७ वैशाख २०८१ शुक्रबार
राजनीति

चेपाङ वडाध्यक्ष भन्छन् – ‘सबैभन्दा पहिले बाटो बनाउँछु’

धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफ्नो वडामा मोटर चल्न सक्ने बाटो बनाउने कामलाई प्राथमिकतामा राखेकोे बताए । 

गाउँ जाने बाटोको नक्सामात्रै छ । बाटो बन्ने आशामा धेरै पटक भोट हाले पनि यहाँका चेपाङले आश्वासनभन्दा केही पाएनन् । ‘अब स्थानीय जनप्रतिनिधि आयो । गाउँले खुसी बनाउन हरदम लाग्नेछ’, चेपाङले नागरिकसँग भने ।

गजुरी गाउँपालिका महाभारत लेकसँग जोडिएको छ । यहाँका दुर्गम गाउँमा अहिलेसम्म बाटो र बिजुली पुगेको छैन । भौतिक निर्माणको काम तत्काल गर्ने र बाँकी समस्या बिस्तारै समाधान गर्दै जाने योजना चेपाङले बनाएका छन् । उनी भन्छन्, ‘चेपाङ पिछडिएका छन्, बाहै्र महिना खान सक्ने बनाउनु अहिलेको चुनौती छ ।’

बाटो र बिजुली पुगेपछि टोलटोलमा नगदे बालीतर्फ समुदायलाई लैजाने र तरकारी तथा फलफूलजन्य उत्पादनलाई व्यावसायिक बनाउने योजना चेपाङसँग छ । ‘घरगाउँमै रोजगारी सिर्जना गराएर स्थानीयको आर्थिक स्रोत वृद्धि गराउने संकल्प बोकेका छन् वडाध्यक्ष चेपाङले । ‘आर्थिक समृद्धिपछि स्वास्थ्य र शिक्षामा आफैं सुधार आउनेछ’, उनले भने ।

चेपाङ पेसाले निर्माण व्यवसायी हुन् । उनी नेपाल चेपाङ संघका केन्द्रीय सदस्य पनि हुन् । उनका बाबु प्रेमबहादुर प्रजा २०३८ सालमा प्रधानपञ्च थिए ।    वडाध्यक्ष भएपछि गाउँ पुगेका चेपाङलाई स्थानीयले भव्य स्वागत गरेका छन् । आफ्नै समुदायको मान्छे जनप्रतिनिधि जितेर आएको भन्दै गाउँलेले मंगलबार खुसी मनाएका छन् । उनी पहिले पनि गाउँका अगुवा थिए । ‘अहिले प्रतिनिधि बनेर आयो, त्यसैले सबै मिलेर स्वागत गरेका हौं’, स्थानीय विमला चेपाङले भनिन् । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App