८ वैशाख २०८१ शनिबार
राजनीति

आज राप्रपाको समीक्षा बैठक

काठमाडौं- पहिलो चरणको निर्वाचनमा अनपेक्षित परिणाम आएपछि त्यसबारे समीक्षा गर्न सोमबार कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। बैठकमा चुनावमा पार्टी पराजय हुनुको कारणबारे छलफल हुने राप्रपाका नेताले बताएका छन्। अन्तरघात गर्ने कार्यकर्ता र चुनाव अवधिमा निष्त्रि्कय बस्ने केन्द्रीय नेतामाथि कारबाही प्रक्रियाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

नेता पशुपतिशमशेर राणाले पहिलो चरणको चुनावमा राप्रपाले सोचेजस्तो परिणाम ल्याउन नसक्नुका चार कारण देखाएका छन्। 'चुनाव चिह्न हलो छाडेर गाई छानियो। पार्टी पराजय हुने यो एउटा कारण हो। यसैगरी सिन्धुपाल्चोकलगायतका विभिन्न ठाउँमा व्यापक अन्तरघात भयो,' राणाले भने, 'यसैगरी जुन समय राप्रपाले सरकार छाड्यो, त्यो उपयुक्त थिएन।' उम्मेदवारलाई केन्द्रले साधनस्रोत उपलब्ध नगराउनु पनि पार्टी पराजय हुनुको अर्को कारण भएको उनले बताए।  अर्का एक नेताले प्रकाशचन्द्र लोहनीलगायतका केन्द्रीय नेताले राप्रपा छाडी नयाँ पार्टी एकीकृत रापप्रा (राष्ट्रवादी) बनाएपछि पनि पार्टीलाई घाटा लागेको बताए। पुरानो राप्रपा नेपालका नेताले भने चुनाव चिह्नका कारण पार्टीलाई नोक्सानी नभएको दाबी गरेका छन्। 'पार्टी पराजय हुनुमा चुनाव चिह्नको कारणले होइन। गाई चिह्नप्रति जनताको समर्थन छ,' राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले भने।

राप्रपाले  अन्य पार्टीसँग गरेको तालमेल पनि फलदायी नभएको  उनले बताए। उनले भने, 'पहिलो चरणको चुनाव हाम्रा लागि अनेपक्षित हुनुको कारण खोज्दैछौं,' उनले भने।

राप्रपाले धादिङको रुबी भ्याली गाउँपालिका प्रमुख तथा डोल्पाको ठूली भेरी, म्याग्दीको बेनी नगरपालिका तथा बाग्लुङको बाग्लुङ नगरपालिकामा उपमेयरमा मात्र चुनाव जितेको छ।

प्रकाशित: ८ जेष्ठ २०७४ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App