coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ढोरपाटनलाई नमुना नगर बनाउने नेपालीको योजना

बाग्लुङ- वैशाख १९ गते जिल्लाको बुर्तिबाङबाट एकाएक सनसनीपूर्ण खबर आयो । देवकुमार नेपाली माओवादी केन्द्रबाट एमाले प्रवेश गरी मेयरको उम्मेदवार बने रे। यो खबर फैलिनासाथ बाग्लुङ नगरपालिकामा को—को उम्मेदवार बन्लान् भनेर चनाखो भएर बसेका सबैको ध्यान बुर्तिबाङले खिच्यो। उम्मेदवारी दर्ताको केही समय अगाडी एमाले प्रवेश गरेर ढोरपाटन नगरपालिको मेयर उम्मेदवार बनेका नेपाली केवल उम्मेदवार मात्र बनेनन् । उनी पहिलो दलित मेयरको रुपमा निर्वाचित समेत भए। नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको दबदबा भएको ढोरपाटन नगरपालिकामा एमालेको संगठन खासै बलियो नभए पनि आफ्नै बलबुटामा मेयर जितेपछि उनको कद थप चुलिएको छ।

 अधिकाँस दलहरुमा वडाध्यक्ष समेत दलितले नपाएर आरक्षणको रुपमा रहेको दलित महिला सदस्यमा मात्र सिमित हुँदा उनको मेयरमा उम्मेदवारी हुँदा सबैको चासोको विषय हुनु अस्वभाविक पनि थिएन। रोचक कुरा त के भने नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालेमेल गरेर ढोरपाटनमा राजमोलाई मेयरमा सघाउने एमालेले दिएको बचतवद्धता विपरीत नेपालीको उम्मेदवारी परेपछि उनको विषयलाई लिएर थप चर्चा चुलिन पुग्यो । त्यस अघि माओवादी केन्द्रबाट उनी मेयरको उम्मेदवार बन्नसक्ने भन्ने छिटफुट चर्चा चले पनि उनको उम्मेदवार बन्ने बलियो आधार थिएन ।

 नेपाली राजनीतिक पार्टीको नेता भन्दा पनि व्यवसायी र स्वतन्त्र समाजसेवीको रुपमा बढि परिचित थिए। ढोरपाटन नगरपालिकामा जीतका लागि सबैभन्दा बलियो दाबेदार मानिएको नेपाली काँग्रेसलाई पछाडी पार्दै नेपालीले विजयी प्राप्त गरे । उनले नेपाली काँग्रेसका उम्मेदवार अर्जुन शेरचनलाई ७ सय ४६ मत अन्तरले पराजीत गरेका थिए । नेपालीले २ हजार ६ सय ९२ मत ल्याए भने शेरचनले १ हजार ९ सय ४६ मत ल्याएका छन् । उनकै आडभरोसामा एमालेले उपमेयर समेत जित्यो । नेपालीको उम्मेदवारी आफुलाई कुनै असर नपर्ने र मेयर जित्ने दाबी गर्दै आएको माओवादी केन्द्र चौथौ स्थानमा खुम्चिन पुग्यो।

 २०२९ साल चैत्र २९ गते ढोरपाटन—१ मा जन्मिएका नेपाली राष्ट्रिय भलिबल टिमको पूर्व सदस्य हुन् । उनी अहिले पनि नेपाल भलिबल संघ पश्चिमाञ्चलको सल्लाहकार छन् । जिल्लाको विकट ठाउँमा दलित परिवारमा जन्मेका उनको बाल्यकाल निकै संघर्षपूर्ण अवस्थामा वित्यो । ‘खान लगाउनका लागि हम्मे हम्मे अवस्था थियो, पढ्नलाई नजिकको विद्यालय थिएन,’ विगत सम्झदै उनी भन्छन्,‘ठूलो संघर्षले आज यो ठाउँमा आईपुगेको छु । अब अरुले त्यस्तो समस्या झेल्न नपरोस् भनेर योजनाबद्ध ढङ्गले काम गर्छु।’ आईएसम्म अध्ययन गरेका नेपालीले २०४५ सालदेखि व्यवसायमा हात हालेका थिए । ‘मैले बुर्तिबाङमा विभीन्न सामानको होलसेल पसल सञ्चालन गरेको थिएँ,’ उनले भने,‘त्यो बेला दलित भनेर मलाई निकै असहयोग गर्थे ।’

