७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘कमाउनु छैन, जनताको सेवा गर्छु’

त्रिपुरासुन्दरी गाउँपालिका–१ को वडाध्यक्षमा निर्वाचित कर्णबहादुर खड्का ।

सिन्धुपाल्चोक – छोरा, नाति र पनाति उमेरका तीन पुस्ताका प्रतिस्पर्धीलाई हराउँदै ८० वर्षीय कर्णबहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए ।

नाति उमेरका माओवादी केन्द्रका उम्मेदवार कुमार खत्रीलाई पराजित गरी कर्णबहादुर खड्का दुई सय ७३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खत्रीले एक सय ६० मत ल्याए ।
‘धन कमाउनु छैन, मर्नुअघि नाम लेखाउने लोभ थियो । मतदाताले बुढेसकालको धोको पूरा गरिदिए,’ कर्णबहादुरले भने । मतदाताको विश्वास पूरा गर्ने उनले बताए । पञ्चायतकालमा दुईपटक जनप्रतिनिधि भएर काम गरेका कर्णबहादुरले स्थानीय तह सञ्चालन गर्न आफूलाई समस्या नहुने बताए ।

‘साँघुरा बाटा फराकिलो बनाउँछु । टोलैपिच्छे मोटरबाटो पुर्याउँछु,’ वडाध्यक्षको रूपमा पाँचवर्षे कार्यकालमा आफूले गर्ने योजना सुनाउँदै उनले भने, ‘बाटो बनाएर गाडी मात्रै चलायौं भने पनि जनताका दुःख आधा हुन्छन् र आम्दानी गर्ने मेलो खुल्छ ।’

गाउँमा आउने बजेट जस्ताको तस्तै परिचालन गर्ने उनले बताए । ‘यो उमेरमा कमाउनु छैन । एक रुपैयाँ हिनामिना हुन दिन्न,’ उनले भने ।

मंसिरदेखि ८० वर्ष लागेका कर्णबहादुरका चार छोरा र चार छोरीका गरी नातिनातीना २१ जना छन् । पनातिपनातिना १० जना छन् । उनको नाति नै ३० वर्षका छन् । ‘उमेर धेरै हुँदैमा बूढो भइन्न । काम गर्ने जाँगर जवानको भन्दा कम छैन,’ विजय ¥यालीमा ठमठमी हिँडेर मतदातालाई धन्यवाद दिँदै उनले भने।

अर्कोपटकलाई आफूसँग समय नरहेको तर्क उनले गरेपछि पार्टीभित्रका प्रतिस्पर्धी उम्मेदवार हुनबाट पछि हटेका थिए । त्यसपछि पार्टी गाउँ समितिले उनको नाम सर्वसम्मत सिफारिस गरेको थियो । ‘पार्टीले पनि विश्वास गरेर टिकट दियो,’ उनले भने । उनी भोट माग्न हिँडेरै मतदाताको घरदैलो पुगेका थिए ।

२८ वर्षको उमेरमा २०२२ सालमा उनले तत्कालीन घोर्थली गाउँपञ्चायतमा सदस्य जितेका थिए भने २०२४ मा वडाध्यक्ष । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा परिवर्तित संरचनामा ५० वर्षपछि उनी सोही भूमिकामा आएका छन् । ‘नयाँ जिम्मेवारीको यो कार्यकाल सुखद् बनाउँछु,’ उनी भन्छन् ।

 

प्रकाशित: ३ जेष्ठ २०७४ ०५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App