coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पहाडको चुनावले मधेसमा कौतुहल

वीरगन्ज— दोस्रो चरणको स्थानीय तह निर्वाचन कुरिरहेका तराई–मधेसका बासिन्दाले पहिलो चरणमा पहाडी जिल्लामा भएको निर्वाचनको नतिजाप्रति निकै चासो देखाएका छन् । कुन पार्टीले कुन ठाउँमा अग्रता लियो, को, कहाँ पछि प¥यो र कहाँको परिणाम कस्तो आयो, आउँछ भन्ने चासो चौतर्फी छ । मतगणना सुस्त हुँदा कौतुहलको अवस्था लम्बिँदाको अनुभूति साट्ने पनि त्यत्तिकै भेटिन्छन्।

‘चुनावमा सबैको चासो छ, पहाडी जिल्लामा भएको निर्वाचन परिणामप्रति तराई–मधेसका जनताको चासो बढेको छ, ठूला दल एमाले र कांग्रेसका कार्यकर्ता अआफ्नो पार्टीको पक्षमा आएको नतिजाले खुसी छन्,’ वीरगन्ज श्रीपुरका ज्ञानी महतोले भने, ‘यहाँका सबैलाई चुनावको चासो र प्रतीक्षा छ, दोस्रो चरणमा यता हुने चुनावको परिणाम कस्तो आउँछ भन्नेमा पनि मानिसको चासो बढेको छ, आफूलाई भोट माग्न सम्भावित उम्मेदवार बिहान बेलुका टोल पस्न थालेका छन् ।’ 

महतोसँगै चुनावी कुराकानी गरिरहेका ज्योतिविक्रम शाहले पनि पहाडी क्षेत्रमा भएको स्थानीय चुनावको नतिजामा चौतर्फी चासो रहेको बताए । ‘समाचार सबैले हेरिरहेका र सुनिरहेका छन् । कसले जित्छ, कुन दल अगाडि आउँछ भन्ने चासो निकै बढेको छ । जानकारी पाउन रेडियो, टिभी र फेसबुकले सजिलो बनाइदिएका छन्, दलीय प्रतिस्पर्धा रोचक देखिन्छ, एमाले र कांग्रेसभन्दा माओवादी पछाडि देखिएको छ,’ शाहले भने, ‘राप्रपाको अवस्था नाजुक देखिएको छ । मानिसले भनिरहेका छन्, गाई खै कता हरायो।’ 

राजनीतिबाट दिक्क मानेको बताउने सोही टोलका ज्येष्ठ नागरिक प्रेम महतो चुनावी नतिजा जान्न भने निकै उत्सुक छन् । विद्यापीठ विद्यालय सडकछेउको जिउत भगत मालीको पान पसलमा हुने जमघटमा चुनावी नतिजा जान्न उनी बिहान–बेलुका भेटिन्छन् ।

‘अचेल बिहान ७ देखि राति ११ बजेसम्म मेरो पसलअघि चुनावी कुराकानी हुन्छ,’ मालीले भने, ‘पहाडतिर चुनावी परिणाम कस्तो आइरहेको छ भन्ने जान्न मानिस उत्सुक देखिन्छन्।’ 

पर्साको पश्चिमी गाउँ धोबिनीका युवा अगुवा तबरेज अहमदका अनुसार गाउँमा रेडियोको स्रोता बढेका छन् । ‘कहिले समाचार नसुन्ने मानिस पनि रेडियोमा कान थाप्दैछन्, के भयो चुनावी नतिजा भनेर,’ अहमदले भने, ‘स्वाभाविक पनि हो यतिका वर्षपछि स्थानयि चुनाव आएको छ ।’ बरु मत परिणाम आउन विलम्ब हुँदा मानिसमा कौतुुहल लम्बिरहेको उनले बताए । 

पहिलो चरणको निर्वाचनका नतिजाले यता हुने चुनाव प्र्रभावित पार्नेमा गाउँका मानिस सहमतत छैनन् । ‘उताको नतिजा सुन्न सबैजना उत्सुक छन्, अहिले चर्चा नै त्यसैको छ,’ पर्सा शिवर्वाका लालदेव राउत कुर्मीले भने, ‘यताको चुनावमा त्यताको परिणामको असर पर्छ भन्ने म मान्दैन, कसलाई भोट दिने नदिने सोच मानिसले बनाइसकेका छन्, त्यो बद्लिने हो र ? बरु उम्मेदवार कस्ता हुन्छन्, त्यसले महत्व राख्छ।’ 

प्रदेश ३, ४ र ६ मा भएको चुनावले यताका मानिसलाई निर्वाचनमा सहभागी हुन थप उत्साहित बनाएको उनले बताए । ‘अहिलेको कौतुहलको मुख्य पाटो उता निर्वाचन भइरहेको छ, यत हुन्छ कि हुँदैन भन्ने हो,’ वीरगन्ज फुलवारी टोलका श्याम भण्डारीले भने, ‘प्रदेश नम्बर २ मा पनि चुनाव होस् भन्ने मानिसको चाहना छ, यहाँका माग माग पूरा हुनुप¥यो, किनकी सबैलाई समेटेर चुनावमा गए राम्रो हुन्छ।’
 

प्रकाशित: ४ जेष्ठ २०७४ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App