coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आइटीमा आकर्षण

आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पाइने भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ।

नेपालमा आइटीको प्रयोग हरेक क्षेत्रमा बढ्नुका साथै जनशक्तिको माग पनि उत्तिकै भएकाले विद्यार्थीले आइटी नै अध्ययन गर्न रुचाउने इसलिङटन कलेजका आशिष सिग्देलले बताए। युवा पुस्तामा बढ्दै गएको क्रेज र दैनिक उपयोगमा अत्यावश्यक बन्दै गएकाले आइटी क्षेत्र फराक बनेको उनको भनाइ छ।

'स्वदेशमै बसेर विदेशी डिग्रीसमेत यो विषयमा पाउन सकिन्छ,' सिग्देलले नागरिकसँग भने, 'आइटी शिक्षा अध्ययन गर्न प्लसटुका जुनसुकै संकायका विद्यार्थीले पाउँछन्।'

बेलायतको लन्डनमेट्रो पोलिटन युनिभर्सिटीको सम्बन्धनमा सन् २०१० यता काठमाडौं, कमलपोखरीमा सञ्चालित इसलिङटन कलेजले बिआइटी र एमएससी आइटी पढाउँदै आएको छ। कलेजका आइटी कोअर्डिनेटर सञ्जीव उदासका अनुसार विद्यार्थीले सात गुणा कम खर्चमा स्वदेशमै बसेर बेलायती डिग्री हासिल गर्न सक्छन्। नेपालमै तीनवर्षे यो कोर्स पूरा गर्न १० लाख मात्र तिरे पुग्छ।

अध्ययनकै क्रममा विदेशी तथा स्वदेशी कम्पनीले कलेजमै आएर विद्यार्थीलाई रोजगारीको प्रस्ताव गर्ने उनले जनाए। 'हाम्रो कलेजबाट वार्षिक तीन सय जति ग्रेजुएट हुन्छन्। हालसम्म २५ सय जनशक्ति हामीले उत्पादन गरिसकेका छौं,' उनले भने, 'सबै आआफ्ना क्षेत्रमा स्वदेश तथा विदेशमा काम गरिरहेका छन्। कोही खाली बस्नुपरेको छैन।'

ग्रेजुएटमध्ये २०–२५ प्रतिशत विद्यार्थी आफ्नै कम्पनी खोली रोजगारदाताका रुपमा स्थापित भएको उनले बताए। 'आइटी क्षेत्रमा हाल नेपालमा विदेशी कम्पनीको समेत शाखा कार्यालय छन्,' कोअर्डिनेटर उदासले भने, 'आइटीका विद्यार्थी विदेशी कम्पनीका लागि वेबपेज डेभलप, मोबाइल एप्लिकेसन डेभलप, नेटवर्क नेकुरेटी, बग पत्ता लगाउने लगायत काम गरेवापत स्वदेशमै २ हजारदेखि ५ हजार डलर आम्दानी गरिरहेका छन्।' उनका अनुसार त्यसरी विद्यार्थीलाई आफ्नो कम्पनी सुरु गर्न धेरै पुँजी चाहिन्न, आइटीको सीप भए पुग्छ।

नेपालमा स्वदेशी विश्वविद्यालयले समेत आइटी शिक्षा उपलब्ध गराइरहेका छन्। पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले १६ वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा आइटी पढाउँदैआएको विभागीय प्रमुख राजु कट्टेलले बताए।

स्नातकमा बिसिए र बिआइटी पढाउने यो कलेजमा बर्सेनि ६ सय विद्यार्थी भर्ना हुन्छन्। हालसम्म एक हजार जनशक्ति उत्पादन गरी बजारमा बिक्न योग्य बनाइसकेको उनको दाबी छ।

विशेषगरी गणितमा राम्रो हुनुपर्ने आइटीको आधार हो। चारवर्षे कोर्सका लागि गणित राम्रो हुने विद्यार्थीले सजिलो तरिकाले बुझ्न सक्ने उनी बताउँछन्। उनका अनुसार नेपालको आइटी शिक्षा विश्वस्तरमै मान्यताप्राप्त भएकाले स्नातकपछि विश्वको जुनसुकै विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर लिई स्नातकोत्तर भर्ना पाउन सकिन्छ।

'आइटी क्षेत्रमा १० वटा काम बराबर एक व्यक्ति छन्। कामको मागअनुसार जनशक्ति अझै अपुग छ,' उनले भने, 'आउटपुट फोकस शिक्षा भएकाले आइटीले अभिभावक र विद्यार्थीको विश्वास जित्न सकेको हो।'

तथ्यांक तथा सूचना र सञ्चारको राम्रो प्रचारप्रसार र सबैको पहुँचभित्र ल्याउन आइटी शिक्षाले छिटोछरितो सम्भव तुल्याउने नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसिसिएस)का प्रिन्सिपल गशणेशमान सिंह बस्न्यात बताउँछन्। एनसिसिएसले स्नातकमा बिआइएम र बिएससी सिएसआइटी शिक्षा दिँदै आएको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित आइटी कोर्स कलेजले सन् २००२ यता पढाउँदै आएको हो।

बर्सेनि डेढ सय विद्यार्थी आइटीमा दीक्षित हुने गरेको र कलेजले ४ सय दक्ष जनशक्ति बजारमा पठाइसकेको दाबी उनको छ।

प्रकाशित: ३ श्रावण २०७३ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App