coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप भव्य हुन्छ : ज्ञानेन्द्र

एउटा स्तरमा पुगेर अड्किएको नेपाली क्रिकेटलाई नयाँ उचाइ दिएका थिए, प्रशिक्षक पुवुदु दासानायकेले । तिनै पुपुदुका प्रिय शिष्य हुन् नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल । लामो समयदेखि नेपाली क्रिकेटको मध्यक्रममा खम्बाका रूपमा रहेका ज्ञानेन्द्र अहिले ओपनिङमा जमिरहेका छन् । मध्यक्रममा कप्तान पारस खड्कासँग जोडी जमाएका ज्ञानेन्द्र ओपनिङमा भने भरपर्दो साथको खोजीमा छन् । 

क्रिकेटमा ज्ञानेन्द्रको परिचय एउटा उच्चस्तरीय ब्याट्सम्यान र उपकप्तानमा मात्र सीमित छैन । खेलाडी उत्पादनसँगै प्रतियोगिता आयोजक तथा व्यवस्थापकका रूपमा पनि उनले करियरलाई उचाइ दिने प्रयास गरिरहेका छन् । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर(केसिटिसी) मार्फत नयाँ प्रतिभा उत्पादनमा पनि लागेका छन् । त्यही केसिटिसीमार्फत उनले अहिले ‘इभेन्ट म्यानेजमेन्ट’ मा पनि हात हालेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सर्वाधिक पुरस्कार राशि राखेर जेठ ९ गतेबाट गर्न लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको व्यवस्थापन ज्ञानेन्द्रकै केसिटिसीले गर्ने जिम्मेवारी पाएको छ । यसै सन्दर्भमा उपकप्तान ज्ञानेन्द्र मल्लसँग नागरिकका लागि सुजन श्रेष्ठले गरेको कुराकानीको संक्षेप :

ज्ञानेन्द्र मल्लको परिचय फेरिएको हो ?
होइन, अहिले पनि म पुरानै ज्ञानेन्द्र हुँ । अहिले पनि क्रिकेट खेलिरहेको छु । क्रिकेट गरिरहेको छु । खेल्ने, खेलाउने काममै समर्पित छु । 

खेलाडीबाट व्यवस्थापनमा लाग्नुभएछ नि त ? 
केसिटिसीमार्फत हामीले पहिल्यैदेखि सानासाना प्रतियोगिता गर्दै आएका थियौं । पछिल्लो समय हामीले ट्वान्टी–२० स्वरूपको रुस्लान क्रिकेट गर्दै आएका छौं । रुस्लान कपमा हाम्रो काम सबैले मन पराइदिनुभयो । त्यो काम हेरेर राखेपले प्रधानमन्त्री कप पनि गर्न सक्नुहुन्छ गर्नोस् भनेर प्रस्ताव राख्यो । हामीले त्यसलाई स्वीकार गर्याैं ।

यसले तपाईको प्रदर्शनमा असर गर्दैन ? समय कसरी व्यवस्थापन गर्नुभएको छ ?
म एक्लैले सबै गर्ने होइन । केसिटिसीमा हाम्रो टिम छ । छुम्बी लामाले पनि सहयोग गरिरहनु भएको छ । योजनाहरू बनाउन मेरो संलग्नता हुन्छ । अब मेरो पूरै समय क्रिकेटमा बित्छ । दिनैभरि क्रिकेट खेल्ने भन्ने पनि हँुदैन । केसिटीसीको एउटा टिम छ । खेलबाट बचेको समय मैले यता सदुपयोग गरेको छु ।

पिएम कपलाई कसरी हेर्नुभएको छ ?
एकदिवसीय खेल नभइरहेको अवस्थामा यो हुन लागेको छ । क्रिकेट खेलाडीका लागि यो खुसीको कुरा हो । प्रतियोगिताको पुरस्कार राशिले अझ उत्साहित बनाएको छ । घरेलु क्रिकेट नभएको अवस्थामा यो हुनु सकारात्मक हो ।

क्यानकै भविष्य अन्योलमा रहेको बेला प्रतियोगिताले कस्तो अर्थ राख्छ ?
क्यान राम्रो होस् भन्ने सबैको चाहना हो । आशा गरौं यसले छिट्टै सही बाटो लिनेछ । क्यान हुनु नहुनुभन्दा पनि क्रिकेट हुनुपर्याे भन्ने हो । क्यान नभएको अवस्थामा क्रिकेटलाई असर त गरिरहेको छ । त्यसैले पनि यस प्रतियोगिताले महŒव राख्छ । 

यस प्रतियोगितालाई हङकङविरुद्धको तयारीका रूपमा पनि हेरिएको हो ?
हो । हङकङविरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रूपमा हेर्न सक्छौं । यसअघि भएको खेलाडी छनोट विवादरहित हुन सकेन । ट्वान्टी–२० मा गरेको प्रदर्शनले एकदिवसीय क्रिकेटमा कसरी छनोट गर्न मिल्छ भन्ने प्रश्नहरू आए । प्रधानमन्त्री कपपछि हाम्रो अन्य प्रतियोगिता छैन । त्यसैले यसलाई हङकङविरुद्धको खेलका लागि खेलाडी छनोटको राम्रो आधार मान्न सकिन्छ ।

हङकङविरुद्ध नेपालको सम्भावना के हो ?
यसबारे अहिल्यै विश्लेषण गर्नु अलि हतार हुन्छ । नेपालको क्रिकेट अन्योलमा छ । त्यसले कस्तो गति लिन्छ  र यस बीचमा हाम्रो तयारी कस्तो हुन्छ भन्नेमा नतिजा निर्भर रहन्छ । हाम्रो अब वर्षायाम पनि सुरु भयो । त्यसैले हामीले तयारी कस्तो गर्छौ भन्ने महत्वपूर्ण हुन्छ ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको सम्भावना के हो ?
हामी प्रतियोगिताबाट बाहिरिसकेका छैनौं । हाम्रो गणितीय सम्भावना कायम छ । त्यसैले सकारात्मक हुनु जुरुरी छ । हामी अन्तिमसम्म छनोट हुन्छौं भनेर नै खेल्ने हो ।

प्रधानमन्त्री कप व्यवस्थापकीय पक्षमा कस्तो हुन्छ  ?
म आबद्ध केसिटिसीले अहिले प्रधानमन्त्री कप व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ । राष्ट्रिय प्रतियोगिता भनिसकेपछि त्यसले एउटा स्तर कायम गर्नुपर्छ । अहिले प्रतियोगितालाई कसरी राम्रो बनाउने, प्रायोजक खोज्ने, टोलीहरूलाई व्यवस्थापन गर्ने काममा व्यस्त छु । विगतमा पनि अरू प्रतियोगिता गरेको अनुभव छ । त्यसैले यो प्रतियोगिता अत्यन्तै भव्यताका साथ सम्पन्न हुने विश्वास लिएका छौं ।

प्रकाशित: ७ जेष्ठ २०७४ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App