coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कोरला नाकाको रोमाञ्चक यात्रा

राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा स्थानीय तह निर्वाचन लागेको थियो । दुई दशकपछिको चुनावमा सहभागी हुन बाहिरबाट आएर काठमाडौंमा बस्नेहरू गाँउ फर्कदै थिए । राजधानीको चुनावी चहलपहल छाडेर गत साता हामी निस्कियाैं– माथिल्लो मुस्ताङ यात्रामा । 

पहिलो दिन पोखरामा बास बस्यौं । भोलिपल्ट बिहानै सुरु भयो– मुस्ताङतर्फको यात्रा । यसअघि नै मुस्ताङ पुगेको भए पनि यो यात्रा फरक थियो । यसपालि हाम्रो गन्तव्य जोमसोम वा मुक्तिनाथ मात्र थिएन । हामी पुग्दै थियौ– वैकल्पिक नाकाका रुपमा चर्चा पाएको नेपाल–चीन सीमा कोरालासम्म ।

उपल्लो मुस्ताङमा भेटिएका हजार वर्षभन्दा पुराना मानव निर्मित गुफाभित्र पसेर दृष्यावलोकन गर्दा मन रोमाञ्चित मात्र बनेन, उसबेलाको मानवसभ्यताको झल्को समेत पाइयो ।

पोखराबाट हामी लाग्यौं– म्याग्दी सदरमुकाम बेनीतर्फ । मुस्ताङ जानेमध्ये कतिपय राजधानीबाट हिँडेकै दिन बेनी पुगेर बस्छन् । हामीले भने पोखरामा विश्राम लिएर दोस्रो दिन जोमसोमसम्मको यात्रा तय गर्ने योजना बनाएका थियौं । योजना अनुसार नै अघि बढ्यो यात्रा । बेनी पुगेर केहीबेर विश्राम गरेपछि जोमसोमतर्फ लाग्यांै । जोमसोम जाँदा सडकमा भारतीय यात्रुले भरिएका २०–३० वटा जिपहरू भेटिए । महेन्द्रा स्कार्पियो र टोयोटामा सवार उनीहरू मुक्तिनाथ दर्शनमा हिँडेका थिए । कतिपय म्याग्दीको तातोपानीमा नुहाएर अघि बढ्न रोकिए । 

पोखराबाट हिँडेका दिन जोमसोम पुगेर हामी ‘होटल ओम्स होम’ मा बस्यौं । यो जोमसोमको चर्चित होटल हो । बलिउड चलचित्र ‘खुदा गवाह’ को सुटिङका बेला अभिनेता अमिताभ बच्चन यही होटलमा बसेका थिए । पोखराबाट जोमसोमसम्म पुग्न हामीलाई करिब सात घण्टा लागेको थियो ।

भोलिपल्ट हामी लाग्यौं– मुक्तिनाथतर्फ । मुक्तिनाथ जाँदा बाटैमा पर्छ कागबेनी । कागबेनीमा केहीबेर रोकिएर मुक्तिनाथतर्फ अघि बढ्याै । कागबेनी पुगेर श्राद्ध गर्नेहरू धेरै भेटिए । त्यसमध्ये गैरआवासीय नेपालीको संख्या अधिक थियो । मुक्तिनाथ पुगेर दर्शन गरेपछि हामीले तय ग¥यौं– लोमाङ्थाङतर्फको यात्रा । लोमाङ्थाङतर्फको यात्रा एकदमै रोमाञ्चक थियो । कोरला नाकाबाट आयात–निर्यातका लागि सहज बनाउन सडक विस्तार र मर्मतको काम चलिरहेको देखिन्थ्यो । ठाँउठाँउमा ‘डोजर’ र ‘स्काभेटर’ ले सडक विस्तार गरिरहेका थिए । निलगिरि हिमालको मनमोहक दृष्यावलोकन गर्दै हामी खैरा चट्टानका साना–साना चुचुरा र मूल्यवान पत्थरका खानीको फेदैफेद उपल्लो मुस्ताङतर्फ अघि बढ्यौं । 

उपल्लो मुस्ताङमा भेटिएका हजार वर्षभन्दा पुराना मानव निर्मित गुफाभित्र पसेर दृष्यावलोकन गर्दा मन रोमाञ्चित मात्र बनेन, उसबेलाको मानवसभ्यताको झल्को समेत पाइयो । कोरला नाका पुग्दा चीनतर्फ तारघेरा र ‘स्याटलाइट रिसिभर’ मात्र देखिन्थे । नाकामा कसैले पहरा नदिएको भए पनि नजिक कोही पुगेमा चिनियाँ सुरक्षाकर्मीले रोकिहाल्ने रहेछन् । नेपालतर्फ पनि भन्सार क्वारेन्टाइन ‘चेक’ को व्यवस्था मिलाइएको छ । विस्तार भइरहेको सडकलाई व्यवस्थित पार्न सके यो नाका वैकल्पिक बन्न सक्ने सम्भावना प्रचुर देखिन्छ ।  

पर्यटनको सम्भावना बोकेको र भारतीयलाई लोभ्याउने भए पनि मुस्ताङ तथा मुक्तिनाथ यात्रामा कठिनाइ छन् । त्यसतर्फ सरकारले समयमै ध्यान दिनु जरुरी छ । ‘गाइड’ बिना आफ्नै सवारी लिएर जाँदा सूचनाको अभावमा अलमल हुने अवस्था छ । बाटोमा कतै पनि सूचना केन्द्र छैनन् । दोबाटो वा चौबाटोमा कुन क्षेत्र कता पर्छ भन्ने जानकारीसमेत राखिएको छैन । त्यसले यात्रुलाई अलमल पारिरहेको देखिन्थ्यो । भारतीय पर्यटक यही बाटो भएर मानसरोवर समेत जाँदा रहेछन् । उनीहरूका कारण यस क्षेत्रको अर्थतन्त्रलाई मद्दत मात्र पुगेको छैन, मुलुककै आम्दानी बढेको छ । भारतीय पर्यटकका लागि आवश्यक शाकाहारी भोजनालयको व्यवस्था सहित उनीहरुको आतिथ्यका लागि सबैले पहल गर्नु जरुरी छ ।  aakriti72@gmail.com तस्बिरहरू: शाेभा ज्ञवाली

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App