२०५८ सालमा पोखरामा साईकलको होलसेल व्यवसाय शुरु गरेपछि उनको व्यवसायी जीवनले तीव्र गतिमा छलाङ मारेको हो । व्यवसायीक रुपमा सफल भए पछि उनले पछिल्लो समय सहकारी मार्फत बिना धितो ऋण दिएर अरुलाई समेत आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् । ‘मेरो व्यवसाय सफल भयो र म अहिले सम्पन्न अवस्थामा छु,’उनले भने,‘मैले सहकारीबाट प्रदान गर्ने विना धितो ऋणले अरुलाई पनि आत्मनिर्भर बनाउँछ भन्ने मेरो विश्वास छ ।’ उनले ईमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका छन् । उनको परिवार पोखरामा बस्छन् । ढोरपाटनमा रहँदा बस्दा तिब्बतीयन शरणार्थी टि—सेरिङ ल्हामुसंग उनको विवाह भएको थियो । नेपालीको परिवारमा छोरा, छोरी, बुहारी, एक नाती र आफुहरु श्रीमान श्रीमती छन् ।

 सहकारी सञ्चालन शुरु गरेसंगै आफ्नो जन्मथलोमा गएर व्यक्तिगत रुपमा विद्यालय, विभीन्न संघ संस्थालाई सहयोग गर्दै आएका नेपाली कुनै पनि बेला राजनीतिमा प्रवेश गर्न सक्ने चर्चा चल्ने गथ्र्यो। उनी मनोनयको समयमा माओवादी त्यागेर एमाले प्रवेश गरेको चर्चा चले पनि आफु कुनै पनि दलको सदस्य पहिलो पटक भएको नेपाली बताउँछन् । ‘यस अघि म कुनै पनि दलको सदस्य थिइँन, माओवादीका साथीहरु नजिक भएको कारणले त्यस्तो हल्ला चलेको हो,’ नेपाली भन्छन्,‘म स्वतन्त्र रुपमा समाजसेवा गर्दै आएको थिएँ । अहिले एमाले प्रवेश गरेको हुँ ।’

नेपाली मेयरमा विजयी भएसंगै ढोरपाटन क्षेत्रमा रहेका ठूलो संख्याको दलित समुदायले आफ्नो दैनिकी फेरिने आशा गरेका छन् । ‘उहाँ यही ठाउँमा दुःख पाएर त्यो स्थानसम्म पुग्नुभएको छ,’ स्थानीय रमेश विकले भने,‘यहाँका दलित जनजाति समुदायको पिडा उहाँलाई थाहा छ । त्यसको समाधानमा कदम चाल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । मेयरमा निर्वाचित भएपछि नेपालीले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने बताएका छन् । ‘हाम्रो ठाउँ स्वास्थ्य र शिक्षाको क्षेत्रमा निकै पछाडी परेको छ,’ नेपालीले भने,‘शिक्षाको जग गतिलो नहुँदा झेल्नुपरेको समस्या समाधानका लागि पहिलो कदम चाल्नेछु ।’ त्यस क्षेत्रका अधिकाँस विद्यालयमा अहिले पनि नीजि स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनुपर्ने बाध्यता हटाउने उनको विश्वास छ । ढोरपाटन नगरपालिकाका बोवाङ, अधिकारीचौर लगायतका क्षेत्रमा दलितको उल्लेख्य बसोवास छ ।

 उनले ढोरपाटनबासीको आर्थिक स्तर उकास्ने गरी काम गर्ने बताए । ‘जनताको आर्थिक समृद्धि बिना मुलुक समृद्ध हुन सक्दैन । जनताको जीवनस्तर उकास्न के कस्ता कार्य गर्न सकिन्छ सम्बन्धीत क्षेत्रको विज्ञसंग परामर्श गरेर योजना ल्याउनेछु,’ नेपालीले भने ।  मेयरको उम्मेदवार बने लगत्तै उनले आफु निर्वाचित भए सरकारी सेवा सुविधा नलिने घोषणा गरेका उनले उक्त कुरालाई पुनः दोहो¥याएका छन् । ‘मैले आफ्नो व्यवसायबाट आफुलाई पुग्ने आम्दानी गरेको छु,’ उनले भने,‘समाजसेवाका लागि राजनीतिमा आएको हुँ । मेरो तलबभत्ताबाट आउने रकम पनि यहाँको शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका लागि खर्च गर्छु।’

 ढोरपाटनलाई देशकै नमुना नगर बनाउने आफ्नो योजना रहेको उनले सुनाए । ‘नेपालको एक मात्र शिकार आरक्ष हाम्रो नगरमा पर्छ, आलु उत्पादनका पकेट क्षेत्र पनि यही छ । योजनावद्ध ढङ्गले काम ग¥यौं भने आर्थिक समृद्धि हाँसिल गर्न गाह्रो छैन,’ उनले भने । व्यवस्थीत सडक सञ्जाल विस्तार गर्ने, कृषिमा आधुनीकिकरण गर्ने, जडिबुटीको संरक्षण र बजारीकरण गरी युवालाई स्वरोगार बनाउने नेपालीको लक्ष्य छ ।

 

 

 

 

प्रकाशित: ७ जेष्ठ २०७४ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App