coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टीकापुर घटनाका पीडित भन्छन् : सरकारले अपराधीको पक्ष लिँदा असह्य पीडा

कान्छी छोरीलाई दुध चुसाउँदै टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउद (इन्सेट) की आमा यशोदा। साथमा जेठी छोरी ।

दिलबहादुर छत्याल/योगेश रावल

धनगढी/टीकापुर—‘आमाको काखमा खेलिरहेको डेढवर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो ?’ २०७२ भदौ ७ गतेको टीकापुर घटनामा मारिएका डेढवर्षीय बालक टेकबहादुर साउदका ६५ वर्षीय हजुरबुवा जंगबहादुरको प्रश्न हो यो। न्याय पाउने आसमा बसेका उनी सरकारले उक्त घटनालाई राजनीतिक भन्दै आरोपितका मुद्दा फिर्ता लिने निर्णय गरेपछि स्तब्ध भएका छन्। ‘घरको आँगनमा खेलिरहेको बालकलाई ताकेर गोली हानी हत्या गरिएको जघन्य अपराधको मुद्दा सरकारले नै फिर्ता लिएपछि हामी नागरिकले कहाँबाट न्याय पाउने’, उनले नागरिकसँग भने।

‘देउवाले यो मेरो जिम्मेवारी हो चिन्ता नगर भनेकाले म मुद्दा फिर्ता नहुनेमा ढुक्क थिएँ’, उनले भनिन्, ‘न्याय पाउने आशा हराएपछि अब के गर्ने सोच्न नै सकिरहेकी छैन।’

आफ्नो घरका कुनै पनि सदस्य राजनीतिक आन्दोलनमा संलग्न नरहेको बताउँदै उनले नातिका हत्यारा आरोपितको मुद्दा फिर्ता लिइए न्यायका लागि लड्ने अठोट व्यक्त गरे । ‘बिनाकसुर कोही थुना परेको छ भने रिहा गरियोस्, हामीलाई मतलब भएन’, उनले भने, ‘तर बालकको हत्यारालाई उन्मुक्ति दिनु भएन ।’ सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमात्र नभएर अन्तर्राष्ट्रिय अदालतसँग समेत गुहार माग्ने उनले बताए । ‘सरकारसँग त हामी के लड्न सकौंला तर मुद्दा फिर्ता लिए न्यायका लागि अन्तर्राष्ट्रिय अदालतसम्म जान्छु’, उनले भने ।

सो घटनामा गोली लागेर ज्यान गुमाएका नाबालक टेकबहादुरको घरमा शुक्रबार दिउँसो अभिभावक रङरोगन गरिरहेका थिए । यो घर घटनाको समयमा निर्माणाधीन अवस्थामा थियो । रङरोगनपछि घर त सुन्दर देखियो तर सरकारको निर्णयले परिवारका सबै सदस्यको अनुहारमा भने पीडाको अँध्यारो पोतिएको छ । ‘सरकारको यो निर्णयले घाउ बल्झिएझैं पीडा थपिएको छ’, चिच्याइरहेकी १० महिने काखे छोरी सम्हाल्दै मृतक बालककी आमा यशोदाले भनिन्, ‘सरकार अभिभावक हो भन्थे, सरकारले नै अपराधीको पक्ष लिएर न्याय खोसेपछि असह्य पीडा भएको छ ।’

सरकारले अपराधीलाई उन्मुक्ति दिए घरका अरुलाई पनि केही गर्ने हुन् कि भन्ने डर भएको उनले बताइन् । ‘छोराको हत्या गर्नेलाई छोडेमा उसले भोलि परिवारका अरुलाई समेत जे पनि गर्न सक्छ भनेर डर भएको छ’, उनले भनिन् ।

गोली लागेर दुधे बालक गुमाएकी आमा यशोदाको अनुहार उदास छ । घटनापछि उनले छोरी जन्माएकी छन् । छोरी प्रकृति १० महिनाकी भइन् । जेठी छोरी निवृत्ति ७ वर्षकी भइन् । उनी स्थानीय आरएमई स्कुलमा युकेजीमा पढ्छिन् । काखमा दुई छोरी छन् तैपनि यशोदाको अनुहारमा खुसीको झलक पाइँदैन । बुबा नेत्रको अवस्था पनि आमाको भन्दा फरक छैन । तालिमका क्रममा काठमाडौंमा रहेका उनी सरकारी जागिर भएकाले केही बोल्न मानेनन् ।

