coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

शिखरमा तीन दर्जन आरोही

काठमाडौं – अनुकूल मौसमको फाइदा उठाउँदै शनिबार करिब तीन दर्जन आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

आधारशिविरदेखि चौथो क्याम्पसम्म अनुकूल मौसम कुरिरहेका सयौं आरोहीमध्ये शनिबार एकै दिन स्वदेश तथा विदेशका ती आरोहीले सफल आरोहण गरेका हुन् । यसअघि बेलायती गोरखा सैनिकका तीन सदस्यसहित १४ नेपाली तथा विभिन्न दलका ३३ आरोहीले शिखरमा विजयी झन्डा फह¥याइसकेका छन् ।

‘विभिन्न दलमा आबद्ध करिब तीन दर्जन आरोही सर्वोच्च शिखर पुगेका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले शनिबार नागरिकसँग भने, ‘सबैजनाले साधारण रुट (दक्षिणपूर्वी मोहोडा) बाट सफल आरोहण गरेका हुन् । कुन दलका र कुन देशका आरोही भन्ने विस्तृत विवरण आउन बाँकी छ ।’

आइतबार एकै दिन दर्जनौं आरोही शिखर पुग्ने गरी तयारी अवस्थामा रहेको उनले बताए । ती आरोही शनिबार रातिबाट शिखरतिर उकालो लाग्ने उनले जानकारी दिए । विभिन्न देशबाट आइपुगेका ३ सय ७३ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ४ सयसमेत गरी करिब ८ सय आरोहीमध्ये अधिकांश अहिले ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरमा उपयुक्त मौसम कुरेर बसिरहेका छन् । बढीमा दुई साताभित्र अधिकांश आरोही शिखर पुगिसक्नेछन् । 

पर्यटन मन्त्रालयले खटाएका सातजना ‘आइसफल डाक्टर’ (स्थानीय आरोही) ले चुचुरोसम्मै डोरी राखेपछि आरोहण सुरु भएको थियो । सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन् । उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन् । त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन् । आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन् । अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ ।

२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले नै आरोहण गतिविधि स्थगन गरेको थियो । 

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो । त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो ।  

पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो । 

पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ । यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) थियो । नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ । यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो ।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ । यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपथ्र्यो । यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ । यसअघि २० हजार र १० हजार डलर छ । 

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ ।

प्रकाशित: ७ जेष्ठ २०७४ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App