coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ढल थुनिँदा विमानस्थल पहिरोको जोखिममा

ड्रेन थुनिदा बाहिरिएको भलपानीको कटानका कारण भासिएको खानीडाँडा बिमानस्थल । तस्बिर : राजेन्द्र राईको फेसबुक

खोटाङ – भारी वर्षाका कारण माटो कटान हुँदा खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा परेको छ । भल बग्ने ड्रेन (ढल) थुनिए पछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा माटो कटान भएका कारण विमानस्थल पहिरोको जोखिममा परेको हो । 

विमानस्थल भन्दामाथिबाट झर्ने वर्षाको पानीलाई कटाउनका लागि विमानस्थलको रन–वेमुनि राखिएको ड्रेनको मुख थुनिँदा बाहिरिएको भलपानीले विमानस्थलको किनारा भासिएको छ। वर्षाको भलपानी निकासाका लागि टावर नजिकै राखिएको कलभर्ट थुनिँदा बिमानस्थल कटान भएको यो दोश्रो पटक हो।

जमिन भिजेर माथिबाट खसेको स्ल्यावले ड्रेन थुनिँदा रन–वेमाथिबाटै निकासा भएको पानीले विमानस्थलको दक्षिणीतर्फका डिल कटान गरेको नेपाल वायु सेवा निगमका खानीडाँडा स्टेशन इन्चार्ज यादवसेन राईले बताए । जेठ १ गतेको भारी वर्षापछि ड्रेन थुनिँदा रन–वेमा पानी जमेको थियो । रन–वेमा भरिएर किनाराबाट निकास भएको भलपानीले विमानस्थलको १०–१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगेको छ । कटानका कारण बिमानस्थलको रन–वेभन्दा २–३ मिटर नजिकसम्मको भाग भासिएको छ । थुनिएको ड्रेन हालसम्म नखुलाइएका कारण वर्षा भए थप क्षती पुग्ने स्टेशन इन्चार्ज राईले बताए । ‘विमानस्थलको कटानका बिषयमा सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ,’ स्टेशन ईन्चार्ज राईले भने, ‘तत्काल ड्रेनको मुख नखोले उडान नै बन्द हुने खतरा छ ।’

भलपानीका कारण छेउबाट भासिन सुरु गरेको पहिरोले विमानस्थलबीचको रन–वेको सेतो मार्किङसम्म चर्किएको पाइएको छ । कलभर्ट थुनिएपछि धावनमार्गहुँदै बगेको भलपानीको कटानका कारण बिमानस्थलको दक्षिणी भाग भत्किन थालेको छ । कलभर्ट थुनिएपछि अहिले बिमानस्थलमुनीबाट निकासा हुनुपर्ने भलपानी सिधै धावनमार्गहुँदै बिमानस्थलको छेउबाट बाहिर निकासा हुने गरेको छ । तत्काल कलभर्टको माटो हटाएर भलपानीलाई कलभर्टमार्फत निकासा गर्ने व्यवस्था नगरे बिमानस्थल पहिरोको उच्च जोखिममा पर्ने राजेन्द्र राईले बताए ।

यसअघि, भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिँदा २०६९ साल साउनमा धावनमार्गमाथिबाट बगेको भलपानीले बिमानस्थलको डिल कटान भएको थियो ।

जिल्लाका लामीडाँडा, थामखर्क सहित तीन वटा बिमानस्थलहरुमध्ये दूरीका हिसावले खानीडाँडा बिमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ । दिक्तेलबाट बढिमा डेढघण्टा पैदल दुरीमा रहेका कारण अधिकांश बिरामीलाई अस्पताल लैजानकालागि खानीडाँडा बिमानस्थलको उपयोग हुने गरेको छ ।

 

प्रकाशित: ७ जेष्ठ २०७४ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App