६ वैशाख २०८१ बिहीबार
राजनीति

पूरै परिणाम नआउँदै समीक्षामा दल

काठमाडाैं – पहिलो चरणको स्थानीय चुनावको प्रारम्भिक परिणामलाई  प्रमुख दलहरूले आआफ्नै किसिमले विश्लेषण गर्न थालेका छन् ।

एमाले नेताहरूले अहिलेको चुनावी परिणामले आफ्नो पार्टी पहिलो हुने प्रस्ट देखाएको बताएका छन् । चुनावको समग्र परिणामपछि आफ्ना दल नै पहिलो हुने दाबी कांग्रेसका नेताहरूको छ । प्रारम्भिक परिणामलाई एमालेले उत्साहपूर्ण भनेको छ । कांग्रेसले चुनाव हुनु नै मुलुकका लागि सफलता भएको विश्लेषण गरेको छ । प्रारम्भिक परिणामले माओवादी केन्द्र तेस्रो पार्टी हुने संकेत देखाएको छ ।  

एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा बुधबार बसेको पार्टी स्थायी समिति बैठकमा प्रारम्भिक चुनावी परिणामको समीक्षा भयो । नेताहरूले चुनावको परिणाम उत्साहपूर्ण  भएको विश्लेषण गरे । एमाले पार्टी कार्यालयका मुख्य सचिव कृष्णगोपाल श्रेष्ठले अहिलेसम्मको चुनाव परिणाम हेर्दा एमाले पहिलो पार्टी हुने प्रस्ट देखिएको बताए । ‘अब एमाले पहिलो पार्टी हुनेछ । चुनाव परिणाम हामीले साचेजस्तै भइरहेको छ,’ श्रेष्ठले भने, ‘काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकामा पनि हामी जित्छाैं ।’ 

राप्रपासँगको तालमेलले एमालेलाई नोक्सान नपु¥याएको श्रेष्ठले दाबी गरे । ‘प्रतिपक्षमा रहेर पनि हामीले प्राप्त गरेको उपलब्धि उत्साहपूर्ण छ,’ उनले भने । चुनाव नतिजा प्रभावित पार्न सत्तासीन दलहरूले सत्ताको सहारा लिए पनि सफल नभएको उनले बताए । 

प्रारम्भिक परिणाममा दोस्रो स्थानमा रहेको कांग्रेसका नेताहरूले अन्तिम नतिजा आइपुग्दासम्म आफ्नो पार्टी पहिलो हुने ठानेका छन् । प्रधानन्यायाधीशविद्ध महाभियोग प्रस्ताव, आइजिपी नियुक्रि प्रकरण र  र पछिल्ला केही राजनीतिक घटनाक्रमले कांग्रेसको भोट बैंकमा मनोवैज्ञानिक प्रभाव पारेको कांग्रेस नेताहरूको विश्लेषण छ । 

काठमाडौंमा विवेकशील र साझा पार्टीले पनि कांग्रेसको भोट तानेको नेताहरूको भनाइ छ । कांग्रेसका नेता कृष्ण सिटौलाले कसले कति सिट ल्यायो भनेर जोडघटाउ गर्नुभन्दा पनि संविधान कार्यान्वयनको पहिलो शृंखलाका रूपमा चुनाव हुनुलाई सफलता मान्नुपर्ने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न संविधान कार्यान्वयनका लागि यो चुनाव पहिलो शृंखला हो । त्यसैले चुनाव हुनु नै मुलुकका लागि सफलता हो,’ सिटौलाले भने, ‘स्थानीय चुनावमा जनता उत्साहपूर्वक सहभागी भए,’ सिटौलाले स्थानीय चुनावले परिवर्तनलाई संस्थागत गर्ने दाबी गरे ।

केन्द्रीय सदस्य गुरुराज घिमिरले स्थानीय चुनावमा कांग्रेस पहिलो पार्टी हुनेमा शंका नगर्न आग्रह गरे । ‘पहिलो चरणमा पनि हामी पहिलो पार्टी हुन्छांै । चुनावको समग्र परिणाम आएपछि कांग्रेस पहिलो पार्टी हुनेमा शंका छैन,’ उनले भने ।

अर्का केन्द्रीय सदस्य धनराज गरुङले भने केही ठाउँको मत परिणाम कांग्रेसका लागि  अनपेक्षित भएको बताए  । ‘केही ठाउँमा परिणाम सन्तोषजनक छ तर केही ठाउँमा  अनपेक्षित छ,’ उनले भने ।

पहिलो चरणको चुनाव परिणामलाई लिएर कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए । ‘अहिलेसम्म जेजस्तो परिणाम आइरहेको छ, यसबारे कांग्रेसले गम्भीर भएर समीक्षा गर्नुपर्छ,’ उनले भने । तालमेलबाट कांग्रेसलाई फाइदा नभएको गुरुङले बताए । ‘दोस्रो संविधानसभा चुनावमा कांग्रेसको प्रभाव रहेको काठमाडाैँ, ललितपुर र पोखरामा हाम्रा उम्मेदवारलाई भोट अनपेक्षित परेको छ । यसबारे समीक्षा गर्नुपर्छ,’ गुरुङले भने ।  

माओवादी केन्द्रले भने स्थानीय चुनावमा पार्टीले सम्मानजनक तेस्रो स्थान ओगट्ने दाबी गरेको छ ।  ६ नम्बर प्रदेशमा माओवादी केन्द्र अगाडि रहेको, ३ र ४ मा पनि स्थिति राम्रो भएको माओवादी केन्द्रका नेताहरूको विश्लेषण छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय निकायमा माओवादी केन्द्रको उपस्थिति राम्रो हुने दाबी गरे ।  ‘स्थानीय चुनावमा हामी सम्मानजनक तेस्रो स्थानमा हुनेछौं,’ गजुरेलले भने, ‘६ नम्बर प्रदेशमा हामी अगाडि छाैँ, ३ र ४ मा पनि हामीले राम्रो परिणाम ल्याएका छौं,’ उनले भने ।

राप्रपाले भने प्रारम्भिक परिणामलाई निराशाजनक भनेको छ । राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले चुनाव परिणामलाई अनपेक्षित बताए । ‘अहिले नै प्रतिक्रिया दिनु हतार हुन्छ तर अहिलेसम्म जेजति परिणाम आएको छ, त्यो अनेपक्षित छ,’ उनले भने । दोस्रो चरणको चुनावपछि राप्रपाको स्थिति अहिलेभन्दा राम्रो हुने दाबी श्रेष्ठले गरे । चुनावका बेला पार्टी सरकारबाट हट्नु, संविधान संशोधनमा पार्टीले स्पष्ट धारणा नराख्नु, पार्टी एकीकरण हुनेबित्तिकै प्रकाशचन्द्र लोहनीलगायत नेताहरूले नयाँ पार्टी खोल्नु जस्ता कारणले सोचेजस्तो परिणाम आउन नसकेको श्रेष्ठको विश्लेषण छ ।  

फोरम लोकतान्त्रिकले भने चुनावमा उपस्थिति देखाउनुलाई नै सफलताको रूपमा लिएको छ । ‘पहाडी जिल्लामा हाम्रो संगठन थिएन तैपनि हामीले धेरै ठाउँमा उम्मेदवारी दियौं’, फोरम लोकतान्त्रिकका नेता रामजनम  चौधरीले भने, ‘पहिलो चरणको चुनावमा हामीले उपस्थिति देखाउनु नै उपलब्धि हो ।’ 

प्रकाशित: ४ जेष्ठ २०७४ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App