coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसले माझी गाउँमा खुशी ल्याए

बिहीबार वडाध्यक्षका सपथग्रहण गरेपछि सुशील माझी । तस्बिर: ध्रुव

सिन्धुपाल्चो-  अविरल बहिरहेको छ इन्द्रावती नदी। बर्खामा समेत नगडगडाउने इन्द्रावती हिउँदमा शान्त हुने नै भयो। इन्द्रावती जस्तै शान्त रहन्थ्यो छेवैको माझी गाउँ । तर केही दिनयता गाउँमा छुट्टै रौनक छ । चहलपहल बाक्लिएको छ । पीछडिएका अल्पसंख्यक माझी रित्ता घरमा खुशी भित्र्याउन व्यस्त छन्।

                जाल फिजाउँदा माछा पर्न थालेकाले यो खुशी फर्काएको होइन् । इन्द्रावतीमा माछा पाइन छोडेको धेरै भयो । न दुवाली थुन्न (माछा मार्न) जाने गाउँलेको तयारीले नै चहल पहल बढाएको हो । यो उल्लास त केबल सुशीलबहादुर माझीले भित्र्याएका हुन् । ‘इन्द्रावतीमा माछा पर्न छोडेर के भो त !’ वृद्ध बाटुली माझीले चेहरा चम्काउँदै भनिन्, ‘अब त सुशीले आयो । जे गर्छ, उसैले गर्छ ।’

                बाटुलीसहितका माझी समुदायले एकमतले ४६ वर्षीय सुशीललाई स्थानीय सरकार सञ्चालन गर्ने तहमा पुर्‍याएका छन् । उनी चौतारा–साँगाचोकगढी नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका हुन्। बाह्मण, क्षेत्री समुदायको बाहुल्य रहेको एमालेका बलिया उम्मेदवार माधव गिरीलाई हराउँदै उनी वडाध्यक्ष भएका हुन् । उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।

                ५ सय ६६ मत ल्याएका उनले निकटतम प्रतिद्वन्द्वी गिरीलाई ४३ मतले पराजित गरे । पिछडिएको माझी समुदायमा वडाप्रमुख जित्ने उनी पहिलो हुन् । न यसअघि कुनै माझीले स्थानीय तहमा स्थान पाएका थिए । घर नजिकै सञ्चालनमा ल्याएको कुटानी पिसानी मिलको ढोका खोल्दै उनको दैनिकी सुरु हुन्थ्यो । त्यसको कमाइले बिहान–बेलुकाको हात मुख जोड्न मुस्किल परेपछि उनले किराना पसल पनि सञ्चालन गर्दै आएका छन् । दुबैको कमाइले उनलाई जीवन निर्वाह गर्न सजिलो हुँदै आएको थियो।

                ‘अब आफ्नो मात्र होइन । गाउँलेको बिहान–बेलुकाका छाक टार्ने जिम्मेवारी थपिएको छ,’ शुक्रबार सथपग्रहण गरेपछि सुशीलले भने । परम्गरागत माछा मार्ने पेशा अंगालेका माझीको जीवनस्तर सुधार्दै सबैको हितमा गर्ने चुनौती थपिएको उनी सुनाउँछन् । ‘पिछडिएका बर्गलाई पहिलो प्राथमिकतामा राख्दै सबै समुदायको हितमा काम गर्छु,’ उनले भने।

                नदी किनारका एक्ले, भीमटार, माटाटार, जामुने, विरुटैमा २ सय ७५ माझी घरपरिवारको बसोबास छ । नवनिर्वाचित वडाध्यक्ष सुशीलका अनुसार माझी समुदाय आर्थिक, सामाजिक, शैक्षिक रुपमा निकै पछाडि छन् । घर, घँडेरीबाहेक अधिकांशको जग्गा छैन । केहीको जग्गा भएपनि सिञ्चाइ सुविधा नहुँदा बाँझै छन् । इन्द्रावतीको पानी गाउँमा चढ्दैन ।

                बाँझा जमिन हराभरा बनाउन लिफ्ट सिञ्चाइ आयोजना मार्फत इन्द्रावतीको पानी तान्ने उनको योजना छ । यसका लागि उनले आफ्नै अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर दर्तासमेत गराएका छन्। वडाध्यक्षको जिम्मेवारी पाएकाले यो आयोजना सफल बन्नेमा उनी विश्वस्त छन् । ‘यति गर्न सके जमिन हराभरा बनाउन सकिन्छ । खेतीपातिबाट बिहान–बेलुकाको गुजारा चलाउन सहज हुन्छ,’ सुशील बताउँछन् ।

                २०४५ सालमा गाउँका माझी समुदायबाट पहिलो पटक एसएलसी दिएका उनी माझी समुदाय शैक्षिक रुपमा पिल्सिएको सुनाउँछन् । उनका अनुसार माझी बस्ती रहेका गाउँमा विद्यालय रहे पनि विद्यार्थी पढाइमा नियममित छैनन् । दुवाली थुन्न इन्द्रावती झर्ने सल्लाह भएमा वा गाउँमा विवाह जस्ता पर्व परेमा विद्यालय रित्तो हुन्छ ।

                ‘विद्यार्थी नियमित गराउने अभियान थाल्छु,’ उनले दोस्रो योजना सुनाए । माझी समुदायमा पढ्ने लहर २०७० देखि मात्र सुरु भएको हो । त्यत्रो गाउँमा बल्ल १० जनाजतिले दश जोड दुई र झण्डै ४० ले एसएलसी उत्तीर्ण गरेका छन् ।

                पहिला इन्द्रावतीमा प्रशस्त माछा पाइन्थ्यो । माछा मारेर माझी नजिकको बजार दोलालघाट र अरनकिो राजमार्गमा हिँड्ने यात्रुलाई बेचेर चामल किन्थे । ‘इन्द्रवतीमा माछा पाइन छोड्यो,’ भावुक हुँदै सुशील भन्छन्, ‘मजदुरी नगरी माझी खानै पाउँदैनन् ।’ दुःख गरेर सजिलै बिहान बेलुका हातमुख जा्ड्ने बातावरण बनाउन सके मात्र आफ्नो कार्यकाल सफल हुने  उनी ठान्छन् ।

 

प्रकाशित: ६ जेष्ठ २०७४ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App