दाङ – सल्यान दार्मा गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस र एमालेबीच चुनावी तालमेल भयो । प्रमुखमा कांग्रेसका रामचन्द्र केसी र उपप्रमुखमा एमालेका दलबहादुर गाहा उम्मेदवार बने । उक्त गाउँपालिकामा भएको दुईदलीय चुनावी समीकरणले माओवादीले हार्ने सहज आँकलन गरियो । तर नतिजा उल्टो आइदियो । गाउँपालिकामा तालमेल नगरी एकल उम्मेदवारी दिएको माओवादी केन्द्र प्रमुख र उपप्रमुख दुबै पदमा विजयी भयो । माओवादी केन्द्रका निमबहादुर केसीले झन्डै एक हजार मत अन्तरमा अध्यक्षमा जिते । उनले ३ हजार ६ सय ९४ मत ल्याए । उनका प्रतिस्पर्धी एमाले÷कांग्रेसका साझा उम्मेदवार रामचन्द्रले २ हजार ७ सय ७१ मत पाए । यसैगरी उपप्रमुखमा पनि माओवादी केन्द्रकै टीका शर्मा वली ३ हजार ६ सय ९५ मतसहित विजयी भईन् भने प्रतिस्पर्धी एमालेका दलबहादुरले २ हजार ६ सय १९ मत प्राप्त गरे । कांग्रेस–एमाले तालमेल गाउँपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै नभई सबै वडामा थियोे । तर एउटा वडाबाहेक ५ वडाको नतिजा (पूरै प्यानल) माओवादीकै पोल्टामा गयो ।
माओवादी केन्द्रलाई हराउने योजना अनुरुप रुकुम र सल्यानमा कांग्रेस–एमालेबीच गरिएको चुनावी तालमेलको नतिजा सुखद रहेन
तालमेल गरेर स्थानीय तहमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस–एमालेको प्रयास सल्यानमा पूर्णतः विफल भयो । पार्टीबीच तालमेल भएको भनेर उम्मेदवार खडा गरिए पनि मतदाताले स्वीकारेनन् । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं सल्यानका नेता डिल्ली रेग्मीले यो खतरा पहिल्यै देखिसकेका थिए । उनले त्यतिबेलै यो तालमेललाई भंग पार्न पनि खोजेका थिए तर सफल भएनन् । उनी भन्छन्, ‘अन्ततः नतिजा पूरै बिग्रियो ।’ उनका अनुसार तालमेलका नाममा गरिएको चुनावी समीकरणमा एकले अर्को दललाई मत जाहेर नगरेको सतप्रतिशत प्रमाण सल्यानमा देखिएको छ । ‘एक पार्टीबाट अर्को पार्टीलाई सहयोगै भएन,’ रेग्मी भन्छन्, ‘मैले तालमेल नाममा पार्टीलाई घाटा पुर्याउने काम नगरौं भनेर पहिल्यै भनेको हुँ, त्यो बेला मानिएन, अहिले नतिजा पूरै बिग्रियो ।’
सल्यानमा जिल्ला नेतृत्वको रायबिनै स्थानीय तहमा तालमेल गरिएको भन्दै नेतृत्व यसबारे आफू बेखबर रहेको बताउँछ । जिल्लामा कांग्रेसको खराब नतिजाले दुखित सचिव चक्र देवकोटा भन्छन्, ‘अहिले हामी घाइते अवस्थामा छौं, तालमेलका नाममा हामी नराम्ररी लड्यौं ।’ उनले सल्यानमा कांग्रेस जिल्ला नेतृृत्वको रायबेगर स्थानीय तहमा धमाधम तालमेल गरिएका कारण नतिजा सकारात्मक आउन नसकेको बताए । ‘हामीलाई केही थाहा छैन, जिल्लाको कुनकुन ठाउँमा तालमेल भएको छ भन्ने,’ उनले थपे, ‘स्थानीय तहमा मनलाग्दी तालमेल गरिएका कारण नतिजा बिग्रियो ।’
एमालेले पनि स्थानीय तहमा कांग्रेससँग भएको तालमेललाई ‘दिल’ भित्रैबाट हुन नसकेको टिप्पणी गरेको छ । बलियो तालमेल हुन सकेको भए जित पक्कापक्की हुने एमालेको ठहर छ । ‘कांग्रेससँगको तालमेल दिलभित्रैबाट हुन सकेन,’ एमाले सल्यान नेता भद्र बुढा भन्छन्, ‘एकले अर्को पार्टीका उम्मेदवारलाई स्वीकार गरेर जान नसकिँदो रहेछ भन्ने गतिलो उदाहरण यहाँको चुनावी परिणाम भएको छ ।’
मतदाताले तालमेल मन पराउँथे भने कास्कीमा काँग्रेसले नेतृत्व लिनेगरी एमालेलार्इ पछाडि पार्न सक्नुपथ्र्याे । केन्द्रीय नेताकाे जबरजस्ती मतदातालार्इ मन परेन।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पनि कांग्रेस–एमाले तालमेल जितउन्मुख बन्न सकेको छैन । यो नगरपालिकामा एमालेबाट मेयर र कांग्रेसबाट उपमेयरमा तालमेल गरिएको थियो । जारी मतगणनामा यहाँ पनि माओवादी नै अग्रस्थानमा छ ।
