८ वैशाख २०८१ शनिबार
राजनीति

मतपत्रमा नोट भेटिएपछि...

सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिकाको मतगणना गर्ने क्रममा मतपत्रभित्र नोट भेटिएको छ। उक्त गाउँपालिका–८, र ११ नम्बर वडाको आइतबार मतगणना गर्ने क्रममा मतपत्रसँगै नोट भेटिएको हो। मतपत्रमा नोट भेटिएपछि त्यसलाई सदर या बदर गर्ने भन्ने विवादले केहीबेर मतगणना नै रोकिएको थियो।

                वडा नम्बर ७ सम्मको मतगणना सकेर ८ को थालेपछि एकपछि अर्को गर्दै मतपत्रमा नोट फेला परे। यो क्रम ११ नम्बर वडा पुग्दासम्म देखियो । तीन मतपत्रमा ५, १० र २० रुपैयाँका नोट फेला परेका थिए । यो गाउँपालिकाका मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस, एमाले र माओवादी केन्द्रका चुनाव चिह्नमा छाप लगाइएका मतपत्रमा नोट भेटिएका हुन्।

                नोट भेटिएपछि त्यसलाई के गर्ने भन्ने विवादले केही समय मतगणना नै प्रभावित भएको थियो। भोट पाउन दलका प्रतिनिधिले मत सदर गर्न माग गरेपछि विवाद भएको थियो। एक ठाउँको विवाद सल्टँदा पुनः नोट भेटिने क्रमले उही विवाद निम्त्याएको थियो । अर्कोको चिह्नमा नोट भेट्दा मतपत्र नै बदर हुनुपर्ने दलका प्रतिनिधि आफ्नो चिह्नमा नोट भेटिँदा सदर हुनुपर्ने अडान राख्थे।

                निर्वाचन अधिकारी र गणक कर्मचारीले सबै मत बदर गर्दै विवाद सल्टाए। आफ्ना उम्मेदवारलाई भोट खसालेको पुष्टि गर्न संकेत स्वरुप नोट राखेको निष्कर्षमा पुग्दै त्यस्तो मत बदर हुने निष्कर्षमा निर्वाचन अधिकृत पुगेका थिए । नोट राखेको मतपत्रको फोटो खिच्न र यसबारे जानकारी दिन भने गणक कर्मचारीले बन्देज गरे।

                वडा नं. १० को दुई केन्द्रमा पुनः मतदान गर्नु परेकाले यो गाउँपालिकाको मतगणना ढिलो गरी शनिबारबाट मात्र सुरु भएको थियो । साविक गाविस भोटसिपा केन्द्रमा अशक्त र वृद्धवृद्धाले सहयोगी लिएर भोट खसालेको विषयलाई लिएर बिवाद चर्किदा वैशाख ३१ गतेको मतदान बीचमै रोकिएको थियो । ७ सय मत खसेपछि मध्याह्नबाट मतदान रोकिएको थियो ।

                निर्वाचन कार्यालयले अर्को तालिका प्रकाशित गरेपछि शुक्रबार मात्र त्यहाँ मतदान भएको हो । यो गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल र कांग्रेस महाधिवेशन प्रतिनिधि बंशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति विकास लामासमेत यही गाउँपालिकाका बासिन्दा रहेको र उनकी पत्नि मिरा अधिकारी तामाङ उपाध्यक्षको प्रतिस्पर्धी रहेकाले सबैको चासो इन्द्रावतीको मतगणना र चुनावी परिणाममा छ।

                एमाले उम्मेदार झम्क नेपालको गाउँ वडा नं. १० बाट कांग्रेसका जीवन थापामगर र कांग्रेस सभापतिको वडा नं. ९ बाट एमाले उम्मेदवार बाबुराम लामा निर्वाचित भएपछि यहाँको चुनावी परिणाम चाख लाग्दो बनेको थियो । गाउँपालिका जित्न तम्सेका दुबै नेताले आफ्नै वडाको मत पार्टीलाई रक्षा गर्न भने सकेनन्।

               

प्रकाशित: ७ जेष्ठ २०७४ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App