७ वैशाख २०८१ शुक्रबार
कला

साना बालबालिकालाई कसरी स्कुल पठाउने ?

ताहाचलमा रहेको जनज्योति स्कुलमा एक आमाले आफ्नो दुई वर्षीय छोरालाई शिशुकक्षामा भर्ना गरिन् । उनले छोरालाई स्कुलमा छाडेर आफ्नो अफिस लािगन् । तर, छोरा कक्षाभित्र जानै मानेनन् । घन्टौँसम्म आमा भन्दै रोइरहे । 

बाबुआमाको काखमा रहेका बच्चालाई एक्कासि स्कुल पठाउँदा उनीहरु बाहिर वातावरणसँग डराउँछन् । वा, घुलमिल हुन सक्दैनन् । स्कुलमा आमाबुवाले जबर्जस्ती छाडेर आउँदा उनीहरु घन्टौँ रोएर बस्छन् । यसरी स्कुल पठाउँदा कतिपय नानी बिरामी समेत परेको पाइएको छ । 

कतिपय स्कुलमा शिक्षकले माया गरेर, फकाएर नानी सम्हाल्छन् भने कतिपय स्कुलमा फकाउँदा पनि नमानेपछि हप्काएर चुप लगाउँछन् । तर, यी सबै क्रियाकलापका कारण साना नानीको मन–मस्तिष्कमा कहिल्यै नमेटिने नकारात्मक विचार पस्ने मनोविद् बताउँछन् । 

‘नानीहरुको भाषा विकास नै पाँच वर्षमा मात्र हुने सिद्ध भइसकेको छ । डर–त्रास देखाएर स्कुल पठाउँदा लामो समयसम्म नानीहरुको स्कुलप्रति नकारात्मक असर पर्छ ।’

अचेल आमाबुवाले आफ्नो कार्य व्यस्तता कारण आफ्ना नानीलाई १८ महिनामै शिशु कक्षामा राख्ने  गरेका छन् । वरिष्ठ मनोविद् एवं मनोचिकित्सक पदमराज जोशीका अनुसार यसो गर्नु ठीक होइन, यो समय नानीहरु आमाको काखमा रहने समय हो  । 

नानीहरु स्कुल जान किन मान्दैनन् ?
सबै सेवा–सुविधा सम्पन्न स्कुलमा समेत नानीहरु सुरुमा स्कुल जान नमान्नुको एउटै कारण हो, उनीहरु आफुलाई असुरक्षित महसुस गर्नु । नानीहरु आमाको काखबाट काख छाड्न मान्दैनन् । मनोविद् जोशीका अनुसार नानीहरुलाई कम्तीमा तीन वर्षको उमेरमा मात्र स्कुल पठाउनु उचित हुन्छ । तीन वर्षमुनिका नानी आमासँग विछोड हुने चिन्ताका कारण स्कुलको नयाँ वातावरणसँग घुलमिल सक्दैनन् । 

भाषा विकासमा समस्या
अचेल कामकाजी आमाबुवा नानीलाई सकेसम्म छिटो स्कुल राख्न चाहन्छन् । तर तीन वर्षमुनिका नानीलाई शिशु स्याहार, बालविकास वा शिशु कक्षामा भर्ना गर्दा नानीहरुमा भाषाको समस्या आएको देखिएको छ । 
तीन वर्षमुनिका नानीले घरमा एक भाषा र स्कुलमा अन्य भाषा सिक्ने वा बोल्ने हुँदा उनीहरुको सिकाइमै अन्योलता वा दुविधा आउने मनोविद् पद्मराज जोशी बताउँछन् । 

‘विकसित देशहरुमा समेत पाँच वर्षमा मात्र नानीलाई विद्यालयमा राख्छन्,’ उनले भने, ‘नानीहरुको भाषा विकास नै पाँच वर्षमा मात्र हुने सिद्ध भइसकेको छ । डर–त्रास देखाएर स्कुल पठाउँदा लामो समयसम्म नानीहरुको स्कुलप्रति नकारात्मक असर पर्छ ।’

स्वास्थ्यमा समस्या
बच्चालाई धेरैबेरसम्म कुनै पनि बहानामा रुन दिए उनीहरु पछि सुस्त हुन्छन् । मनोविद् निरौलाका अनुसार धेरैबेर स्कुलमा रोएर बस्दा नानीहरुमा  मनोवैज्ञानिक असर पर्छ ।  सिक्न सक्ने क्षमतामा कमी आउँछ । धेरै रोएपछि शरीर दुखेर थकित हुने, शरीर तातो हुने, टाउको  दुख्ने भएका कारण ज्वरो आएर उनीहरु बिरामी समेत पर्छन् । 
स्कुलप्रति नै नकारात्मक भावना 

मनोविद् डा. शान्ता निरौलाका अनुसार नानीहरुलाई सानै उमेरमा जबर्जस्ती स्कुल पठाउनु सजाय दिएजस्तै हो । यो बेला बच्चाको हेरचाह आमाले गर्नुपर्छ ।  स्कुल पठाउनुपूर्व उसलाई स्कुलबारे जानकारी गराई तयार पार्नुपर्छ । ‘अकस्मात स्कुल पठाउँदा नानीहरु लामो समयसम्म रोएर बस्छन् । उनीहरुले स्कुललाई सजाय दिने घर ठान्छन्,’ निरौला भन्छिन्, ‘त्यसमाथि स्कुलका शिक्षकले हप्काएका नानीमा आत्मविश्वासको कमी भएको मैले पाएकी छु ।’

पिटेर होइन, फकाएर 
आमाबुवाले आफ्ना छोराछोरीलाई स्कुल पठाउँदा पिटेर होइन, फकाएर पठाउनुपर्छ । माया गरेर, उनीहरुलाई मन पर्ने समान दिएर स्कुल पठाउनुपर्ने मनोविद् पदमराज जोशीको सुझाव छ । ‘स्कुल छाड्न जाँदा नानीहरु रोइरहेका छन् भने आमाबुवा केहीबेर साथमा बसेर फकाउनुपर्छ,’ जोशी भन्छन्, ‘उनीहरु खेलौनासँग भुलेपछि वा अन्य साथीरुसँग घुलमिल हुन थालेपछि बिस्तारै अमाबुवा स्कुलबाट फर्कंदा राम्रो हुन्छ ।’

अर्की मनोविद् डा. शान्ता निरौलाका अनुसार शिक्षकहरु नानीहरुको माझमा मुस्कानसहित रमाइलो वातावरणमा प्रस्तुत हुनुपर्छ । ता कि नानीहरु स्कुलमा बस्न रमाइलो मानून् । 

‘पुरुष शिक्षक आमाको आत्मा बोकेर स्कुलमा नानीसँग राम्रो व्यवहार गर्नुपर्छ,’ निरौला भन्छिन्, ‘बच्चाको कामको प्रशंसा गर्नुपर्छ । उनीहरुलाई रमाइलो हुनेगरी अभिनय समेत गरेर देखाउनुपर्छ ।’

प्रकाशित: ६ जेष्ठ २०७४ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App