४ वैशाख २०८१ मंगलबार
अन्य

तीन कविता : प्रेमको व्याकरण

विराट अनुपम
 

प्रेमको व्याकरण

टेबलमा टुक्रुक्क बसेको मौन गुलाबले सोध्यो
‘उनी प्रेममा के चाहन्छिन्’
सोचेँ
उनी लस्करै मुस्कुराएर हिँड्ने
प्रेम जोडीमा 
हाम्रै अनुहार भेट्छिन् 
सबेरै पन्छीहरूमा 
हाम्रो प्रीतको पखेटा पाउँछिन् 
बेला–बेला लुकामारी खेल्न आउने 
पारि डाँडाको इन्द्रेणीलाई 
हाम्रो स्वर्गको एक टुक्रा मुहार देख्छिन् 
उनी 
मेरो अनुहारमा 
अँध्यारो उम्रियो भने 
कणकण प्रकाश बटुलेर 
आफ्नै चेहराबाट टलक्क टल्काइदिन्छिन् 
हर सपनीमा 
टुप्लुक्क पाहुना लाग्ने 
उन्का सबै तस्बिर पनि 
मुस्कुराइरहेकै हुन्छन् 

उनलाई प्रेममा 
प्रेम मात्रै चाहिन्छ 
प्रेममा व्याकरण उनलाई 
पटक्कै मन पर्दैन ।


दैनिकी

बिहान
सपनाको अन्तिम स्टेसनबाट ओर्लेपछि 
डाँडाको एक मुठी उज्यालोसँगै 
म बिछ्यौनाबाट हामफाल्छु 
र, मर्निङवाक सूर्य खोज्न निस्कन्छु । 
दिउँसो
विश्वविद्यालयको प्रमाणपत्र धितो राखेर 
जिन्दगीका खुसीहरू किन्न 
किस्ता तिर्छु पालैपालो 
साँझ
किसानी सकेर घर फर्केका 
चराहरूसँगै घर आउँछु 
एक अनुहार मुस्कान झुन्ड्याएर 
रात
फेरि सपनाको प्रथम स्टेसनमा 
लामबद्ध हुन जान्छु ।

यसरी दगुर्छ मेरो औसत दैनिकी 
यो दैनिकीको अर्को दैनिकी पनि छ 
भैगो सुनाउँदिन तिमीलाई 
बरु भनन
हरेक दिन तिमीलाई 
कतिपटक बाडुली लाग्छ ?


विद्यालय क्षेत्र

धर्तीमा मुख निकाल्नासाथै 
प्रथम आवाजमै नवजात घाँटीहरू 
बेस्मारी चिच्याउँछन् 
मानौँ यो संसारमा 
सबैभन्दा ठूलो आवाज उनीहरूसँग मात्रै छ ।

राम्ररी उभिन सकिनसकी 
चार पाउ थिचेर बेस्मारी कुद्छन् 
लाग्छ उनीहरू 
हिँडेर पनि नहिँड्नेलाई 
हिँड्न सिकाइरहेका छन् ।

कहिलेकाहीँ त 
बुरुक्क उफ्रेर चन्द्र–सूर्य क्वाप्प खाउँलाझैँ गर्छन्
सम्भवतः उडी छुनु चन्द्र एक दर्शन 
लक्ष्मीप्रसाद देवकोटालाई 
उनीहरूले नै सिकाएका थिए ।

सत्य रकेट रफ्तारका हुन्छन् नानीहरू 
जब यिनै नानीको नाम 
सहरको विद्यालयमा बसाइँ सर्छ 
नानीहरू ओइलाएका पात हुन्छन्
उनीहरूको सशक्त स्वरमा 
कसैले नजान्ने पासवर्ड लाग्छ 
कोक्रोको संसार ठूला देख्नेहरू आँखाहरू 
कक्षा कोठालाई कोक्रो जति पनि देख्दैनन् ।

उनीहरूको चित्रले बोल्छ 
उनीहरू हतकडी नलगाएका कैदी हुन् 
ज्यालाबिनाका श्रमिक हुन् 
हैन नानीहरूले जन्मँदै ल्याएको गति 
विद्यालयसम्मको यात्रामा किन भुले 
विद्यालयको हाताभित्रै किन हराए 
यस्तै प्रश्न लिएर 
सहरको विद्यालय प्रांगण पुगेँथेँ
त्यहाँ सडक किनारले मेरो जवाफ
प्लेकार्डमा बोकेर उभिइरहेको थियो 
जहाँ लेखिएको थियो– 
विद्यालय क्षेत्र गति सीमित ।

प्रकाशित: ६ जेष्ठ २०७४ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App