४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

प्रेमीका लागि जापानी राजकुमारीले त्यागिन् शाही हैसियत

टोकियो – विश्वमा प्रेमका लागि विभिन्न त्याग गरिएका कथा सुन्न पाइन्छ । कतिले प्रेम जोगाउनका लागि जन्म दिने आमाबाबु, घर–सम्पत्ति र परिवार छोडेको घटना बेलाबखत सुनिंदै आएका छन् । प्रेमी–प्रेमिकाका लागि कतिपयले त आफ्नो ज्यानैसमेत त्याग गरेका घटनापनि आउने गरेका छन् । 

यसैबीच प्रेमकै लागि जापानी राजकुमारी माकोले पनि एक विशेष त्याग गरेको समाचारले विश्वको ध्यान खिचेको छ । जापानी शाही परिवारकी सदस्य राजकुमार माकोले उनको प्रेमी एक सर्वसाधारण नागरिकसँग विवाह गर्नका लागि आफ्नो शाही हैसियत त्याग गर्न लागेको समाचार बाहिरिएको छ । 

जापानी सम्राट अकिहितोकी जेष्ठ नातिनी २५ वर्षे माकोले अध्ययन गर्ने क्रममा भेटिएका कानुनी फर्ममा काम गर्ने २५ वर्षकै केइ कोमुरोसँग सम्बन्ध जोड्न लागेकी हुन् । जापानको शाही कानुन अनुसार सर्वसाधारणसँग विवाह गरेमा राजकुमारीले शाही परिवार त्याग गर्नुपर्ने भएकाले राजकुमारी माकोले शाही हैसियत त्याग गर्न लागेको बिबिसीले जनाएको छ । 

राजकुमारी माकोको यस निर्णयले सानो संख्यामा खुम्चिदैं गएको जापानको राजपरिवार बारे बहस हुने बताइएको छ । 

टोकियोस्थित अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा अध्ययन गरिरहेका बेला राजकुमारी माको र कोमुरोबीच सन् २०१२ मा एउटा रेस्टुरेन्टमा भेट भएको थियो । 

राजकुमारीसँगको विवाह योजना बारे बिबिसीको प्रश्नमा कोमुरोले अहिले त्यसबारे टिप्पणी गर्न नमिल्ने बताउँदै उचित समय आएपछि प्रतिक्रिया दिने बताए । 

जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले राजकुमारीको विवाहपूर्व इन्गेजमेन्टको तयारी बारे योजना भइरहेको बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उपहारको आदानप्रदानको कार्यक्रमपछि मात्रै ‘इन्गेजमेन्ट’ औपचारिक हुने बताइएको छ । 

जापानको सार्वजनिक प्रसारक एनएचकेका अनुसार राजकुमारी र कोमुरोबीच अर्को वर्ष विवाह हुने अपेक्षा गरिएको छ । 

जापानी राजपरिवारको इतिहासमा राजकुमारीले सर्वसाधारणसँग विवाह गरेको यो पहिलो घटना भने हैन । राजकुमारी माकोकी फूपू राजकुमारी सायाकोले पनि सन् २००५ मा सर्वसाधारण नागरिकसँग विवाह गरेर पहिलोपटक शाही परिवारकी सदस्य सर्वसाधारण नागरिक बनेकी थिइन् । टोकियो सरकारका लागि सहरी योजनाकर्मीसँग उनले गरेको विवाहलाई साधारण घटनाका रुपमा व्याख्या गरिएको थियो । सायाकोलाई सार्वजनिक जीवनमा घुलमिल गर्न निकै असहज भएको थियो । राजदरवार छोडेर उनी एउटा मात्रै बेडरुम भएको अपार्टमेन्टमा सरेकी थिइन् । उनले त्यसपछि आफैले सवारी साधन चलाउन, सुपरमार्केटमा सपिङ गर्न र फर्निचर किन्न सिकेकी थिइन् । राजकुमारी सायाको जापानका सम्राट अकिहितोको एक मात्रै छोरी हुन् । 

जापानकी ८३ वर्षे सम्राट अकिहितोले गत अगस्टमा अब आफ्नो उमेरले नियमित कार्यभर सम्हाल्न असहज पर्नसक्ने बताउँदै गद्दी त्यागको संकेत गरेका थिए । 

जापानमा सम्राटलाई गद्दी त्याग गर्ने बाटो खोल्ने विषयको कानुनी परिमार्जनबारे हाल समीक्षा भइरहेको छ । गत दुई शताब्दी यता कुनैपनि जापानी सम्राटले गद्दी त्याग गरेका छैनन् ।

जापानको विद्यमान कानुनले गर्दा सम्राटले गद्दी त्याग गर्न पाउँदैनन् । 
राजपरिवारबारेको नयाँ कानुनले केवल पुरुष उत्तराधिकारको प्रावधान भने परिवर्तन नगर्ने ठानिएको छ ।

क्रिसान्थेम राजसिंहासन भनिने जापानको गद्दीका निम्ति अहिले चार उत्तराधिकारी छन् । अकिहितोका छोराहरु राजकुमार नारुहितो र राजकुमार फुमिहितो, अनि राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा सम्राटका कान्छा भाइ राजकुमार मासाहितो जापानको उत्तराधिकारी रहेका छन् । 

 

प्रकाशित: ५ जेष्ठ २०७४ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App