमाथि ३–० को विजय हासिल गरेपछि युभेन्ट्सले एक खेलअगावै लगातार छैटौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने कीर्तिमान कायम गरेको छ।

लिगमा एक खेल बाँकी रहँदा साबिक विजेता युभेन्ट्सले दोस्रो स्थानको एएस रोमामाथि ४ अंकको स्पष्ट अग्रता लिएको छ। युभेन्ट्सले ८८ अंक जोड्दा रोमासँग ८४ अंक छ। तेस्रो स्थानमा रहेको नेपोलीले ८३ अंक जोडेको छ।

१९२९ मा इटालियन सिरी ‘ए’ स्थापना भएयता कुनै पनि टोलीले लगातार छैटौं पटक लिग उपाधि जित्न सकेको थिएन। यसअघि टोरिनोले १९४३ देखी १९४९ सम्म (दोस्रो विश्वयुद्धका कारण बीचमा खेल रोकिएको), इन्टर मिलानले २००६ देखि २०१० सम्म र  युभेन्ट्सले १९३१ देखि १९३५ सम्म लगातार पाँच पटक उपाधि जितेका थिए।

घरेलु मैदानमा मारियो मान्जुभिचले १२औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। उनले जुवान कोर्डाडोको पासलाई पोस्टको दिशा दिएका थिए। ३९औं मिनेटमा पाउलो डिवालाले अग्रता दोब्बर बनाए भने खेल सकिन ७ मिनेट बाँकी रहँदा एलेक्स सान्ड्रोले अर्को गोल गरेपछि युभेन्ट्सले कीर्तिमानी छैटौं पटक लिग उपाधि पक्का गरेको हो। दुई दिनअघि राजधानीमा लाजियोलाई २–० ले हराउँदै इटालियन कपको उपाधि उचालेको युभेन्ट्सले आइतबार लिग उपाधि जितेको छ। जारी दुई घरेलु उपाधि जितिसकेको युभेन्ट्सले जुन ३ मा च्याम्पिन्स लिग उपाधिका लागि रियाल मड्रिडविरुद्ध खेल्नेछ।

३७ खेलबाट ३१ अंक जोडेको क्रोटोनी भने रेलिगेसनबाट जोगिनका लागि संघर्ष गरिरहेको छ। क्रोटोनीभन्दा एक स्थान माथि रहेको इम्पोलीसँग ३२ अंक छ। घरेलु मैदानमा एटलान्टालाई १–० को नतिजा सुम्पिएपछि इम्पोलीले अर्को सिजन सिरी ‘ए’ खेल्ने पक्का गर्नका लागि अन्तिम खेल जित्नै पर्ने भएको छ। गर या मरको खेलमा इम्पोलीले पालेर्मोको भ्रमण गर्नेछ। पाँचौं स्थानमा रहेको एटलान्टाले भने युरोपा लिग खेल्ने भएको छ।

मोहम्मद सलाह र स्टेफन एल सारावीको दुई–दुई तथा इडेन जेकोको एक गोल गरेपछि दोस्रो स्थानको रोमाले शनिबार किइभो भेरोनालाई ५–३ ले पराजित गर्‍यो।

शनिबारै तेस्रो स्थानको नेपोलीले फियोरेन्टिनालाई ४–१ को नतिजामा हराएर दोस्रो स्थानको रोमासँगको दूरी एक अंकमा झार्दै दोस्रो स्थानमा रहेर स्वतः च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेपछि लुसानियो स्पालेटीको टोली खेल गुमाउने पक्षमा थिएन।

खेलमा अग्रता भने किइभोले लिएको थियो। १५आंै मिनेटमा लुकास नाह्युल क्यास्ट्रोले रोबर्टाे इङ्लिसको पासमा गरेको गोलमा किइभोले अग्रता लिएको थियो।

२८औं मिनेटमा एल सारावीको गोलमा रोमा खेलमा फर्किएको थियो। उनले फेड्रिको फाजियोको पासलाई पोस्टको दिशा दिएका थिए।

३७आंंै मिनेटमा भाल्टर ब्रिसाको पासमा इङ्लिसले गरेको गोलमा किइभोले पुनः अग्रता लिएको थियो। तर मध्यान्तर हुन २ मिनेट बाँकी रहँदा केभिन स्ट्रुटम्यानको पासमा मोहम्मद सलाहले गोल गर्दै रोमालाई खेलमा फर्काएका थिए।

५८औं मिनेटमा स्ट्रुटम्यानको पासमा सारावीले गोल गरेपछि रोमाले अग्रता लिएको थियो। ७६औं मिनेटमा जेकोको पासमा सालाहले गोल गर्दै खेल ४–२ मा पुर्‍याएका थिए। ८३औं मिनेटमा जेकोले गोल गर्दै रोमालाई सहज जिततर्फ डोर्‍याएका थिए।

खेल सकिन ४ मिनेट बाकी रहँदा सर्जियो पिल्लेरियरको पासमा गोल गर्दै इङ्लिसले किइभोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

सिजनको २७औं जितपछि ३७ खेलको समाप्तिमा ८४ अंक जोडेको रोमा दोस्रो स्थानमा यथावत् छ। समान खेलबाट ४३ अंक जोडेको किइभो १४औं स्थानमा छ।

यता नेपल्समा सम्पन्न खेलमा नेपोलीले फियोरेन्टिनालाई  पराजित गर्दै दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गर्ने सम्भावना जीवित राखेको थियो। ३७ खेलको समाप्तिमा ८३ अंक जोडेको नेपोली तेस्रो स्थानमा यथावत् छ भने समान खेलबाट ५९ अंक जोडेको फियोरेन्टिना सातांै स्थानमा यथावत् छ।

चौथो मिनेटमा सेनेगलका रक्षक किल्डोउ कौलिबेलेको गोलमा नेपोलीले अग्रता लिएको थियो। ३५औं मिनेटमा लोरेन्जो इन्जाघीले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारेका थिए।

दोस्रो हाफमा द्रिइस मार्टिन्सले गरेको दुई गोलमा नेपोलीले सहज जित हात पारेको हो। किइभोका जोसेफ लिजिकले गोल सान्त्वना गोल गरेका थिए।

यस हारपछि फियोरेन्टिना युरोपा लिगमा छनोट हुने सम्भावना थप पातलिएको छ।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App