यशोदालाई त सरकारको निर्णयमा विश्वास नै लागेको छैन । उनले सरकारले यस्तो निर्णय गर्ला भनेर सोचेकी समेत थिइनन् । ‘पीडितलाई झन् पीडा दिने काम सरकारले गर्ला भन्ने मलाई लागेकै थिएन’, उनले भनिन्, ‘सरकारको निर्णयले निकै दुःखी बनाएको छ ।’

‘भविष्यको सपना फूलजस्तो छोरोलाई चुडेर लैजाँदा मुटु नै चुडिएजस्तो भएको छ’, उनले भनिन् ‘सरकारले पीडामा मलम लगाउनुको साटो हत्यारालाई आममाफी दिँदा घाउमा नुनखुर्सानी छर्केजस्तो भयो ।’ मानवअधिकार र बालअधिकारका कुरा गर्नेले पनि अबोध छोराको हत्यारालाई कारबाही गर्ने विषयमा नबोलेको उनको गुनासो छ ।

बाजे जंगबहादुरले निर्णयबारे सरकारले पुनर्विचार गर्नुपर्ने बताए । ‘सरकारको निर्णय समाचारमा सुनें । मलाई त निद्रामा छु कि जस्तो लाग्यो’, उनले भने, ‘सबैले सुनाउन थालेपछि बल्ल होस खुल्यो ।’ उनले आपराधिक घटनालाई राजनीतिक मुद्दा बनाएर सरकारले कानुनी राज्यको उपहास गरेको बताए ।

‘सरकारले अपराधीका मुद्दा फिर्ता लिने हो भने कानुन बनाउनुको के अर्थ हुन्छ’, प्रश्न गर्दै उनले भने, ‘बाँचुन्जेल न्यायका लागि लडिरहन्छु ।’ उनले आफ्नो लडाइँ कुनै जातजाति र भाषाभाषीका विरुद्ध नभई नातिको हत्याराविरुद्ध रहेको बताए ।  ‘आन्दोलनमा जाँदा गोली लागेको भए चित्त बुझाउँथें, घरको आँगनमै खेलिरहेको अबोध बालकलाई ताकेर गोली हान्ने अपराधीलाई आममाफी दिने कुरा कसरी सहुँ’, उनले भने ।

२०७२ भदौ ७ गते टीकापुर– ९ स्थित घरको आँगनमा खेलिरहेका बेला उत्तरपश्चिमतर्फ पर्खालपछाडिको झाडीबाट आएको गोली  लागेर टेकबहादुरको ज्यान गएको थियो ।

कैलाली र कञ्चनपुरसहितको थरुहट राज्य हुुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका थरुहट पक्षधरले टीकापुर नगर प्रवेश गर्ने क्रममा पशु हाटबजारनजिक रोक्न खटिएका प्रहरीमाथि आक्रमण गर्दा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी मारिएका थिए । मृतक र घाइते प्रहरीलाई घटनास्थलबाट अस्पताल लगिसकेपछि बालक टेकबहादुरलाई गोली हानिएको थियो ।

‘रातभरि निद्रा लागेन’

टीकापुर घटनामा मारिएका प्रहरीका परिवारले सरकारको निर्णयले पीडा बल्झिएको बताएका छन् । ‘सरकारको निर्णय सुनेर भदौ ७ मा जस्तै स्तब्ध भएँ’, टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराका श्रीमती शारदाले भनिन्, ‘हिजो (बिहीबार) यो कुरा सुनेर रातभरि निद्रा नै परेन ।’ यो निर्णय सुनेपछि समाचार सुन्न र केही गर्न पनि मन नलागेको उनले बताइन् । ५ महिनाअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अपराधीको मुद्दा फिर्ता लिनु हुँदैन भन्दा उनले ढुक्क हुन आश्वासन दिएको स्मरण शारदाले गरिन् ।

‘देउवाले यो मेरो जिम्मेवारी हो चिन्ता नगर भनेकाले म मुद्दा फिर्ता नहुनेमा ढुक्क थिएँ’, उनले भनिन्, ‘न्याय पाउने आशा हराएपछि अब के गर्ने सोच्न नै सकिरहेकी छैन।’ देउवाको आश्वासनपछि उनी ढुक्क थिइन् तर अहिले मुद्दा फिर्ता लिइएको सुनेपछि  धेरै दुःखी भएकी छन । ‘दिक्क लागेर कसैसँग बोल्न पनि मन लागेको छैन’, उनले भनिन् ।

प्रकाशित: ६ जेष्ठ २०७४ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App