तालमेलको खराब असर सल्यानमा मात्रै हैन, यसले रुकुमका स्थानीय तहको नतिजा पनि उल्टाइदिएको छ । रुकुमको बाफीकोट गाउँपालिकामा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख पाउनेगरी चुनावी तालमेल गरियो । प्रमुखमा कांग्रेसका जनक बाठा चुनाव लडे भने उपप्रमुखमा एमालेका जिउधना पुन देवकोटा भिडे । तर यो समीकरणले पनि नतिजा आफ्नो हात पार्न सकेन । सो गाउँपालिकामा पनि माओवादी केन्द्र हाबी भइदियो । माओवादी केन्द्रका धर्मबहादुर केसी ३ हजार ५ सय ६४ मत ल्याई निर्वाचित भए भने उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार बाठाले जम्मा २ हजार ८ सय १३ मत मात्रै पाए । यस्तै उपप्रमुखमा पनि तालेमेलको ‘भेउ’ चलेन । माओवादीका मनकली पुन ३ हजार ५ सय ८९ मत ल्याई बिजयी भइन् भने समीकरणका उम्मेदवार देवकोटाले २ हजार १ सय २ मत ल्याइन् ।
रुकुममा पनि कांग्रेस–एमाले तालमेल प्रमुख र उपप्रमुखमा मात्र नभई वडा तहसम्म भएको थियो । माओवादीको गढमै उसलाई हराउने योजना अनुरुप एमाले–कांग्रेस चुनावी समीकरणलाई वडा तहसम्म फैलाइयो । बाफीकोट गाउँपालिका कुल १० वडामध्ये ९ नम्बरमा बाहेक सबैमा एमाले– कांग्रेस तालमेल थियो । तर नतिजा पूरै माओवादीकै पक्षमा आयोे । वडामा पनि प्यानलै माओवादी केन्द्र विजयी भयो ।
नतिजा अपेक्षित नभएपछि कांग्रेस–एमाले नेताले तालमेललाई प्रभवाकारी बनाउन नसकिएको बताएका छन् । नेता भन्छन्, ‘तालमेलको प्रभावै पर्न सकेन ।’ बाफीकोट गाउँपालिकामा स्थानीय तहका नेताले तालमेल गरेका थिए । एमालेका जिल्ला अध्यक्ष विमल पुनले गाउँपालिकामा भएको चुनावी तालमेलबारे जिल्ला नेतृत्वलाई कुनै जानकारी नभएको बताए । ‘उम्मेदवारी दिइसकेपछि त्यहाँ तालमेल गरिएको रहेछ,’ उनले भने, ‘तर तालमेलको सही कार्यान्वयन हुन सकेको भए कांग्रेस–एमाले उम्मेदवारको जित सुनिश्चित थियो, तर त्यसो हुन सकेन ।’ कांग्रेसका पूर्वमहासमिति सदस्य तिलक भण्डारी पनि स्थानीय तहमै आफूखुशी गरिएको तालमेलले नतिजा बिग्रिएको बताउँछन् । ‘तालमेलको कुनै प्रभावै देखिएन,’ उनले भने, ‘स्थानीय तहका नेताबीच भएको तालमेललाई कार्यकर्ताले कसरी स्वीकार्न सक्छन् ? मतभेदकै कारण नतिजा बिग्रिएको हो ।’
उम्मेदवार दर्ताको अन्तिम चरणमा तालमेल गरिएपछि स्थानीय कार्यकर्ता निकै रुष्ट देखिएका थिए । त्यसको असर मतदानमा परेको नेताहरूको बुझाइ छ । ‘जिल्ला तहबाट समीकरण भइदिएको भए सोहीअनुसार सर्कुलेसन जान्थ्यो र मतदाताले पनि सोहीअनुसार मतदान गर्थे,’ भण्डारीले भने, ‘स्थानीय तहमा तालमेल गर्दा त्यसले झनै माहोल बिग्रियो ।’
प्रदेश नम्बर ६ का सल्यान, रुकुमलयायत जिल्लामा गरिएका तालमेलबाट अहिलेसम्म कतै पनि सुखद नतिजा आएको छैन । यसको प्रमुख कारण एकले अर्कोलाई स्वीकार्न सक्ने परिस्थिति नहुनु भएको राजनीतिक विश्लेषकको टिप्पणी छ । राजनीतिक विश्लेषक विनोद पोख्रेलले व्यक्ति–व्यक्तिबीचको तालमेललाई कार्यकर्ताले स्वीकार गर्न नसकेको बताउँछन् । ‘सीमित नेताले गरेको तालमेलसँग कार्यकर्तालाई के मतलब ?’, उनले भने, ‘पार्टीको आधिकारिक निर्णयबिनै हुने तालमेल विश्वसनीय हुँदैन ।’ तालमेलको उद्देश्य र कारणबारे मतदातालाई जानकारी नगराइएकाले पनि नतिजा उल्टो आएको उनी बताउँछन् ।
वाम विश्लेषक सुशील गौतम विचार र सिद्धान्त मिल्दोजुल्दो पार्टीसँग तालमेल हुनुलाई स्वाभाविक मान्न सकिए पनि विपरीत ध्रुवमा रहेका दलबीचको तालमेललाई मतदाताले अस्वाभाविक रुपमा लिएको बताउँछन् । ‘पार्टीको घोषणापत्रमा फलानो यस्तो र उस्तो भनेर आक्षेप लगाइएको छ,’ गौतमले भने, ‘अनि फेरि चुनावमा भने आरोप लगाइएको दलसँगै तालमेल गर्नुलाई कसरी उचित मान्न सकिन्छ ?’, उनले भने ।
प्रकाशित: ४ जेष्ठ २०७४ ०२:५७ बिहीबार