७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजपालाई फकाउँदै सरकार

फाइल फाेटाे

काठमाडौं – सरकारले संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव थाती राखेर राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुरसँग कुराकानी गरेका छन् । यसैगरी आइतबार उनले विभिन्न दलका नेतासँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले राजपालाई दोस्रो चरणको निर्वाचनमा ल्याउन प्रधानमन्त्रीले यादव र ठाकुरसँग कुराकानी गरेको जानकारी दिए । ‘उहाँ (यादव र ठाकुर) हरूसँगको कुराकानी दोस्रो चरणको चुनावबारे केन्द्रित भएको हो,’ खनालले भने, ‘सरकारले दुई तिहाइ पुर्याएर संविधान संशोधन प्रस्ताव पास गर्न प्रयास गरेको छ ।’

संशोधन नगरी चुनाव : सरकार

संशोधनका पक्षमा दुई तिहाइ नपुग्ने स्थितिमा चुनावपछि संशोधन प्रस्ताव पास गरौं भन्ने सरकारी प्रस्ताव रहेको खनालले प्रस्ट पारे । ‘संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ नपुगेसम्म संशोधनलाई संसद्मा नलैजाऔं भन्ने प्रधानमन्त्रीको भनाइ हो,’ उनले भने । 

आन्दोलन गर्छौ : राजपा

सरकारले राजपालाई दोस्रो चरणको चुनावमा मनाउन मधेसका केही जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेको छ । शुक्रबार स्थानीय विकासमन्त्री विजय गच्छरदारले फोरम नेपाल तथा राजपाका शीर्ष नेताहरूलाई बोलाई मधेसका केही जिल्लामा स्थानीय तहको संख्या बढाउने आश्वासन दिएका थिए । तर शुक्रबार साँझ प्रधानमन्त्री निवासमा भएको एमालेसहितको सात दलीय बैठकमा एमालेले दोस्रो चरणको चुनावअघि स्थानीय तहको संख्या बढाउन र संविधान संशोधन गर्न नसकिने अडान राखेपछि राजपाका नेताहरू सरकारी पक्षसँग सशंकित भएका छन् । राजपाका अध्यक्ष मण्डलको सदस्यहरूको बैठक पनि शनिबार बसेको थियो । बैठकमा राजपाका नेताहरूले संशोधन प्रस्ताव पारित नभएमा र मधेसमा स्थानीय तहको संख्या नबढाएमा चुनावमा नजाने अडान राखेका छन् । उनीहरूले संविधान संशोधन नभएमा आन्दोलनमा  जाने बताएका छन् ।  संशोधन नभईकन चुनाव जाने कि नजाने भन्नेबारेमा छलफल गर्न अध्यक्ष मण्डलको  बैठक बोलाइएको थियो । 

अबको  रणनीतिबारे छलफल गर्न आइतबार राजपासहितको संघीय गठबन्धनको बैठक बोलाइएको छ । सरकारी पक्षबाट कुनै सकारात्मक संकेत नआए आइतबारकै बैठकमा आन्दोलनका कार्यक्रमबारे छलफल हुने राजपाका नेताहरूले जनाएका छन् । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारले संशोधन प्रस्ताव पास गर्ने लक्षण नदेखाएकाले अब आफूहरू आन्दोलनमा जाने बताए । ‘संशोधन नभएमा हामी आन्दोलनमा जानुको विकल्प छैन,’ ठाकुरले नागरिकसँग भने, ‘अब एकदुई दिनभित्रै आन्दोलनका कार्यक्रम सार्वजनिक हुन्छ ।’ 

आइतबार नै स्थानीय विकासमन्त्री गच्छदारले मधेसमा स्थानीय तहको संख्या बढाउने बारेमा दोस्रो चरणको छलफल गर्ने भएका छन् । मधेसका १५ जिल्लामा १५ देखि २० वटासम्म स्थानीय तहको संख्या बढाउने तयारी स्थानीय विकास मन्त्रालयले गरिरहेको स्रोतको भनाइ छ । 

राजपाका अर्का नेता मनीष सुमनले  आइतबार नै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताए । ‘सम्भवतः भोलि (आइतबार) नै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’ स्रोतका अनुसार राजपा चुनाव बिथोल्ने गरी आन्दोलनमा जाने तयारीमा छ । पहिलो चरणको चुनाव राजपाले शान्तिपूर्ण बहिष्कार गरेको थियो । 

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने संविधान संशोधन प्रस्ताव पारित नभए पनि आफूहरू चुनावमा जाने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले राजपा चुनावमा जानुभन्दा पहिले सरकारले स्थानीय तहको संख्या वृद्धि गर्नुपर्ने बताए ।

उनले आफूहरुले अघि सारेका माग पूरा भए निर्वाचनमा सहभागी हुने प्रस्ट पारेका छन् ।  उनले मोर्चालाई अहिले घेराबन्दीमा पारिएको गुनासो गरेका थिए । 

फोरम नेपाले तयारी थाल्यो  
पहिलो चरणको चुनावमा सहभागी भएको फोरम नेपालले भने दोस्रो चरणको चुनावमा पनि जाने गरी तयारी थालेको छ । फोरम नेपालले जिल्ला समितिलाई पत्राचार गरी उम्मेदवारी छनोटका लागि तत्काल तयारी गर्न निर्देशन दिएको छ । स्थानीय तहमा कोसँग तालेमल गर्दा पार्टीलाई फाइदा हुन्छ, भन्नेबारेमा पनि तयारी गर्न फोरम नेपालले जिल्ला समितिलाई निर्देशन दिएको छ । पहिलो चरणको चुनावमा फोरम नेपालले नयाँ शक्ति पार्टीसँग तालमेल गरेको थियो । दोस्रो चरणको चुनावमा पनि नयाँ शक्तिसँग तालमेल हुने फोरम नेपालका नेताहरूले बताएका छन् । 

प्रकाशित: ७ जेष्ठ २०७४ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App